काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले व्यापार चौपट बनाएपछि दुई वटा हेलिकप्टर कम्पनीका केही लगानीकर्ताहरु बाहिरिएका छन् ।
लामो समयदेखि भएको लकडाउनका कारण नियमित रुपमा हेलिकप्टर सञ्चालन आउन नसकेपछि अल्टिच्यूड एयरका अध्यक्ष फुर्वाग्याल्जेन शेर्पा सहित ३ जना र हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) योगराज कडेल सहितको समूह बाहिरिएका हुन् ।
अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पाले सहमतिमै तीन जना सेयरधनीहरु आफ्नो कम्पनीबाट बाहिरिएको जानकारी दिए । कम्पनीका अध्यक्ष फुर्वा सहित सञ्चालकहरु राकेश बादे र सोबित गौचनको समूहले ३७ प्रतिशत सेयर लिएर बाहिरिएका हुन् ।
फुर्वाको समूह बाहिरिएपछि अब अल्टिच्यूडमा ५ जना मात्र सञ्चालकहरु रहेका छन् ।
यता हेलिएभरेष्टमा पनि ५ जना सञ्चालकहरु बाहिरिएका छन् । ती मध्ये ४ जनाले ७० प्रतिशत रकम लिइसकेका छन् भने बाँकी ३० प्रतिशत रकम दिन बाकी रहेको जनाएको छ ।
सीईओ कडेल भने सुरुमा बाहिरिने भने पनि उनले सेयर रकम भने लिइनसकेको कम्पनीका एक सञ्चालकले क्यापिटललाई जानकारी दिए । हेली एभरेष्टमा अहिले बाहिरिएका सञ्चालकहरुमा पाइलट र इन्जिनियरहरु रहेका छन् । उनीहरुको सेयर हस्तान्तरण हुन भने बाँकी रहेको बताइएको छ ।
यस अघि हेली एभरेष्ट सहित तीन वटा हेलिकप्टर कम्पनीबीच मर्जरका लागि समेत छलफल भएको थियो । तर, अन्तिम चरणमा सहमति नभएपछि त्यहाँका लगानीकर्ताहरु बाहिरिएका हुन् । अल्टिच्यूडसँग २ वटा हेलिकप्टर रहेको छ भने हेली एभरेष्टमा २ वटा हेलिकप्टर रहेको छ ।
हाल १० वटा हेलिकप्टर कम्पनी सञ्चालन रहेको छन् भने १ वटा हेलिकप्टर कम्पनी सञ्चालनको तयारीमा रहेको छ ।