काठमाडौं । सरकारको बिना तयारीको क्लीनफिड नीति लागू गर्ने निर्णयले टेलिभिजन व्यवसाय नै धरासायी बन्ने अवस्था देखिएको छ । टेलिभिजनमा आगामी दिनमा आउन सक्ने चुनौती र समस्यालाई विचारै नगरी हचुवाका भरमा निर्णय गरिएको व्यवसायीको आरोप छ ।
उनीहरूले जुन उद्देश्य परिपूर्ति गर्न क्लीनफिड लागू गरियो त्यसले सार्थकता नदिने बताएका छन् । डिस मिडिया नेटवर्क (डिसहोम)का कार्यकारी निर्देशक सुदीप आचार्यले मोबाइल एप्समा आधारित सम्पूर्ण टेलिभिजन प्रसारण बन्द गरेमात्रै क्लीनफिड कार्यान्वयनले सार्थकता पाउने बताए ।
‘क्लीनफिडले नेपाली विज्ञापन व्यवसाय बढ्छ भन्ने आँकलन थियो तर, त्यो मात्रै सरकारको ‘गोल’ हो भने सरकार फेल भयो’ उनले भने । केबल टेलिभिजनहरूले प्रसारण गर्ने सयभन्दा बढी च्यानल क्लीनफिडको कारण बन्द भएकाले आम्दानी घटिरहेको उनको भनाइ छ । क्लीनफिडका कारण ग्राहकले हेर्दै आएको टेलिभिजन शुल्क महँगो पर्ने पनि व्यवसायीले बताएका छन् ।
आचार्य भन्छन्, ‘क्लीनफिड जुन उद्देश्य पूर्तिका लागि लागू गरिएको थियो, त्यो उद्देश्य पूरा हुने देखिँदैन । नेपाली विज्ञापनहरू टेलिभिजनमा जान्छन् भन्ने उद्देश्य थियो तर, नेपाली विज्ञापनहरू फेसबुक युट्युब लगायतमा नै देखिन्छ । क्लीनफिडले नेपाली टेलिभिजन उद्योगलाई नै घातक बन्ने देखिन्छ ।’
राज्यले कानुन नै बनाइसकेपछि व्यवसायीहरूले सक्दैनौं वा गर्दैनौं भन्न नहुने व्यवसायीहरूको भनाइ छ । आचार्यका अनुसार विज्ञापन ऐन र क्लीनफिड नीतिलाई परिमार्जन गरेर सरकार अगाडि बढ्नुको विकल्प छैन ।
केही वर्ष अगाडि मलेसियाले ग्लोबल विज्ञापन प्रसारणमा रोक लगायतको थियो । तर, मलेसियन सरकार पछि हटेको अवस्था थियो । त्यस्तै बंगलादेशमा पनि क्लिनफिड नीति लागूभए पनि पछि त्यहाँको सरकार पनि पछि हटेको थियो । सरकारको क्लीनफिड नीतिका कारण व्यवसायीहरूले ठूलो धनराशी खर्च गरेर व्यवसाय धानी राख्नुपर्ने अवस्था रहेको आचार्यको भनाइ छ ।
एनालग टेलिभिजनबाट डिजिटलाइजेसनमा जाँदा पनि सरकारले सहयोग नगरेको र अहिले पनि क्लीनफिडको नाममा टेलिभिजन व्यवसायीलाई कस्दै व्यवसायलाई धरासायी बनाउन लागेको व्यवसायीको भनाइ छ ।
अहिले खासगरी ग्राहकले इन्डियन च्यानल हेर्न नपाएर इन्डियन डीटीएच हेर्ने, आईपीटिभी र इन्डियन ‘कन्टेन्ट’ हेर्ने गरेका छन् । फेसबुक, युट्युब लगायतका ओटीटी कन्टेन्टबाट नेटफ्ल्क्स, एमाजोन, हटस्टार लगायतका च्यानल अहिले पनि बन्द भएका छैनन् । १४ प्रतिशतभन्दा बढी मानिसले इन्डियन डीटीएच हेरिरहेका अहिलेको अवस्थामा क्लीनफिडका कारण च्यानलहरू बन्द गर्नुपर्दा यो संख्या ३० प्रतिशत पुग्ने व्यवसायीहरूले बताएका छन् ।
नेपाली टेलिभिजन उद्योगलाई विस्थापित गराएर कानुनविपरीत चलेका, नियमन नभएका खुलमखुल्ला ओटीटीमार्फत भएको टेलिभिजन प्रसारणलाई सरकारलाई नै बढावा दिने गरेको व्यवसायीको जिकिर छ ।
