काठमाडौं । यस वर्ष पनि सरकारले लिएको विद्युत् उत्पादनको लक्ष्य पूरा नहुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण यस वर्ष १५०० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थप्ने सरकारको लक्ष्य पूरा नहुने भएको हो ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले विद्युत् उत्पादन बढाएर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । कोरोनाका कारणले यस वर्ष निर्माणको अन्तिम चरणमा पुगेका जलविद्युत् आयोजनाहरु ठप्प हुँदा लक्ष्यअनुसारको बिजुली उत्पादन नहुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, यस वर्ष कम्तीमा ७०० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा थपिनेछ । लामो समय कोरोना महामारीले जलविद्युत् परियोजना थला पर्दा विद्युत् उत्पादन लक्ष्यमा धक्का पुग्ने देखिएको हो ।अहिलेको अवस्थालाई हेर्दा ७०० मेगावाटको लक्ष्य भेट्न पनि मुस्किल हुने देखिएको छ ।
कोरोना महामारीको कारणले लक्ष्यअनुसार नै बिजुली थपिन केही चुनौतीपूर्ण रहेको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
‘यस वर्ष केही बढी बिजुली उत्पादन गर्ने हाम्रो लक्ष्य थियो । तर, अवस्था अनुकूल भएन्,’ उनले भने, ‘त्यसका बाबजुद पनि ६÷७ मेगावाट बिजुली त थपिन्छ नै ।’ यस वर्ष विद्युत् उत्पादन मिति(सीओडी) लक्ष्य लिएका आयोजनाहरु पूरा हुन नसक्ने भन्दै प्रवद्र्धहरुले विद्युत् प्राधिकरणमा निवेदन दिन थालेका छन् ।
काबु बाहिरको परिस्थिति(फोर्स मेजर) भन्दै प्रवद्र्धकहरुले विद्युत् उत्पादन मिति बढाउन प्राधिकरणमा धमाधम निवेदन दिएका छन् । यसका कारण लक्ष्यअनुसार बिजुली उत्पादन नहुने शाक्यले बताए ।
शाक्यले यसवर्ष थपिने बिजुलीको व्यवस्थापन, प्रसारण र ग्रीडको मर्मत सम्भार गरी निर्यातमा जोड दिने बताउँछन् । यसवर्ष दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी र केही निजी क्षेत्रका जलविद्युत् आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्नेछन् ।
यो वर्ष सम्पन्न हुने माथिल्लो तामाकोसीलाई महत्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । कम्तीमा चैतसम्म माथिल्लो तामाकोसीका ६ वटै युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । गत वर्ष पनि प्राधिकरणले एक हजार मेगावाट बिजुली उत्पादन लक्ष्य लिएकोमा १३५ मेगावाट मात्रै बिजुली ग्रीडमा थपिएको थियो ।
हाल निजी क्षेत्र र विद्युत् प्राधिकरणका सहायक कम्पनीका जलविद्युत् आयोजनाबाट १३०० मेगावाट हाराहारी जडित क्षमता छ । सरकारको लक्ष्य पनि यसवर्ष प्रणालीमा तीन हजार मेगावाट बिजुली थप्ने हो । तर, त्यो लक्ष्य पनि पूरा नहुने प्रायः निश्चित छ ।
अहिले धेरै जलविद्युत् आयोजना स्वदेशी तथा विदेशी कार्यरत कामदार, मजदुर र प्राविधिक तथा इन्जिनियर आपूर्ति हुन सकेका छैनन् ।
कोरोनाका कारण बन्दाबन्दी(लकडाउन) हुनुअघि नै जलविद्युत् आयोजनाको ‘साइट’ छाडेका कामदार अहिलेसम्म पनि फर्केका छैनन् । त्यतिमात्र होइन्, निर्माण सामग्री आपूर्ति र ढुवानीमा पनि समस्या छ ।
मुलुक बाहिरबाट ल्याउनुपर्ने जलविद्युत् आयोजनाका मेसिन, उपकरणहरु ल्याउन नसकिने प्रवद्र्धकहरु बताउँछन् । चिनियाँ ठेकेदार कम्पनी, कामदार र निर्माण सामग्री आबद्ध हुने जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित बनेका छन् ।
अहिले विद्युत् प्राधिकरणअन्तर्गतका कम्पनी र निजी क्षेत्रबाट गरी ३ हजार मेगावाट हाराहारीका जलविद्युत् आयोजना निर्माणाधीन छन् । हालसम्म १६ मेगावाट क्षमताका ३ वटा आयोजनाबाट बिजुली थपिएको छ । ११ मेगावाटको नामर्जुन मादीलगायत हाँडीखोला आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।