काठमाडौं । लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना एक वर्षपछि धकेलिएको छ । कोराेना भाइरस महामारीले आयोजनाको काम प्रभावित भएपछि एक वर्ष ढिला हुन गएको हो ।
आयोजनाको काम ८५ प्रतिशत पूरा भएको छ । बाँधको संरचना बनाउने काम सम्पन्न भएको छ । यस्तै गेट जडानका साथै मुख्य सुरुङमा ढलान भइरहेको छ ।
आयोजना बनाउन २ अर्ब २९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजना दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको हो ।
सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी बिकास बैंक, प्राइम कमर्शियल बैंक (कैलाश विकास बैंक) सँग ऋण सम्झौता गरेको छ ।
आयोजनाका अनुसार विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा आइसकेको छ । तिहारपछिबाट उपकरण जडानको काम सुरु हुने आयोजनाले जानकारी दिएको छ ।
आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन मध्ये १५ वटा टावरमध्ये १४ वटाको जग खनेर सकिएको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत ३ किलोमिटर दुरीको किर्तीपुर सबस्टेसनमा जोडिनेछ ।
विद्युत प्रवाह हुने दोर्दी कोरिडोर प्रसारण लाइन विद्युत प्राधिकरणले निर्माण गरिरहेको छ । प्रसारण लाइनको काम आगामी फागुनभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।