काठमाडौं । लक्ष्मीपूजाको दिन साँझ बिजुलीको माग १ हजार १४० मेगावाट ‘रेकर्ड’ भएको छ । आज शनिबार ६ बजेर १० मिनेट जाँदा १ हजार १४० मेगावाट माग भएको नेपाल विद्युत् प्राधिकरणका प्रवत्ता मदन तिम्सिनाले बताए ।.
‘लक्ष्मीपूजाको दिन साँझ ६ बजेर १० मिनेटको समयमा देशभरको बिद्युत लोड ११४० मेगावाट पुग्यो ।’ उनले क्यापिटल नेपालसंग भने ।
६ बजेर १० मिनेट जाँदा उच्च लोड भएपनि त्यसपछि केही बेर लोड घटेको थियो । अर्थात ७ बजेसम्म ११०० मेगावाट हाराहारी लोड रहेको उनले बताए ।
लक्ष्मीपूजाको दिन साँझ हुने बिजुलीको लोडको अवस्था बुझ्न ऊर्जामन्त्री बर्षमान पुन, नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतका कर्मचारी विद्युत् भार प्रेषण केन्द्र स्युचाटार पुगेका थिए ।
यो पनि हेर्नुहोस
लक्ष्मीपूजाको दिन बिजुलीको माग साढे ११ सय मेगावाट हुने प्रक्षेपण, भारतबाट डेढ सय मेगावाट आयात हुने
यसअघि विद्युत प्राधिकरणले लक्ष्मीपुजाको दिन बिजुलीको माग साढे ११ सय मेगावाट हुने प्रक्षेपण गरिएको थियो । प्रक्षेपण भन्दा कम माग भएको छ । गतवर्षको लक्ष्मीपूजाको दिन बिजुलीको माग १०८९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । यो माग गत वर्षको भन्दा ५० मेगावाट बढी हो ।
हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको लक्ष्मीपूजाको दिन सबैभन्दा बढि बिजुलीको माग हुने दिन हो । तिहारका बेला बत्ती, चिम लगायतका विद्युत्तीय बत्तीले झिलिमिलि पार्ने गरिएको छ । प्राधिकरणले तिहारको अवधिभर माग अनुसारको विद्युत् आपूर्तिको बन्दोवस्त र तयारी गरेको प्रवक्ता तिम्सिनाले बताए।
लक्ष्मीपूजाका दिन प्राधिकरणले कर्मचारीलाई कार्यक्षेत्रमै खटाएको छ । कुनै समस्या आइहालेमा तुरुन्त कार्यक्षेत्रमा जान र समस्या समाधान गर्न नो लाइट, मोबाइल टिमहरु खटिने उनले बताए ।