काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतभार कटौती (लोडसेडिङ) हटाउन भारतबाट २२ अर्ब रुपैयाँको बिजुली आयात गरेको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा भारतबाट २ अर्ब ९४ करोड युनिट बिजुली आयात भएको प्राधिकरणले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भारतबाट १९ अर्ब ५० करोड रुपैयाँको विद्युत् आयात भएको थियो । अघिल्लो वर्ष २ अर्ब ५८ करोड युनिट विद्युत् आयात गरिएको थियो । एक वर्षको अवधिमा साढे २ अर्ब रुपैयाँको बिजुली आयात बढेको प्राधिकरणले जानकारी दिएको छ । बिजुली आयातले व्यापार घाटा बढाएको छ । व्यापार घाटा बढेपछि यसको गम्भीर असर शोधानान्तर घाटामा परेको छ ।
स्वदेशी उत्पादनले मात्र नपुग्ने भएपछि प्राधिकरणले भारतबाट ठूलो परिमाणमा बिजुली आयात गरेको हो । गत वर्ष विद्युत प्राधिकरणले ६१० मेगावाटसम्म बिजुली आयात गरेको थियो । हाल साढे ३०० मेगावाटको हाराहारीमा बिजुली आयात भइरहेको प्राधिकरणले जानकारी दिएको छ । भारतले विहार, उत्तरप्रदेश राज्यका साथै एनभीभीएन विद्युत् व्यापार निगम, पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बाट बिजुली आयात गरिरहेको छ ।
प्राधिकरणले भारतमा ४० करोड रुपैयाँबराबरको बिजुली निर्यात गरिरहेको छ ।
सुख्खायाममा नदी बहाव घट्ने तर, विद्युत् माग उच्च हुने हुँदा भारतबाट नै विद्युत् आयात गर्नुपरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । ‘अहिलेसम्म २२ अर्ब रुपैयाँको विद्युत् भारतबाट आयात भइसकेको छ,’ उनले भने, ‘हिउँद र विद्युत् खपत हुने सिजनमा विद्युत् आयात गर्छौं ।’
अहिले झन्डै ८० प्रतिशत जनसङ्ख्याले विद्युत् खपत गरिरहेका छन् । गत आवमा निजी क्षेत्रबाट १७० मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य लिए पनि ७० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा विद्युत् निर्यात गर्ने भनेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना यसै वर्ष सम्पन्न भएपछि विद्युत् भारत निर्यात गर्ने योजना छ । माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा केही बिजुली बढी हुने भएपछि नेपाल र भारतबीच इनर्जी बैङ्किङमा सम्झौता भएको छ ।
लक्ष्यमा रहेका सबै आयोजना सम्पन्न भएमा आगामी आर्थिक वर्षदेखि भारतबाट बिजुली आयात बन्द हुने सम्भावना छ । चालू आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप्ने योजना सरकारको छ ।