काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको बिमा र उद्धारको काम अमेरिकन कम्पनी ‘ग्लोबल रेस्क्यू’लाई दिन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले लबिङ थालेका छन् ।
बोर्डका सीईओ रेग्मीको सक्रियतामा विदेशी कम्पनी ग्लोबल रेस्क्यूलाई बिमा र उद्धारको जिम्मा दिने गरी कार्यविधिको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल भएको छ ।
सीईओ रेग्मीले विदेशी पर्यटकको बिमा र उद्धारको जिम्मा ग्लोबल रेस्क्यूलाई दिने आशयसहित शुक्रबार पर्यटन व्यवसायसँग आबद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरुसँग ‘जुम’ मार्फत छलफल गरेपछि सो कुरा बाहिर आएको हो ।
स्रोतकाअनुसार सीईओ रेग्मीले अमेरिकामा मुख्य कार्यालय रहेको ‘ग्लोबल रेस्क्यू’ नामक कम्पनीलाई पर्यटकको बिमा र उद्धार गर्ने कामको जिम्मा दिन लालायित छन् । त्यसका लागि उनले कति अवधिको बिमाका लागि कति रकम लिने भनेरसमेत तय गरेको बताइएको छ ।
ग्लोबल रेस्क्यूले बोर्डलाई पठाएको पत्रमा प्रति पर्यटक एडभाइजरी, इभ्याक्यूएसन सर्भिस, कोभिड–१९ टेस्ट र म्यानेज्मेन्टका लागि भन्दै ३० दिनको १५० अमेरिकी डलर, ६० दिनको ३०० अमेरिकी डलर र ९० दिनको ४२० अमेरिकी डलर लिने प्रस्ताव गरेको छ ।
यसरी लिइएको रकममध्ये प्रतिव्यक्ति १८ डलर बोर्डलाई दिने प्रस्ताव छ । पर्यटकहरुको नेपाल बसाई सामान्यतया १० देखि १५ दिनको मात्र हुने गरेको छ ।
बोर्डले अघि सारेको कार्यविधि स्वीकृत भएमा नेपाल आउने विदेशी पर्यटकहरुको बिमा र उद्धार ग्लोबल रेस्क्यूले मात्र गर्न पाउने छ । हाल यात्राको लागि मात्रै नेपाली बिमा कम्पनीले १५ दिनका लागि ३० डलर लिने गरेका छन् । यसअघि सामान्यतया नेपाल आउने पर्यटकहरुले आफूअनुकुलको कम्पनीमा बिमा गराउँदै आएका थिए ।
केही समयअघि मात्रै खुला प्रस्पिर्धाबाट बोर्डका सीईओ नियुक्त रेग्मीले आफूलाई प्रत्यक्षरअप्रत्यक्ष फाइदा हुने गरि पर्यटकको बिमा र उद्धारको जिम्मा ग्लोबल रेस्क्यूलाई दिन लागेको भन्दै व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।
उनीहरुले कुनै एउटा कम्पनीलाई मात्रै रेस्क्यूको जिम्मा दिने हो भने पनि बोलकबोलमार्फत दिइनुपर्ने र बिमाको काम पर्यटकलाई रोज्ने अधिकार दिनुपर्ने माग राखेका छन् । नेपालमा हाल जीवन बिमा कम्पनी १९ र निर्जीवन बिमा कम्पनी २० वटा छन् । सामान्यता पर्यटकको यात्रु बिमा निर्जीवन कम्पनीले गर्छन् ।
सन् २००४ मा स्थापना भएको ग्लोबल रेस्क्यूले पर्यटकको बिमा र उद्धारको काम गर्दै आएको छ । २०१५ को विनासकारी भूकम्पपछि ग्लोबल रेस्क्यूले नेपालमा उद्धारको काम गर्दै आएको छ । सन् २०१९ मा पनि उसले ८७ वटा उद्धारका कार्य गरेको पर्यटन बोर्डलाई पठाएको पत्रमा उल्लेख गरेको छ ।
ग्लोबल रेस्क्यू पनि झुटो उद्धार (फेक रेस्क्यू)मा जोडिँदै आएको छ । ग्लोबल रेस्क्यूले २०१८ मा भएका फेक रेस्क्यूका बारेमा विदेशमै पत्रकार सम्मेलनमार्फत नेपालका हेलिकप्टर कम्पनीहको गलत प्रचार गरेको भन्दै नेपालको हेलिकप्टर एसोसियसनले विरोध गरेको थियो ।