पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात पुनः शुरु भएको हो ।
वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु भएको स्थानीय तिलक पराजुलीले जानकारी दिए । लामो समयसम्म वर्षा भएका कारण बहाव नघटेकाले विगतका वर्षमा भन्दा यस वर्ष ढिलो गरी स्टिमर सेवा शुरु भएको पराजुलीको भनाइ छ ।
सहजरूपमा सञ्चालन गर्न सकिने भएपछि कात्तिक पहिलो सातादेखि सञ्चालनमा ल्याइएको शालिग्राम–कालीगण्डकी जल यातायात प्रालिका सञ्चालक चन्द्रबहादुर रानाले जानकारी दिए ।
गत असार पहिलो सातादेखि कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि दुर्घटना हुन सक्ने भएकोले साउन, भदौ र असोजमा सेवा बन्द गरिएको सञ्चालक रानाले बताए । “झण्डै चार महिनापछि सेवा शुरु भएको छ”, उनले भने, “स्टिमर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।”
रानाका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म ७ किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ । स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिइ । स्टिमरबाट दैनिक १ हजारभन्दा बढीले जलाशयमा ओहोरदोहोर गर्ने गरेको भुसालले बताए ।
स्टिमरमा १५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए । उनले दैनिक १ हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताए । स्टिमर सेवा सञ्चालनपछि चार घन्टाको यात्रा आधा घन्टामा छोटिएको उनको भनाइ छ ।
कोरोना भाइरसको महामारीका कारण अहिले सामाजिक दूरी कायम गरी आधा सङ्ख्यामा मात्र यात्रुहरु राख्ने गरिएको छ भने भाडादर समेत बढाइएको छ । अहिले दुईतर्फी यात्रा गर्दा ४०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।