काठमाडौं । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ ।
विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने भूमिगत तीन पोखरीमा ढलान गर्ने काम तीव्र रूपले अगाडि बढेको छ । आयोजनाको ४ हजार १८५ मिटर हेडरेस सुरूङ, विद्युत्गृह एवम् ट्रान्सफर्मर राख्ने स्थानको निर्माण पूरा भइसकेको जनाएको छ ।
प्रवद्र्धक रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजनाबाट आगामी असारदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका कोभिड– १९ को मापदण्ड पालना गराई काम अगाडि बढाइएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।
आयोजनाको निर्माणस्थलमा २२२ नेपाली तथा ६६ चिनियाँ कामदार कार्यरत छन् । कोरोेना समस्याले सिभिल कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिडब्लुईले यथेष्ट कामदार भने ल्याउन सकेको छैन् ।
सिभिल कामको समग्र प्रगति ७८ प्रतिशत पूरा भए तापनि कोरोना सङ्क्रमणको जोखिमले उपकरण जडान भने हुन सकेको छैन । सो कामको जिम्मा पाएको भ्वाइथ इण्डिया कम्पनीले समयमा कामदार ल्याउन नसक्दा उपकरण जडान गर्ने काम प्रभावित भएको आयोजनाका प्राविधिकले जनाएका छन् ।
कोरोनाको समस्या देखाउँदै सो कामको जिम्मा लिएको कम्पनीले भूमिगत संरचनाबाट निर्माण भइरहेको आयोजनामा विद्युत्गृहको पानी बाहिर पठाउने ३४ मिटर टेलरेस सुरूङ छेड्न र सर्चटैँक मात्र निर्माण गर्न मात्र बाँकी रहेको जनाइएको छ । आयोजना बनाउन १३ अर्ब ६४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सन् २०१३ देखि आयोजनाको निर्माण शुरूआत भएको थियो । २०७६ फागुनमा आयोजनाको काम सक्ने लक्ष्य लिइएको थियो । आयोजना निर्माणमा ढिलाइ भए पनि ऊर्जा उत्पादनको कार्य दिगो र भरपर्दो हुने निर्माणमा सम्लग्न प्राविधिकले बताएका छन् ।
आयोजनाबाट वार्षिक ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजना नेपाल चीन सीमा नजिक टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहेको छ ।