काठमाडौं । यस वर्षको तिहारमा मुलुकभर झन्डै १ अर्ब रुपैयाँको भाइमसलाको कारोबार हुने भएको छ । कोरोना भाइरस महामारीका बीचमा तिहारमा भाइमसलाजन्य वस्तुको बिक्रीबाट १ अर्बको कारोबार हुने व्यवसायीको अनुमान छ ।
व्यवसायीका अनुसार, गत वर्षको तुलनामा यसवर्ष भाइमसलाको कारोबार भने घट्नेछ । गत वर्षको कारोबार तुलनामा यसवर्ष ४० प्रतिशत कमी आउने नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अर्थात, यस वर्षको तिहारमा झन्डै एक अर्बको मात्रै भाइमसलाको कारोबार हुने अनुमान रहेको संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
‘यसपालिको तिहारमा ‘सेल्सको भोल्यूम’ चाहिँ कोभिडको कारणले गत वर्षको जस्तो छैन । गएको दसैँले पनि व्यापार कस्तो छ भन्ने देखाइहाल्यो’ उनले भने, ‘अहिले मान्छेको ‘पर्चेजिङ’ क्षमता घटेको छ । यसरी हेर्दा गतवर्ष कारोबार भएभन्दा कारोबार ४० प्रतिशतले घट्ने देखिन्छ ।’
तिहारका बेला भाइमसलामा प्रयोग हुने काजु, किसमिस, ओखर, बदाम, पेस्ता, नरिवल, छोकडा, सुकमेललगायत विभिन्न मिठाइका परिकारको व्यापार बढी हुने गरेको गर्छ ।
तिहारमा यस्ता ड्राई फ्रुट्सकाका रूपमा प्रयोग हुने भाइमसला भारतबाटै आउने गरेको छ । हाँडे ओखर, मखना, अलैंची, नरिवलजन्य वस्तुलगायतका केही वस्तु भने नेपालमै उत्पादन हुने गरेको छ ।
तिहारका सामग्रीको कारोबार घट्न सक्ने भन्दै व्यापारीले कम परिमाणमा खरिद गरेको उनले बताए । व्यापारीले भाइमसला जस्ता वस्तुको मौज्दात राखेका छैनन् भने बढी परिमाणमा आयात पनि नगरेको श्रेष्ठले बताए । गत वर्षको तुलनामा यसवर्ष भाइमसलाजन्य तिहारका वस्तुको मूल्य १० प्रतिशत घटेको श्रेष्ठले बताए ।
यतिवेला काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड, कालीमाटी, मैतीदेवी, पाटन, लगनखेल लगायतका क्षेत्रमा तिहारका सामग्री किन्नको चहलपहल बढ्न थालेको छ । यद्यपि, कोरोनाको संक्रमणको जोखिम बढिरहेकाले गतवर्षको जस्तो चहलपहल चाहिँ नभएको व्यवसायी बताउँछन् ।
गत वर्ष र अहिले भाइमसलाजन्य वस्तुको खुद्रा मूल्यको अन्तरः
वस्तुको नाम(प्रतिकेजी) गतवर्षको खुद्रा मूल्य(रु.मा) यस वर्षको खुद्रा मूल्य(रु.मा)
१. काजु १५५० देखि १७०० १४०० देखि १५५०
२. किसमिस ५०० देखि ६५० ३२० देखि ३५०
३. पिस्ता १७०० देखि १९०० १६५० देखि १८००
४. नरिवल ४८० देखि ५०० ३५० देखि ४५०
५. छोकडा २२० देखि ३०० २०० देखि २५०
६. बदाम १३५० देखि १५०० १०५० देखि १२००
७. ल्वाङ १८०० रुपैयाँ ११०० रुपैयाँ
८. सुपारी ६५० रुपैयाँ ६२० रुपैयाँ
९. ओखर ६२० देखि ७०० ६०० देखि ६५०
१०. अन्जिर २००० रुपैयाँ १२०० रुपैयाँ
११. दालचिनी ५५० रुपैयाँ ३५० देखि ४५०
१२. मिस्री १८० देखि २०० १२० देखि २००
१३. खुर्पानी १००० रुपैयाँ ९५० रुपैयाँ
१४. अलैँची १५०० रुपैयाँ १३०० देखि १३५०
१५. सुकमेल ४५०० देखि ५५०० ४५०० देखि ५०००
१६. मखना १२०० रुपैयाँ ८०० देखि १०००
स्रोतः खुद्रा व्यापार महासंघ, नेपाल
त्यस्तै, यसपालिको तिहारमा झन्डै १५ लाख स्वदेशी मालाको कारोबार हुने भएको छ । विगतको वर्षमा स्वदेशमा फूलका मालाको माग बढी हुँदा विदेशबाट आयात हुने गथ्र्यो । तर, यसवर्ष स्वदेशी फूलको उत्पादनले नै धान्ने पुष्प व्यवसायीहरू बताउँछन् ।
तिहारका बेला देशभर फूलको खपत बढी हुने गरेको छ । यसपालिको तिहारमा भारतबाट फूल नआउने पुष्प व्यवसायी बताउँछन् ।
स्वदेशी फूलले नै यसपालिको तिहारलाई धान्ने नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए । उनले यसवर्ष १५ लाख मालाको माग रहेकाले उक्त माग अनुसारको माला स्वदेशी हुने बताए ।
उनले यसवर्ष झन्डै १० करोडको स्वदेशी मालाको कारोबार हुने बताए । ‘यसपालिको तिहारका लागि स्वदेशी फूल नै खपत हुनेछ । कोभिडले पनि फूलको खपत बढी हुँदैन । जति माग छ, त्यो हाम्रै उत्पादनले धान्छ’ उनले भने, ‘देशभर करिब १५ लाख मालाको माग छ । त्यो हाम्रै स्वदेशी माला खपत हुनेछ ।’
बजारमा प्रतिमालाको मूल्य ६० देखि ७० रुपैयाँ पर्ने श्रेष्ठले बताए । पुष्प व्यापारीले किसानबाट ४० देखि ४५ रुपैयाँसम्म खरिद गर्छन् । गतवर्ष तिहारको समयमा २५ लाख मालाको कारोबार भएको थियो ।
गतवर्ष प्रतिमाला ५५ देखि ६५ रुपैयाँ मूल्य थियो । यसपालिको तिहारमा मालाको मूल्य केही बढेर ६० देखि ७० रुपैयाँसम्म पुगेको उनले बताए ।