काठमाडौं । सरकारी स्वामित्वमा रहेको तारागाउँ रिजेन्सी(ह्यात होटल)को सम्पत्ति तथा दायित्वको मूल्यांकन(डिडिए)का लागि कम्पनी छनौट भएको छ । पछिल्लो समय तारागाउँको डिडिए गर्न दबाब बढेसँगै कम्पनी छनौट गरेको हो ।
डिडिएका लागि जिपी राजबहाक एण्ड कम्पनीलाई छनौट गरेको छ। डिडिए गर्नका लागि तारागाउँले कम्पनी माग गर्दै साउन ३ गते प्रस्ताव आव्हान गरेपछि सात कम्पनीले माग लिएका थिए। यो कम्पनीले आठ लाख रुपैयाँमा डिडिए गरिदिने प्रतिबद्धतता गरेको बताइएको छ ।
सुरुमा कायम रहेको सरकारी सेयर घट्दै गएर न्यूनतममा पुगेपछि सरकारमाथि पनि दबाब बढेको थियो। तारागाउँ रिजेन्सीमा सरकारको तर्फबाट तारागाउँ विकास समितिले प्रतिनिधित्व गर्छ।
सरकार अन्तर्गतको तारागाउँ विकास समितिले २०४९ सालमा १ सय ५० रोपनी जग्गा ह्यात होटल बनाउन दिएको थियो। त्योसँगै वर्षमा ३० लाख रुपैयाँ सरकारले पाउनेगरी १४८ रोपनी जग्गा भाडामा दिइएको छ।
त्यतिबेला प्रतिरोपनी १० लाखका हिसाबले जग्गाको १५ करोड र अन्य भौतिक संरचनाको थप २ करोड गरी कुल १७ करोड रुपैयाँ सरकारको लगानी मानिएको थियो।
होटल घाटामा गएको, थप पूँजी लगानी गर्नुपरेको कारणले सरकारको सेयर लगाताट घट्दै गएको तर्क निजी साझेदारहरुले गर्ने गरेका छन्।
निजी साझेदारले लगानी बढाउँदै लगेको देखाएपछि सरकारको सेयर हिस्सा घट्दै गएको हो। २०४९ असोज २२ गते तारागाउँ विकास समिति, आइसिटिसी ग्रुप र राधेश्याम सर्राफबीच भएको सम्झौताअनुसार ह्यात होटलमा सरकारको ३९.७७ प्रतिशत र निजी साझेदारको ६०.२३ प्रतिशत सेयर थियो।
पछिल्लो समय कोरियन डेभलपेमन्ट बैंक सिंगापुरले ४ लाख ९ सय कित्ता अग्राधिकार सेयर र साधारण तर्फको ४२ हजार ७ सय ८० कित्ता सेयर आइसिटिसी होल्डिङ कम्पनीलाई बेचेको छ। त्यस्तै, साधारणतर्फको बाँकी ५ लाख १४ हजार १ सय ७५ कित्ता सेयर डोमिनियन इन्भेस्टमेन्ट र अग्राधिकारतर्फको ४ लाख ४७ हजार डोमिनियन इन्भेस्टमेन्ट हङकङलाई बेच्न सैद्धान्तिक सहमति लिएको उद्योग विभागले जनाएको छ।
हाल होटलमा राधेश्याम सर्राफको १२.२५ र आइसिटिसीको ७.८९ प्रतिशत सेयर छ। त्यस्तै, आइसिटिसी होल्डिङ कम्पनीको १०.०९, डोमिनियन इन्भेस्टमेन्ट हङकङको २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड ९बिभिआई० को ९.५३, तारागाउँ विकास समितिको ९.०१ प्रतिशत र सर्वसाधारणसहित अन्यको ३२ प्रतिशत हिस्सा छ।
डोमिनियन सर्राफकै मान्ने हो भने उनको लगानी ४२ प्रतिशतभन्दा बढी हुन आउँछ। सुरुमा उनको लगानी ३३ प्रतिशत मात्रै थियो।