काठमाडौं । नेपालका व्यापारीले भारतबाट सस्तो मूल्यमा धमाधम धान भित्र्याउन थालेका छन् । सरकारले धानको समर्थन मूल्य तोकेरै कृषि सहकारीमार्फत किसानबाट धान खरिद गर्न सुरु गरेसँगै व्यापारीले भारतबाट सस्तोमा धान भित्र्याउन थालेका हुन ।
भारतबाट व्यापारीले ९ सय भारतीय रुपैयाँमा धान भित्र्याउन थालिसकेको नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले बताए । तत्काल भन्सार नाकामा धान आयात नरोक्ने हो भने सहकारीले खरिद गरेको धान नबिक्ने र किसानले मुल्य नपाउने उनले बताए ।
व्यापारीले भारतबाट सस्तोमा धान भित्र्याउँदा सहकारीले अहिले खरिद गरेको धान नबिक्ने चिन्ता छ । सहकारीले किसानबाट खरिद गर्ने धानबाट अहिले व्यापारीले भारतबाट खरिद गरेको धान आधा सस्तो पर्ने पाठक बताउँछन् ।
कृषि सहकारीको धानभन्दा व्यापारीले भारतबाट ल्याएको धान बजारमा पठाउँदा सस्तो पर्ने हुँदा सहकारीलाई घाटा पर्ने र धान नै नबिक्ने खतरा रहेको उनी बताउँछन् ।
‘व्यापारीले सस्तोमा धान भित्र्याउ सुरु गरिसके । सहकारीले किनेको भन्दा आधा सस्तोमा भारतबाट धान खरिद गरेर व्यापारीले स्टोर गरेर राखेका छन् । र, उनीहरुले सस्तोमा बजारमा पठाउँने बित्तिकै मुल्यमा अन्तर हुन्छ, यसले सहकारीले बेच्ने धानमा संकट आउँछ’ उनले भने, ‘त्यसकारण, भारतबाट सस्तोमा धान भित्रिने क्रम तत्काल रोकिनुपर्छ । भन्सार नाकामा धान आयात रोक्नुपर्यो ।’ तत्काल भारतबाट धान आयात रोक्नुपर्ने पाठकको तर्क छ ।
अहिले नेपालका व्यापारी र निजी क्षेत्रले सरकारले ल्याएको निर्णयलाई अप्ठ्यारो पार्न र असफल बनाउन योजनाबद्ध रुपमा लागि परेको उनले बताए ।
तत्कालका लागि व्यापारीले भारतबाट धान आयात रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषाल र मन्त्रालयका अधिकारीसँग पनि छलफल गरेको पाठकले बताए ।
‘तत्काल धान आयात रोक्न मन्त्री ज्यू पनि सहमत हुनुभयो । मन्त्रीज्यूले निमित्त सचिव ज्यूलाई निर्देशन गर्नुभयो । सचिवज्यूले भोली नै भन्सार विभाग र विभिन्न ठाउँ–ठाउँमा परिपत्र गर्नेे बताउनुभएको छ ।’ उनले भने ।
भारत सरकारले त्यहाँका किसानलाई उत्पादनमा अनुदान दिने हँदा नेपालको भन्दा भारतको धान सस्तो पर्ने गर्छ । उताबाट सस्तोमा धान आयात हुँदा यहाँको सहकारीले खरिद गरेको धानको मुल्यलाई प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
कृषि मन्त्रालयले पहिलो पटक किसानको लाभका लागि सरकारले सहकारीमार्फत नै धान खरिद गर्ने अभ्यास सुरु गरेको हो । सरकारले तोकेको समर्थन मूल्यमा सहकारीले किसानबाट प्रतिक्विन्टल मोटा धानको २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँमा धान खरिद गरेका हुन ।
भारतबाट मात्रै होइन्, स्वदेशकै धान पनि व्यापारीले ठूलो मात्रामा किसानबाट सस्तोमा उठाइसकेका छन् । अहिले तराई जिल्लामा व्यापारीले किसानबाट १८ सय देखि २ हजार रुपैयाँ क्विन्टलसम्ममा धान उठाइरहेको किसानहरु बताउँछन् ।
सहकारीमार्फत धान खरिद गर्ने प्रक्रिया ढिला सुरु हुँदा व्यापारीले पहिले नै किसानको धान खरिद गरिसकेका हुन् । यता, किसानलाई पनि धान काट्नासाथ भण्डारण, ढुवानी र शुरक्षामा समस्या हुने हुँदा सस्तोमै व्यापारीलाई धान बेच्ने बाध्यता छ ।
तर, धान हुने पकेट क्षेत्र र तराईका अधिकांश जिल्लामा रहेको सहकारीले किसानको धान खरिद गर्न थालिसकेका छन् । सरकारले यसवर्ष सहकारीमार्फत किसानको १ लाख मेट्रिक टन धान खरिद गर्ने योजना बनाएको छ । व्यापारीले पहिले नै किसानबाट धान उठाइसकेको र भारतबाट पनि धान आउँदा सहकारीले लक्ष्यभन्दा कम धान खरिद हुने पाठक बताउँछन् ।
सरकारले किसानलाई धान खेतीमा उत्प्रेरित गर्न र उचित मुल्य दिन भन्दै सहकारीमार्फत धान खरिदको कार्यक्रम अघि बढाएको कृषि मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले बताए ।
उनले किसाने उत्पादन वृद्धिमा जोड दिन, उचित मुल्य प्रदान गर्न र बिचौलिया अन्त्य गर्न सहयोग पुग्ने बताए ।