काठमाडौं । हिमालय एयरलाइन्सलाई पोस्न सस्तो भाडादरको जहाजलाई बंगलादेश आउन नदिएको त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले आरोप लगाएका छन् ।
२३ हजार रुपैयाँमै बंगलादेशबाट नेपाली विद्यार्थी लैजान तयार भएको जहाजलाई अनुमति नदिएर २५ हजार भाडादर तोकेको हिमालय एयरलाइन्सललाई मात्रै उडान अनुमति दिएपछि नेपाली विद्यार्थी मर्कामा परेको नेप्लिज् स्टुडेन्ट युनियन बंगलादेशका उपाध्यक्ष राजु साहले क्यापिटल नेपाललाई जानकारी दिए ।
यती समूहले सञ्चालन गरेको हिमालय एयरलाइन्सलाई बंगलादेश चार्टर्डका लागि अनुमति दिइसकेको छ । हिमालयले बंगलादेशबाट प्रतिविद्यार्थी २५ हजार रुपैयाँका दरले भाडा लिइरहेको छ । तर, त्योभन्दा कम भाडादर सार्वजनिक गरेका श्रीलगायत अन्य एयरलाइन्सलाई नेपाल सरकार र बंगलादेशस्थित दूतावासले नै रोकेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
‘२३ हजारमै विद्यार्थीलाई नेपाल ल्याउने जहाजले घोषणा गरेपछि हामीले आफ्नो ग्रुपमा उक्त म्यासेज सेयर गरेका थियौं,’ क्यापिटल नेपालसँग कुराकानी गर्दै साहले भने, ‘तर, दूतावासले अनावश्यक दबाब दिएर उक्त पोस्टलाई ग्रुपबाटै हटाउन लगायो । श्रीको जहाज आउँदैन् । यस्तो नचाहिने पोस्ट हाल्न कसले लगायो भन्दै दूतावासका अधिकारीले गालीसमेत गरे ।’
बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रले हिमालय एयरलाइन्सले बंगलादेश उडानका लागि अनुमति पाइसकेकाले आउँदै छ भनेर जानकारी मात्रै गराएको बताए । ‘हिमालयसँग हाम्रो कुनै सम्बन्ध छैन ।
परराष्ट्र मन्त्रालयमार्फत जे निर्देशन आउँछ, त्यही गर्ने हो । हिमालयको हकमा परराष्ट्रबाट लेटर आइसकेकाले प्रक्रिया अघि बढाइएको हो, अन्य एयरलाइन्सको बारेमा अहिलेसम्म केही आएको छैन,’ उनले भने, ‘यहाँ विद्यार्थीले श्री पनि आउँदै छ रे भनेर सोध्ने गरेका छन् । तर, हामीलाई परराष्ट्रले अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी नदिएकाले, यसबारेमा आफूलाई थाहा नभएको भन्ने जवाफ दिएको हो ।’
नेपालबाट झण्डै १ सय ८० जना व्यक्तिहरू नेपालबाट बंगलादेश आउने भएपछि दूतावासका अधिकारीको मिलेमतोमा यती समूहको हिमालय एयरलाइन्सलाई अघि बढाइएको विद्यार्थीको आरोप छ ।
‘यहाँ ठूलो चलखेल छ, हामीले विद्यार्थीको हीत हेर्ने हो,’ साहले भने, ‘तर, यहाँ कसैले पनि विद्यार्थीको हित हेरेका छैनन्, जति सकिन्छ, बढी भाडा लिने पक्षमा छन् ।’
अहिले दूतावासका अधिकारीले हरेक विद्यार्थीलाई फोन गरेर संस्तो दरको जहाज आउँदैन । जाने भए हिमालय एयरलाइन्सकै २५ हजार रुपैयाँको टिकट काट्न दबाब दिइरहेको उनीहरूको आरोप छ ।
राजदूत मिश्रले दूताबासका कुनै पनि अधिकारीले हिमालयको पक्षमा काम नगरेको बताए । ‘यो जहाज आउँदै छ भनेर मात्रै जानकारी दिइएको छ,’ उनले भने, ‘त्यस बाहेक केही भनिएको छैन ।’