काठमाडौं । निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सरकारले मात्रै १२ अर्ब रुपैयाँ दीर्धकालिन ऋण लगानी गरेको छ । सरकारले माउ कम्पनी नेपाल विद्युत् प्राधिकरणमार्फत सो रकम आयोजनामा ऋण लगानी गरेको हो । यसअघि सरकारले आयोजनालाई ११ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भनेको थियो ।
भूकम्प, नाकावन्दी र पछिल्लो समय कोरोना भाइरस महामारीले गर्दा आयोजनाको काम प्रभावित भएपछि लागत बढेको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ । यसबाहेक कर्मचारी सञ्चय कोषको १२ अर्ब रुपैयाँ ऋण लगानी छ ।
सेयरधनी नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषले १३ अर्ब रुपैयाँ दीर्धकालिन ऋण लगानी गरेको कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ । यस्तै विद्युत प्राधिकरणबाट पनि आयोजनाले २ अर्ब रुपैयाँ अल्पकालिन ऋण लगानी भएको छ ।
आयोजनाले हालसम्म ३८ अर्ब ५८ करोड ३० लाख रुपैयाँ दीर्धकालिन ऋण लिएको छ । यस्तै २ अर्ब ७५ करोड रुपैयाँ अल्पकालिन ऋण लिएको कम्पनीले जनाएको छ । आउँदो चैतसम्म आयोजनाको काम सम्पन्न भई असारदेखि नियमित रुपमा किस्ता तिर्ने योजना छ ।
आयोजनाको पहिलो युनिटबाट असारको अन्तिमसम्म ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कोरोनाले प्रभावित बनाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अपर तामाकोसी १ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ ।
गत वर्षको पहिलो त्रैमाससम्म आयोजना १ करोड ३० लाख ५५ हजार घाटामा रहेको थियो । विद्युत् बिक्रीबाट आम्दानी शुरु हुन नसकेकाले आयोजनाले घाटा सहनु परेको बताएको छ ।
गत वर्ष ७१ अर्ब २८ करोड ७९ लाख ८० हजार रहेको कुल सम्पत्ति यस वर्ष बढेर ७९ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । हाल आयोजनाको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ ।