काठमाडौं । अनलाइन भुक्तानी प्रणाली सुरु भएपछि ६ लाख ग्राहकले घरमै बसेर विद्युत् महसुल तिर्दै आएका छन् । १६८ विद्युत् आय सङ्कलन केन्द्रका ग्राहकले नेपाल विद्युत प्राधिकरणलाई अनलाइनमाफत बिजुलीको बिल तिर्ने गरेका छन् । अनलाइनबाट बिजुली महसुल बुझाउने ग्राहको सङ्ख्या बढ्दै गएको प्राधिकरणले जनाएको छ ।
देशभर २९ लाख विद्युत् ग्राहक छन् । त्यसमध्ये झन्डै ६ लाख ग्राहकले प्रत्यक्ष रुपमा अनलाइनमा जोडिएका हुन् । विद्युत् प्राधिकरणका अनुसार, मुलुकभर १७३ ओटा विद्युत् आय सङ्कलन केन्द्र छन् । त्यसमध्ये हालसम्म १६८ ओटा केन्द्रमा अनलाइन बिलिङ प्रणाली लागू भइसककेको विद्युत् प्राधिकरणअन्तर्गतको कम्प्युटराइज बिलिङ तथा नेटवर्क महाशाखाका प्रमुख सजुनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले १६८ केन्द्रका झन्डै ६ लाख विद्युत् ग्राहक अनलाइन बिलिङ सिस्टमबाट लाभान्वित भएको बताए । ‘देशका १७३ ओटा आय संकलन केन्द्रमध्ये हालसम्म १६८ ओटा केन्द्रमा अनलाइन बिलिङ पेमेन्ट प्रणाली लागू भएको छ,’ उनले भने, ‘झन्डै ६ लाख विद्युत् ग्राहकले यो सेवा लिइरहेका छन् ।’
एक महिनाभित्र सबै आय सङ्कलन केन्द्रमा अनलाइन बिलिङ सिस्टम लागू गरिसक्ने श्रेष्ठले जानकारी दिए । सेवा पुगेका केन्द्रका ग्राहकले घरमै बसेर अनलाइमार्फत विद्युत्को महसुल तिर्न सक्नेछन् ।
नेपाल विद्युत् प्राधिकरणसँग विभिन्न ८ ओटा सेवाप्रदायकमार्फत विद्युत् महसुल तिर्न सकिन्छ । खासगरी, ई सेवा, आईएमई पे, सिटी एक्सप्रेस, हिमालयन बैङ्क, प्रभु बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क र महालक्ष्मी बैङ्कमार्फत ग्राहकले अनलाइमार्फत महसुल तिर्न सक्छन् ।
त्यस्तै, विदेशमा भएर पनि विद्युत् महसुल तिर्न सीएसएस रेमिट्यान्समार्फत तिर्न सकिन्छ । अनलाइनमार्फत विद्युत्को महसुलबाट वार्षिक ८ अर्ब ४० करोड रुपैयाँ सङ्कलन हुने श्रेष्ठले बताए । अनलाइन पेमेन्टमार्फत लाभान्वित ग्राहकबाट मासिक ७० करोड रुपैयाँ महसुल संकलन हुने उनको भनाइ छ ।
हाल देशभर ११२ विद्युत् वितरण केन्द्र छन् भने केही जिल्लामा थप हुने चरणमा छन् । विद्युत् प्राधिकरणले २ वर्षदेखि विद्युतीय महसुल भुक्तानी सेवा सुरु गरेको हो । काठमाडौंको रत्नपार्कबाट सुरु भएको सेवा अब देशभर विस्तार हुने क्रममा छ ।