किमाथाङ्का । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेश गरेका थिए । धिमानले हाल २ हजार ४०० कामदाबाट २४ सै घण्टा काम भइरहेको जानकारी दिए ।
अहिलेसम्म ३ सहायक सुरुङ मार्ग सहित बाँध साइडबाट विद्युत्गृहसम्म पुग्ने सुरुङ मार्ग (डाइभर्सन टनेल) निर्माण सम्पन्न भईसकेको धिमानले जानकारी दिए । अहिले उक्त सुरुङ मार्गलाई ‘कङ्क्रिड’ बनाउने काम भइरहेको उनले जानकारी दिए
अरुण तेश्रो परियोजना सन २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ । १ खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपैयाँ लाभ लिनेछ ।
आयोजनाबाट स्थानीय प्रभावितले १ अर्ब ६० करोड रुपैयाँ को सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतम, राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङलगायत सङ्खुवासभामा स्थलगत अनुगमनमा आएका थिए ।