काठमाडौं । बंगलादेशबाट ल्याइने भनिएको रासायनिक मल पैँचोको सट्टा बंगलादेश र नेपाल सरकार–सरकारबीच(जीटुजी) मार्फत नै खरिद गर्ने सहमति भएको छ ।
बंगलादेश सरकारले नेपाललाई पैँचो(मल नै फिर्ता गर्ने) वा जीटुजी गरेर खरिद गरी भुक्तानी गर्न सक्ने दुबै विकल्पसहित प्रस्ताव पठाएको थियो ।उक्त प्रस्तावमा नेपालले जीटुजीमार्फत नै मल खरिद गर्दा सहज र सजिलो हुने भएपछि त्यसअनुसार नै सहमति भएको हो ।
सोमबार बंगलादेश सरकारका प्रतिनिधी र नेपाली प्रतिनिधी तथा सरोकारवालासँगको भर्चुअल जुम मिटिङमार्फत नेपालले जीटुजीमार्फत नै मल खरिद गर्न सहमति जनाएको नेपालका लागि बंगलादेशका राजदूत बंशीधर मिश्रले बताए ।
‘बंगलादेशले पैँचोमा भने पैँचौमै मल दिने वा पैसा नै दिन्छु भनेपनि रि–पेमेन्टको सुविद्यासहित नेपाललाई प्रस्ताव पठाएको थियो’ उनले भने, ‘यो बिषयमा सोमबार दुवै देशका सरोकारवालासँगको ‘जुम’ मिटिङमा कुरा भयो । नेपालले जीटुजीमार्फत नै मल खरिद गरी रकम भुक्तानी गर्न सहज हुने देखियो र, त्यसअनुसार नै सहमति गर्नुभयो ।’
जीटुजीमा मल खरिद गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । मन्त्रिपरिषद्ले त्यससम्वन्धी निर्णय गरेपछि मल खरिद प्रक्रिया अघि बढ्ने उनले बताए ।
बंगलादेशबाट नेपालले ५० हजार टन युरिया मलका जीटुजीमार्फत नै खरिद गर्नेछ ।
राजदूत मिश्रले मल खरिद गर्ने ठेकेदार कम्पनीलाई बोलाएर छलफल समेत गरेको बताए । बंगलादेशको सरकारी निकाय बंगलादेश केमिकल इन्डष्ट्रि कर्पोरेसन(बीसीआईसी)ले मल खरिद गरि नेपाललाई मल आपूर्ति गर्नेछ ।
बंगलादेशले अहिलेसम्म बाहिरबाट मल खरिदका लागि टेन्डर र पैँचोमा मल दिने गरेको थिएन् । उसले आफ्नो देशलाई चाहिने मल जीटुजीमार्फत नै साउदी अरेबिया, कतार, चीन, ओमान लगायतका देशबाट ल्याउने गरेको मिश्रले बताए ।
बंगलादेशबाट पैँचोमा मल ल्याउँदा नेपालले सोही क्वालिटीको मल फिर्ता गर्नुपर्छ । नेपालले पनि भारत वा अन्य मुलुकबाट खरिद गरेको मल बंगलादेशलाई सापट फर्काउनुपर्दा सोही क्वालिटी नमिल्न सक्छ । र, खरिद प्रक्रिया, ढुवानी, मुल्य लगायतको झन्झटिलो प्रक्रिया हुने हुँदा जीटुजीमार्फत नै पैसा तिरेर ल्याउँदा नेपाल सरकारलाई फाइदा हुने कृषि मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्की बताउँछन् ।
जीटुजीमार्फत पैसा तिरेर ल्याउँदा अन्र्तराष्ट्रिय मुल्यभन्दा कम पर्न सक्ने उनी बताउँछन् ।