काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।
सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, “सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।”
मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिए । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उजले जानकारी दिए ।
सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ ।
उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी जनाए । अहिले वागमतिमा पानीमार्फत परीक्षण भइसकेको छ ।
यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्का लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।
सो दुर्घनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएका थिए । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए । तीमध्ये इञ्जिनीयर गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने चालक थापामगर अझै बेपत्ता छन् ।
सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनी र गेट निर्माण गर्ने कम्पनी दुवैको भएकाले उनीहरुले जिम्मेवारी लिएका थिए । इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पीआईएलले गेट निर्माण गरेको हो । आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । सरकारसँग सीएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।
आयोजनाको बाँकी काम सम्पन्न गर्नै गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।
आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो ।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लोपटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरुपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको छ ।