नेपालको टेलिभिजन उद्योग क्लीनफिड नीति र विज्ञापन ऐनकै कारण ध्वस्त हुँदै जाने बताउँदै आएका छन् । नेपाली टेलिभिजन हेर्नेको संख्या अहिले ३० लाख हाराहारीमा रहेकोमा अब क्लीनफिडले २० लाखमा झार्ने आँकलन गरिएको छ ।
त्यस्तै, केबल टेलिभिजन महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारले लागू गरेको क्लीनफिड समर्थन गर्दा गर्दै पनि बिरोध गर्नुपर्ने अवस्था आएको बताए । ‘कानुनभन्दा बाहिर रहेर सञ्चालन भइरहेका ‘कन्टेन्ट’हरूलाई सरकारले बन्दनगरेसम्म क्लीनफिडको विषयमा सरकार असफल जस्तै भएको छ’ शर्माले भने ।
ओटीटी र मोबाइलएप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराए मात्रै क्लीनफिडको वातावरण बन्ने र मर्म र उद्देश्यका साथ क्लीनफिड लागू हुने उनको भनाइ छ । शर्मा भन्छन्, ‘सञ्चारमन्त्रीलाई यस विषयमा उजुरी समेत नै दियौं तर अहिले कारबाही भएन ।’ यो विषयमा सरकारबाट सहयोग भएन भने सरकार विरुद्धनै मुद्दामा जाने तयारी व्यवसायीको छ ।
‘क्लीनफिडले व्यवसायनै नरहने अवस्थामा आएको छ । हामीले १ सय २० भन्दा बढी च्यानल बन्द गरेका छौं भने रिचार्जै आधाभन्दा बढीले घटिसकेको छ । तर, उता इन्टरनेटबाट आउने कन्टेन्टहरू झनै बढेको व्यवसायीहरूले बताउँदै आएका छन्’, शर्माले क्यापिटल नेपाललाई भने ।
इन्टरनेटबाट आउने कन्टेन्ट, प्रविधिलाई रोक्न सकिँदैन भने महँगो मूल्यमा सेटअप बक्स किन खरिद गर्न लगाइएको भन्दै महासंघका अध्यक्ष शर्माले सरकारलाई प्रश्न गरे । नेपालमा टेलिभिजन सञ्चालन गर्नका लागि डाउनलिङ्क बाहेकका कन्टेन्ट चलाउन पाइँदैन भन्ने व्यवस्था छ । ‘व्यवसायलाई हकहित लगाउने तर एपमार्फत कानुनविपरीत सेवा दिन कुनै कानुन नचाहिने’, शर्माले सरकारलाई प्रश्न गरे ।
क्लीनफिडको विषयमा सरकारको तयारी सून्य जस्तै रहेकाले यो अवस्था आएको हो । २०७६ मै क्लीनफिड नीति लागू भए पनि एक वर्षसम्म विदेशी पीटीभी कन्टेन्टले क्लीनफिड बनाउन समय लाग्छ भनेको कारण समय दिइएको थियो । विज्ञापन बोर्डले नेपालमा डबिङ विज्ञापन चलाउन नपाउने एक वर्ष अघिको कानुन हो । तर, अहिले नेपालमा सञ्चालित टप टेलिभिजनमा डबिङ विज्ञापन बज्न छोडेको छैनन् । शर्माका अनुसार अहिले टेलिभिजन व्यवसाय बाँच्ने कि नबाँच्ने सबैभन्दा ठूलो विषय बनेको छ ।
सुबिसु केबल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले क्लीनफिड लागू गर्ने हो भने देशको कानुन सबैलाई समान रूपले लाग्नुुपर्ने बताउँछन् । विदेशी ओटीटीलाई छुट र नेपाली केबल टेलिभिजन तथा व्यवसायलाई मात्रै कसेर सरकार नै अप्ठ्यारोमा पर्ने उनको भनाइ छ ।
‘सरकार विज्ञापन व्यवसायीको पक्षमा लागेर नेपालमै विज्ञापन बढाउँछौं र बिजनेस क्रियट हुन्छ भन्ने विषयमा प्रभावित भएको पाइन्छ,’ उनले भने, ‘क्लीनफिड लगाएर नेपालको बिज्ञापन बजार दोब्बर हुने प्रक्षेपण भने मलाई विश्वास छैन ।’
उनका अनुसार क्लीनफिडको विषयमा सरकार र प्रसारक व्यवसायीको बीच समन्वयको अभाव भएकै हो । टिभी उद्योगमा क्लीनफिड लागू भयो तर इन्टरनेट कन्टेन्ट एपहरूमा पनि क्लीनफिड लागू हुन जरुरी रहेको पराजुलीको तर्क छ ।