काठमाडौं । निजी क्षेत्रको अग्रणी एयरलाइन्सको रुपमा स्थापित यती एअरलाइन्सले पोखराबाटै चितवनको भरतपुर र भैरहवामा सिधा उडान गर्ने भएको छ । पछिल्लो समय पोखराबाट भैरहवा र भरतपुर जाने आन्तरिक एवंम बाह्य यात्रुहरुको संख्या तिब्र रहेको भन्दै यतीले सिधा उडान गर्न लागेको जनाएको छ ।
एअरलाइन्सले साउन १६ गतेबाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्ने छ भने भरतपुरमा भदौ १५ गतेबाट उडान गर्ने सिनियर म्यानेजर भिमराज राइले जानकारी दिए । ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट भदौ २९ गतेबाट सुरु गर्ने र पोखराबाट नेपालगञ्जका लागि ‘चार्टर्ड फ्लाइट’ पनि सुरु गरेको उनको भनाइ छ । अब काठमाडौं–पोखरा–भरतपुरको ‘गोल्डेन ट्रयांगल’मा यती एअरलाइन्सको हवाइ सम्पर्क स्थापित भएको छ ।
भरतपुरमा पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको सफारी र नारायणी नदीबाट सूर्यास्तको दृश्यावलोकन लगायतका बिविध गतिविधि गर्न सक्नेछन् । साथै, यती एअरलाइन्सले कम भाडा दरमा २० मिनेटको उडानमार्फत पोखरा र भैरहवालाई जोड्ने छ । पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट पनि सुरु गर्न लागिएको जनाएको छ ।
माउन्टेन फ्लाइट मार्फत पर्यटकले माछापुच्छ«े हिमाल र अन्नपूर्ण तथा धौलागिरी जस्ता हिमश्रृंखलाको अलौकिक दृश्यावलोकन गर्न सक्नेछन् । यतीले ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ विमानमार्फत पोखराबाट उडान गर्ने भएको हो ।
सन् १९९८ मा स्थापना भएको यती एअरलाइन्सले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी पाँच ओटा एटीआर ७२–५०० र पाँच ओटा जेटस्ट्रिम ४१ ट्विन टर्बो प्रप बिमानहरुबाट हवाइ सेवा दिँदै आएको छ ।
साथै यतीको भगिनी संस्था तारा एअरले ४ ओटा ट्विन ओटर र दुई ओटा डोर्नियर डीओ २२८ मार्फत् जोमसोम, लुक्ला, डोल्पा, सिमीकोट, जुम्ला र राराजस्ता विकट गन्तव्यमा उडान भरिरहेको छ ।
यती एअरलाइन्स र तारा एअर नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल मात्र होइन सबैभन्दा धेरै संख्यामा विमान भएको नेपाली एअरलाइन पनि हो । यती एअरलाइन्स नेपालकै, सम्भवतः दक्षिण एसियाकै, पहिलो ‘कार्बन–न्युट्रल एयरलाइन’ हो ।