काठमाडौं ।नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइआे) दीपकराज जोशी ‘इन्टरनेसनल टुरिज्म हिरोज अवार्ड’बाट सम्मानित भएका छन्। वर्ल्ड टुरिज्म नेटवर्कले जोशीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।
टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजकसमेत रहेका जोशीले पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरोना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि अवार्ड प्रदान गरिएको हो।
दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने पहिलो व्यक्तिका रूपमा जोशी ‘इन्टरनेसनल हल अफ टुरिज्म हिरोज’ को सदस्यता पाउने पहिलो नेपालीसमेत बनेका छन्।
विश्वभरिबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्वलाई प्रदान गरिने उक्त अवार्ड जोशीसँगै सेसेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्विआई ग्रुपका निर्देशक विजय पुनुसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्युब, जिम्बाब्वेका पूर्वपर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठन (युएनडब्लुटिआें) का निवर्तमान महासचिव डा। तालेब रिफाई, केन्याका पर्यटन सचिव नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्टलेटले पनि पाएका छन्।
अर्वाड प्राप्त गरेपछि जोशीले अवार्ड प्रदान गर्ने वर्ल्ड टुरिज्म नेटवर्कलाई धन्यवाद दिँदै अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको बताए।