काठमाडौं । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपालमै पहिलोपटक बिजुली बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालि वित्तीय संकटमा फसेको छ ।
विगत एक वर्षदेखि काठमाडौं उपत्यकाभित्र सुन्दर यातायात नामक विद्युतीय सार्वजनिक यातायात सञ्चालन गरिरहे पनि कम्पनीको हिसाब पारदर्शी नगराएको र आयव्यय सार्वजनिक नगरेको आरोप अध्यक्ष भेषबहादुर थापालाई लागेको छ ।
कोरोना भाइरस संक्रमणको वाहना देखाउँदै कम्पनीले अहिलेसम्म वार्षिक साधारणसभासमेत गर्न सकेको छैन् । ८० जनाभन्दा बढी सेयर सदस्य रहेको कम्पनीमा पछिल्लो समयभित्र सुन्दर यातायातकै नेतृत्व माथि प्रश्न उठिरहेको छ ।
अध्यक्ष भेषबहादुर थापाले आर्थिक अनियमितता गरेको भन्दै कम्पनी सञ्चालक समिति तथा सेयर सदस्यबीच मतभिन्नता समेत देखिएको छ । थापाले कम्पनीको नाममा व्यक्तिगत रूपमा पैसा उठाएको र सो रकम कम्पनीमा जम्मा नगरेको भन्दै केही सेयर सदस्यले प्रहरीकोमा उजुरीसमेत गराएका छन् ।
कम्पनीका एक सञ्चालक समिति सदस्यले अध्यक्ष भेषबहादूर थापाले कुनै प्रकारको साधारणसभा पनि नगरेको र कम्पनीभित्र आर्थिक अनियमितता भएको जानकारी दिए ।
सेयर सदस्यहरुमध्ये कसैलाई १७ लाख कसैलाई १५ लाख रूपैयाँ उठाएको र सो रकम पारदर्शी रुपमा खर्च नगरेको आरोप थापालाई छ । थापाले पछिल्लो पटक बस किन्ने भन्दै तीन सेयर सदस्यसँग ३ करोड बढी रकम लिएको र सो रकम कम्पनीको खातामा नराखी आफूखुशी खर्चसमेत गरेको भन्दै केही सेयर सदस्यले महानगरीय प्रहरी परिसर टेकुमा उजुरीसमेत दिएका थिए ।
कम्पनी स्रोतका अनुसार, अध्यक्ष थापाले विद्युतीय गाडी खरिद गर्ने भन्दै बैंक तथा अन्य क्षेत्रबाट करिब चार करोड रकम पैसा असुल गरेर अनियमितता गरेका छन् । केही महिना अगाडि ७०० विद्युतीय गाडी उपत्यकामा चलाउने घोषणा गरेका उनले अहिलेसम्म नयाँ बस थप्न सकेका छैनन् । हाल सुन्दर यातायात नामक दुईवटा बस चक्रपथ गुड्ने गरेका छन् । कम्पनीभित्र अध्यक्ष थापाले लिएको उक्त ऋणको कुनै हिसाब किताब अहिलेसम्म भएको छैन ।
गाडी आउने क्रममा भनिए पनि सुन्दर यातायात कम्पनी सञ्चालन भएको तीन वर्षभन्दा बढी भइसक्दा पनि दुईवटा गाडीमै सीमित छ । कम्पनीले सुन्दर यातायातका विद्युतीय बस बीएके कम्पनीका बस आयात गरेको थियो । अध्यक्ष थापाले समानुपातिक रुपमा उठाउनुपर्ने सेयर पनि फरक–फरक रकममा उठाएको पाइएको एक सेयर सदस्यले जानकारी दिए । खासगरी सुन्दर यातायात उनकै नेतृत्वमा आर्थिक संकटको चपेटामा परेको हो ।
सुन्दर यातायातका अध्यक्ष थापाले करिब आठ महिना सवारी सञ्चालन ठप्प भएको र आम्दानी नभएपछि केही लगानीकर्ताले विवाद बाहिर आएको बताए ।
‘लकडाउनमा हाम्रो आम्दानी सून्य जस्तै भयो यस्तो अवस्था र कम्पनी सञ्चालन भएको छोटो समयमा केही लगानीकर्ताले प्रतिफल खोजे पनि यस्तो अवस्था आएको हो’ उनले भने । उनका अनुसार तीन जना सेयर सदस्यहरुले सेयर बेच्न वा लगानीकर्ताबाट बाहिरीन खोजेको र सेयर किन्ने मान्छे नआएपछि यस्तो विवाद आएको हो ।