काठमाडौं । बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बंगलादेश सरकारले नेपाललाई मल दिन कुनै आनाकानी नगरेको बताएका छन् । केही सञ्चार माध्यममा पैँचोमा मल दिने समझदारीबाट बंगलादेश पछि हटेको भन्ने खबर बाहिरिएसँगै उनले त्यसको खण्डन गरेका हुन् ।
क्यापिटल नेपालसँगको कुराकानीमा मिश्रले बंगलादेशले पनि नेपाललाई पैँचो दिने मल किनेर दिने भएकाले केही ढिला भएको बताए । तर, बंगलादेशले पैँचोमा दिन आनाकानी नगरेको उनको तर्क थियो ।
यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएको फोन संवादमा रासायनिक मल पैँचोमा दिनेबारेमा मौखिम सम्झौता भएको थियो ।
‘बंगलादेशले पनि हामीलाई पैँचो दिने मल किनेर दिने हो । त्यहाँको सरकारी कम्पनी बीसीआइसीले पैँचो मल दिन किन्ने कुरा ‘फाइनल’ गरिसक्यो’ उनले भने, ‘उनीहरुले नेपाललाई दुईवटा प्रस्ताव पठाएका छन् । नेपालले जे माग गरेको छ, त्यसअनुसार नै दिन बंगलादेश तयार नै छ ।’
बंगलादेशले नेपाललाई सापटमा मल दिन नसके रि–पेमेन्टको सुविद्या पनि दिएको उनले बताए । ‘मल नै दिन्छु भने पनि बंगलादेश तयार नै छ । होइन्, नेपालले किनेकै रेटमा पैसा नै दिन्छु भने पनि बंगलादेश राजी नै छ’ उनले भने,‘अब नेपालल सरकारले जे निर्णय गर्छ, त्यसअनुसार नै बंगलादेशले मल दिन्छ ।’
यता, पैँचोमा भन्दा बंगलादेशबाट मल किनेरै ल्याउँदा नेपाललाई फाइदा हुने सरकारी अधिकारीहरु बताउँछन् । नेपालले भारतबाट खरिद गर्ने अन्तराष्ट्रिय मूल्यभन्दा कममा नै बंगलादेशबाट मल आउने कृषि मन्त्रालयका एक अधिकारीले बताए ।
कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्र भण्डारी बंगलादेशले अहिलेसम्म कसैलाई पनि पैँचोमा मल नदिएको बताउँछन् । उनले मल सापट ल्याउने वा जीटुजीमार्फत नै मल खरिद गर्न बंगलादेशले प्रस्ताव पठाएको उनले बताए ।
नेपालले पैँचोमा ल्याउने कि खरिद गरेरै मल त्यससम्वन्धी निर्णय गर्न बाँकी छ । यदि बंगलादेश र नेपाल सरकार–सरकारबीच(जीटुजी)मार्फत खरिद गरेरै मल ल्याउन भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।
बंगलादेशले सम्झौता सुरुदेखि मल उपलव्ध गराउन तदारुकता देखाएको राजदूत मिश्रको भनाई छ । ‘नेपालले जति छिटो निर्णय गर्यो, त्यति छिटै बंगलादेशले मल दिन तयार छ’ मिश्रले भने, ‘मल ल्याउन नेपालले नियुक्त गरेको ठेकेदार कम्पनी सम्पर्कमा नै छ ।’
नेपालले ८ महिनाभित्र बंगलादेशबाट पैँचोमा ल्याए मल नै र खरिद गरेर ल्याए रकम भुक्तानी गर्नुपर्ने समयावधि समेत पाएको छ । नेपालले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया ल्याउने यसअघि नै सहमति भएको थियो ।