काठमाडौं । रातीको समयमा भारतबाट बिजुली आयात हुन छाडेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, बेलुकी ९ बजेपछि बिहानसम्म भारतबाट बिजुली ल्याउनुपर्ने अवस्था नरहेको हो ।
बेलुकाको ९ बजेदेखि बिहान ८ बजेसम्म भारतबाट बिजुली आयात गर्नु पर्ने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण अन्र्तगत प्रणाली सञ्चालन विभागका प्रवन्धक सुरेस भट्टराईले जानकारी दिए ।
‘बेलुका ९ बजे पछाडी बिहान ८ बजेसम्म भारतबाट बिजुली आउँदैन’ उनले भने, ‘बिहान ८ बजेपछि ४०/५० मेगावाटकै हाराहारीमा दिनभरी बिजुली आइरहेको हुन्छ ।’
नेपालमा बिजुलीको माग घटबढ हुने हुँदा भारतबाट आउने बिजुली पनि घटबढ भने भइरहन्छ । बिहान, दिउँसो र बेलुकामा बिजुलीको लोड फरक–फरक हुन्छ । त्यसबेला बिजुली मागमा पनि अन्तर हुने गर्छ ।
रातीको समयमा बिजुलीको खपत नै नहुने हुँदा भारतबाट बिजुली ल्याउनु पर्दैन् । तर, बेलुकाको पिक समय(७ देखि ९ बजेसम्म) भने भारतबाट केही बढि बिजुली आउने गर्छ । सो अवधिमा १५० मेगावाटसम्म बिजुली आयात हुने भट्टराइले बताए ।
भारतबाट आयात नहुने मात्रै होइन्, रातीको समयमा नेपालकै बिजुलीको खपत निकै कम हुने गरेको छ । रातीको समयमा नेपालकै बिजुली खेर जाने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।
स्वदेशमै उत्पादन भएको बिजुली खपत कम हुँदा बिजुली खेर जाने गरेको छ । तर, प्राधिकरणले विद्युत् प्रणालीको शुरक्षाका लागि ‘रिजर्भ’ बिजुली राख्नुपर्ने बताउँछ । अहिले बिजुली रिजर्भ गरिरहेकाले त्यसलाई ‘स्पील’(खेर गएकाे) भनेर मान्न नसकिने प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए ।
‘हाम्रो सिस्टमको शुरक्षाका लागि केही न केही बिजुली ‘रिजर्भ’ राख्नुपर्ने हुन्छ । त्यो गरेनौं भने सिस्टम ब्रस्ट हुन सक्छ । नोक्सान र आउटेड हुन सक्छ’ उनले भने, ‘हामी अहिले बिजुली रिजर्भ भएको अवस्था छ । त्यसलाई बिजुली ‘स्पील’ भयो भनेर भन्छन् । खासै त्यस्तो स्पील होइन् ।’
उनका अनुसार, रातीको समयमा साढे ७ सय देखि ८ सय मेगावाट मात्रै खपत हुने गर्छ । बाँकी बिजुली खेर जाने गरेकाे हाे ।
रातीको समयमा कुलेखानी जलाशययुक्त आयोजना चलाउनुपर्दैन । भारतबाट बिजुली आयात गर्नुपर्दैन । निजी क्षेत्र र प्राधिकरणको सहायक कम्पनीका ‘रन अफ दि रिभर’का जलविद्युत् आयोजनाको बिजुली उपयोग हुन्छ । प्राधिकरण स्रोतका अनुसार, अहिलेकै अवस्थामा रातीको समयमा डेढ देखि २०० मेगावाट बिजुली खेर जाने गरेको छ ।
निकट भबिष्यमा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ । अन्य निजीक्षेत्रका केही जलविद्युत् आयोजना पनि थपिँदैछन् । अहिले नै बिजुली खेर जाने अवस्था हुँदा प्राधिकरणले खपत र लोड बढाउने खालका कार्यक्रममा जोड दिन सकेको छैन् ।
प्राधिकरणको चिन्ता कसरी बिजुलीको लोड बढाउने भन्ने नै हो । औद्योगिक क्षेत्रले बिजुली पाउन नसकेको अवस्था छ । विद्युत्तीय सवारी, चार्जिङ स्टेशन, कुकिङ ग्याँस लगायतमा विद्युत्तीय उपकरणको उपयोगमा जोड दिएमा मात्र बिजुलीको खपत बढ्न सक्छ ।
बिजुलीको खपत बढाउन प्राधिकरणले विद्युतको महशुल घटाएको र छुट दिएको कोइराला बताउँछन् । उद्योगलाई बिजुली आवश्यक परे पनि उपलव्ध गराउन नसकिएको बताए । कमजोर विद्युत् प्रणाली, सवस्टेशन र प्रसारण लाइनमा केही समस्या भएका कारण उद्योगलाई चाहिने थप बिजुली पुर्याउन नसकिएको उनले बताए ।
अहिले पनि बुटवलदेखि पश्चिमतर्फको धेरै उद्योगले बिजुली पाएका छैनन् । ती औद्योगिक क्षेत्रमा बिजुलीमा खपत बढाउन सकिने अवस्था छ । विद्युत्को प्रणाली सुधार, मर्मत सम्भार र सवस्टेशन तथा प्रसारण लाइन निर्माण गरेर उद्योगलाई बिजुली दिने वातावरण बनाउने उनले बताए ।
केही समयअघि ढल्केबर सवस्टेशन ४०० केभीमा चार्ज भएपछि भारतबाट बिजुली आयात गर्न सकिने अवस्था छ । तर, अहिलेकै अवस्थामा बिजुली आयात गर्नुपर्ने अवस्था छैन् । उक्त ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन खासगरी नेपालको बिजुली निर्यातका लागि कोसेढुंगा रहने छ ।
आउँदो मंसिरभित्र ४५६ मेगावाटका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिट ७६ मेगावाट बिजुली उत्पादन हुँदैछ । उक्त बिजुली निर्यात गर्न उक्त प्रसारण लाइन उपयोगी हुनेछ ।