काठमाडौं । लगानी बोर्डले ३ वटा ठुला जलविद्युत् आयोजनाहरु निर्माण गर्नका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार राती बसेको ४५ औं बोर्ड बैठकले ७७.५ मेगावाटको घुन्सा खोला, ५७ मेगावाटको हिमचुली दोर्दी र ६५ मेगावाटको दुधखोला आयोजना बनाउन सो रकम लगानी स्वीकृत गरेको हो ।
बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील सुशील भट्ट नियुक्त भएपछि बसेको पहिलो बैठकले २०० मेगावाट क्षमताका ती आयोजनामा विदेशी लगानी स्वीकृत गरेको हो। बोर्डले लगानी स्वीकृत गरेकाले प्रवद्र्धकहरुलाई आयोजनाको काम अघि बढाउन सहज भएको छ ।
बोर्डले रेमिट हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत आयोजनालाई १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । यो आयोजनामा वैदेशिक रोजगारीमा जाने नेपालीको समेत २४ प्रतिशत लगानी हुनेछ ।
यस्तै गरी हिमचुली दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडे निर्माण गर्न लागेको ५७ मेगावाटको आयोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजना बनाउन १० अर्ब ४२ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत गरेको लगानी बोर्डका प्रवत्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । ३ वटै आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) खाकामा निर्माण हुने छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय लगानी भित्र्याउन जोड दिएका थिए। उनले जलविद्युत आयोजनाको काम अघि बढाउनका लागि सहजीकरण गर्न बोर्डलाई निर्देशन दिए ।
बैठकले एकल विन्दू सेवा केन्द्रलाई आधुनिक र प्रविधिमैत्रीरूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकमा सीईओ भट्टले आयोजना बैंक स्थापनाको विस्तृत अवधारणापत्रका विषयमा प्रस्तुतीकरण दिएका थिए।