काठमाडौं । नेपालमा २ करोड २८ लाख जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केही दिन अगाडि सार्वजनिक गरेको एमआर्ईएस रिपोर्टअनुसार सो संख्यामा इन्टरनेट पुगेको हो ।
पछिल्लो समय इन्टरनेट सेवाका लागि फोरजी र फिक्सड ब्रोडब्यान्डले गति लिएका छन् । तथ्यांकअनुसार फिक्सड वायर्डतर्फ ५७ लाख ५६ हजार प्रयोगकर्ता छन् । जसमा नेपाल टेलिकमको एडीएसएल सेवामा ९ लाख १८ हजार, विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको (केबल, फाइबर टु दि होम) सेवामा ४८ लाख ७६ हजार सेवाग्राही पुगेका छन् ।
नेपालमा फिक्सड ब्रोडब्यान्डको बजार हिस्सा १९ प्रतिश छ भने फिक्सर्ड ब्रोडब्यान्ड वायरलेस तर्फको हिस्सा शून्य दशमलव ७६ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी नेपालमा सबैभन्दा बढी बजार हिस्सा र इन्टरनेटको पहुँच मोबाइल ब्रोडब्यान्डको छ । खासगरी थ्रीजी, फोरजीले नै ५६ प्रतिशत बजार हिस्सा ओगटेको तथ्यांकमा उल्लेख छन् । हाल नेपाल टेलिकम, एनसेलका यस्ता प्रयोगकर्ता बढी छन् ।
नेपाल टेलिकमका १६ लाख ४ हजार ४ सय ५६ फोरजी सेवाग्राही छन् । यता, एनसेलका ३७ लाख २९ हजार ४ सय ५३ प्रयोगकर्ता छन् ।
भर्खरै फोरजीमा अगाडि बढेको स्मार्ट टेलिकमका भने १ लाख ८२ हजार ५ सय ८५ प्रयोगकर्ता छन् । थ्रीजी प्रयोगकर्ता भने १ करोड १२ लाख बढी छन् । इन्टरनेट सेवातर्फ नेपाल टेलिकमका सबैभन्दा बढी प्रयोगकर्ता छन् ।
टेलिकमका कुल १ करोड १४ लाख १७ हजार, एनसेलका ६५ लाख ८ हजार, इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको ४७ लाख ७१ हजार प्रयोगकर्ता छन् ।
नेपालमा चौथो पुस्ताको फोरजी विस्तार सुरु भएको ४ वर्ष बढी भइसक्दा पनि टेलिकम कम्पनीहरूले प्रयोगकर्ता बढाउन सकेका छैनन् ।
नेपाल टेलिकमले नेपालमै पहिलोपटक २०७३ पुस १७ गतेदेखि काठमाडौं उपत्यका र पोखरामा फोरजी सुरु गरेको थियो ।