काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमा सम्पन्न गराइने बताएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा आज निरीक्षणका क्रममा उनले देशैभर उच्च गतिको ब्रोडब्याड इन्टरनेको पहुँच पुर्याउँदै ‘डिजिटल नेपाल’को आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सहयोग गर्ने बताए।
तीन वटा प्याकेजमा विभाजन गरी निर्माण शुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २ र बामती तथा कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिच्छयाउने काम भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा फाइबर बिच्छ्याउने कार्य अगाडि बढ्न सकेको छैन ।
उक्त क्षेत्रमा फाइबर बिछ्याउने जिम्मेवारी पाएको युनाइटेड टेलिकमले सम्झौताअनुसार काम नगरेपछि प्रधिकरणले ठेक्का रद्द गरे पनि सर्वोच्च अदालतले ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै काम अवरुद्ध भएको छ । “यो कसैको व्यक्तिगत हितका लागि होइन, समृद्ध नेपाल निर्माण गर्न शुरु गरिएको हो । यसमा कसैको असहयोग हुनु हुँदैन ।” मन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले वर्तमान स्थितिमा इन्टरनेट महत्वपूर्ण साधन बन्दै गइरहेको भन्दै उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ प्राधिकरणको ध्यान जानुपर्ने बताए । ‘
इन्टरनेटमा आधारित टेलिभिजनमार्फत ‘क्लिनफिड’ नीति कार्यान्वयनमा चुनौती देखिन सक्ने भन्दै उनले क्लिनफिडलाई पूर्णरुपमा कार्यान्वयन गर्न पनि प्राधिकरणको मुख्य भूमिका भएको बताए ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौताअनुसारका काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिए। उनले दूरसञ्चारका क्षेत्रमा विकसित प्रविधि भित्रयाएर जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नेतर्फ प्राधिकरणको ध्यान जानुपर्नेमा जोड दिँदै उनले मोबाइल सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन निर्देशन दिए ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणबाट सम्पादित काम तथा दूरसञ्चार क्षेत्रमा रहेका समस्या समाधानका उपाय, भावी रणनीति र कार्यदिशाका बारेमा जानकारी गराएका थिए ।