काठमाडौं । सरकारले काठमाडौंका सडकलाई व्यवस्थित गर्न ‘नमुना फुटपाथ’ युक्त बनाउने भएको छ । नमुना फुटपाथयुक्त सडक बनाउनका लागि अध्ययन, डिजाइन र टेन्डरको तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए ।
‘यस वर्ष व्यवस्थित फुटपाथ बनाउने हाम्रो ‘प्लान’ छ । त्यसको अध्ययन गर्दैछौं । यो सालबसाली गर्ने कार्यक्रमकै रुपमा अघि बढाउँछौं’ उनले भने, ‘यसवर्ष केही सडकमा फुटपाथ बनाउने काम अघि बढ्छ ।’
नमुना फुटपाथ निर्माणका लागि साढे २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको नेपालीले बताए । सडक विभागअन्र्तगत सडक डिभिजन कार्यालय काठमाडौंले ‘नमुना फुटपाथ’ कार्यक्रमलाई यसै वर्षदेखि लागू गर्दैछ ।
यस वर्ष केही सडकमा नमुना फुटपाथ बनाइने र अर्को वर्षदेखि सालबसाली योजना कार्यान्वयन गर्दै जाने नेपालीले बताए । गतवर्ष सिंहदरबारको दक्षिणपट्टी फुटपाथसहितको संरचना निर्माण भएको थियो ।
पैदलयात्री धेरै हिड्ने ठाउँ, भीडभाड हुने र साइकल लेन भएका ‘कोर सिटी’ एरियामा नमुना फुटपाथ बनाइनेछ । ३ देखि ५ वर्षमा सम्पन्न गर्ने गरी नमुना फुटपाथ कार्यक्रम अघि बढाइने उनले बताए ।
आउँदो मंसिरभित्र नमुना फुटपाथको अध्ययन, डिजाइन र लागत स्टिमेट गरी बोलपत्र आह्वान(टेन्डर) गर्ने तयारी रहेको नेपालीले बताए ।
के हो नमुना फुटपाथ ?
अहिले हामीले सडकमा हिड्ने बाटोलाई मात्र फुटपाथ मानिरहेका छौं । काठमाडौंमा त्यस्ता सडकमा फुटपाथ व्यवस्थित छैनन् । काठमाडौंको हालको जनसंख्यालाई आधार मान्दा ५० प्रतिशत मानिस पैदलयात्रु नै रहेको अनुमान छ । त्यसमाथि फरक क्षमता भएका व्यक्ति, अपांग र सवैखाले यात्रुको सहजताका लागि जेब्रा क्रससँगै फुटपाथको दाँया बायाँ विरुवा रोप्ने र ‘ग्रनरी’ बनाउने, कार्बोस्ट्रोन राख्ने, रंगरोगन गरी सुन्दरयुक्त व्यवस्थित बनाइने फुटपाथ नै नमुना फुटपाथ हो ।
‘सर्किट’का रुपमा अघि बढाइने
काठमाडौंको अहिलेको सडक ‘वाकेबल इन्डेक्स’ का दृष्टिकोण अत्यन्त नाजुक अवस्थामा छन् । झन्डै ३÷४ वर्षअघि निर्माण तथा विस्तार भएका सडकमा फुटपाथ बनाउन अध्ययन भइरहेको छ । नयाँ बनेका सडकमा तत्काल नबने सडक डिभिजन कार्यालयको योजना छ । नमुना फुटपाथलाई विभिन्न सडकसँग जोडेर ‘सर्किट’ का रुपमा अभियानकै रुपमा अघि बढाउने सडक विभागको योजना छ । अहिले माइतीघर देखि कोटेश्वसम्म सडकमा साइकल लेनसँगै जोडेर व्यवस्थित फुटपाथ बनाइने योजना छ ।
पहिलो चरणमा जहाँ चौडाई पुगेको छ, त्यहाँ नै फुटपाथ विस्तार गरिनेछ । घर भत्क्याउने, जग्गा प्राप्ती गर्ने ठाउँमा भने सडक बोर्डको अधिकारमा पर्दैन् । यसमा काठमाडौं उपत्यका विकास प्राधिकरण सँग समन्वयन हुनेछ ।
अहिले भएकै सडकको किनारकै चौडाई र ठाउँलाई नै अधिकतम उपयोग गरी व्यवस्थित फुटपाथ बनाउने सडक विभागको योजना छ । सडकको किनारमा यात्रु चढ्न र ओर्लिन सक्ने गरी फुटपाथ निर्माण हृनेछ ।
साधारणतया सडक विभागको स्टयाण्डर्डअनुसार, डेढ मिटर चौडाईमा नमुना फुटपाथ बन्नेछ । तर, केही ठाउँमा भने अहिले उपलव्ध भएकै सडकको किनारमा सहज यात्रा हुनेछ भन्ने अनुमान छ ।
माइतीघर–तीनकुनेमा नमुनामा फुटपाथ
काठमाडौं महानगरले माइतीघरदेखि तीनकुनोसम्मको सडकलाई अहिले साइकल लेनका रुपमा विस्तार गरिरहेको छ । सडक विभागले महानगरसँग समन्वय गरी उक्त खण्डमा पनि नमुना फुटपाथ बनाउनेछ ।
पैदल यात्रुलाई विशेष प्राथमिकतामा राखेर मात्रै साइक लेन बनाउन आवश्यक समन्वयन भइरहेको नेपालीले बताए ।