काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटक उद्धारको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरेसँगै हेलिकप्टर व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।
केही दिन अघि बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनन्जय रेग्मीले विदेशी कम्पनी ग्लोबल रेस्क्यूलाई उद्धार र बिमाको जिम्मेवारी दिने विषयमा छलफल अगाडी बढाएपछि व्यवसायीहरुले त्यसको विरोध गरेका हुन् ।
बोर्डले राखेको प्रस्तावमा नेपाल आउने सम्पूर्ण पर्यटकको बिमा र उद्धारको जिम्मा ग्लोबल रेस्क्यूलाई दिने र त्यसमार्फत एउटा मात्र हेलिकप्टर कम्पनीमार्फत उद्धार गर्ने तयारी गरिएको छ । बोर्डको सो प्रस्तावप्रति हेलिकप्टर व्यवसायीहरुले विरोध जनाएका हुन् ।
नेपाली कम्पनीहरुनै पर्यटक उद्धारको लागि सक्षम रहँदा रहँदै विदेशी कम्पनीको स्वार्थमा बोर्डले सिण्डिकेट लागू गराउन लागेको अल्टीच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पाको भनाई छ ।
अर्बौ लगानी गरेर नेपाली व्यवसायीहरुले सञ्चालन गरेको हेलिकप्टर कम्पनीहरुले उद्धारको काम गरिरहेको बेला आफूहरुलाई पन्छाएर विदेशी कम्पनीको हातमा अधिकार हस्तान्तरण गर्न खोज्नु गलत भएको शेर्पाको टिप्पनी छ ।
हेलि एभरेष्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) योगराज कडँेलले कुनै एक मात्र हेलिकप्टर कम्पनीलाई उद्धारको जिम्मेवारी दिने गरी ल्याउन लागेको कार्यविधि गलत भएको बताए । ‘पर्यटन बोर्डले पर्यटक उद्धारमा सिण्डिकेट लागू गराउन लागेको देखिन्छ,सीईओ कडेलले भने,यसमा हाम्रो असहमति छ ’ ।
कोभिडका कारण थला परेको हेलिकप्टर कम्पनीहरुलाई सरकारले संरक्षण दिनुपर्ने बेला उल्टै सिण्डिकेट लागू गराएर व्यवसायनै धरापमा पार्न खोजेकोले यस्ता निर्णयहरु नगर्न अनुरोध गरेका छन् ।
कैलाश हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले पर्यटक उद्धारमा सिण्डिकेट लागू हुने विषय आफुलाई पत्यार नलागेको बताए । बोर्डले नेपाली कम्पनीहरुलाई पाखा लगाएर विदेशी कम्पनीलाई उद्धारको जिम्मेवारी दिन नहुने उनको भनाई छ ।