पोखरा । पोखराको पर्यटन क्षेत्र कोरोनाले प्रभावित भए पनि अधिकांश प्याराग्लाइडिङ कम्पनीमा भने अहिले निकै भीडभाड देखिन थालेको छ ।
कोरोनाले ६ महिना ठप्प भएको प्याराग्लाइडिङ व्यवसायले ७ हजार रुपैयाँको प्याकेजलाई विशेष छुट गरी ३ हजार रुपैयाँमै टिकट उपलब्ध गराएपछि यति बेला प्याराग्लाइडिङ कम्पनीमा आन्तरिक पर्यटकको भीडभाड ह्वात्तै बढेको व्यवसायीहरू बताउँछन् ।
पोखरामा रहेका ६० वटा प्याराग्लाइडिङ कम्पनीमध्ये अधिकांश कम्पनीमा हिजो शनिबार दसैंको अवसरमा केही आन्तरिक पर्यटकहरू भ्रमणमा निकस्केसँगै र पोखरा क्षेत्रका पर्यटकहरूले सहुलियत दरमा प्याराग्लाइडिङ गर्न पाएपछि हाल कम्पनीमा बिहानैदेखि बेलुकासम्म भीडभाड हुन थालेको फ्लाइङ प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्याराग्लाइडिङ पाइलट हरि गिरीले बताए ।
कोरोनाले गर्दा आर्थिक समस्या सबैमा परेकाले अहिलेको अवस्थामा ७ हजारको प्याकेज ३ हजारमै उपलब्ध गराउँदा हाल आफूहरूको ५ दिनसम्म अग्रिम टिकट बुकिङ भएको उनले दाबी गरे । उनले भने, “पर्यटनको सिजनमा पनि यस्तो अग्रिम टिकट बुकिङ भएको थिएन तर छुट उपलब्ध गराए पछि कोरोनाले गर्दा घरमै बसेका धेरै पर्यटकहरू प्याराग्लाइडिङतर्फ आकर्षित भएका छन ।’
विभिन्न देशका पर्यटकहरू पोखराको आकाशमा उड्दा आफूलाई पनि उडौंउडौं लागेपछि हाल विशेष छुट उपलब्ध भएकाले गर्दा आफूहरू ७ जना पहिलो पटक प्याराग्लाइडिङ गरेको पोखराकी सविता सुवेदीले बताइन् । सुवेदी जस्तै पोखराकी गरीमा पौडेल पनि शनिबार पोखराको आकाशमा प्याराग्लाइडिङ गर्दा निकै रमाइलो भएको अनुभव सुनाइन् । गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बराल पनि शनिबार केही समय धर्ती छाडेर आकाशमा प्याराग्लाइडिङ गरे ।
पहिलो पटक प्याराग्लाइडिङ गर्दाको अनुभव निकै रमाइलो लागेको बताएका सांसद बरालले शनिबार भने थोरै मौसम बदली हुँदा धेरै उचाइमा जान नपाएकोमा पुनः प्याराग्लाइडिङ गर्ने इच्छा रहेको जनाए । पोखराको प्याराग्लाइडिङ व्यवसाय एवं सहासिक खेललाई जीवन्त राख्न आफ्नो ठाउँबाट विशेष पहल गर्ने उनले बताए ।
फ्लाइङ बुद्ध प्याराग्लाइडिङ कम्पनीबाट प्याराग्लाइडिङ पाइलट एवं प्रशिक्षक बालु बसेलले सांसद बराललाई सराङकोटदेखि खपौंदीसम्मको क्षेत्रमा करिब २५ मिनेट प्याराग्लाइडिङ गराएका थिए ।
पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै आफूहरू विस्थापित हुनुपर्ने एक प्रकारको हल्लाले आफूहरू निकै चिन्तित भएको पाइलट बसेलले सांसद समक्ष गुनासोसमेत गरे । यति बेला मौसमले पनि साथ दिएकाले गर्दा माछापुच्छ्रे सहितका हिमश्रृंखला खुलेसँगै आन्तरिक पर्यटकहरूले प्याराग्लाइडिङ गर्दा निकै रमाएका छन् ।
कोरोनाको कहरमा पर्यटकहरू निकै कम आगमन हुने भएकाले पोखरा र पोखरा आसपासका आन्तरिक पर्यटकहरूलाई कम्तीमा एक पटक प्याराग्लाइडिङ गराएर आनन्द दिलाउन पनि आफूहरूले विशेष छुटमा प्याराग्लाइडिङ गराउन कम्पनी तथा पाइलटहरूसँगको सहकार्यमा आह्वान गरिएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए । व्यवसाय ठप्प हुनुभन्दा न्यूनतम शुल्कमा प्याराग्लाइडिङ गराई आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि छुटको व्याबस्था गरिएको उनले जनाए ।
हाल दैनिक ५ सय जनाले प्याराग्लाइडिङ गर्ने गरेको अध्यक्ष भण्डारीले दाबी गरे । बिहान १०ः०० बजेदेखि दिउँसो ३ः३० बजेसम्मका लागि पोखराको आकासमा प्याराग्लाइडिङ उडान गर्न आफूहरूले मान्यता दिने गरेको उनले जनाए ।
पोखरा–१८ को सराङकोटका तीन ठाउँबाट र तोरीपानीबाट उडानभरि प्याराग्लाइडिङ पाइलटले पोखराको खपौंदी, इन अफ द लेक, वाटरफन्ट रिसोर्ट अगाडिको चौर र चंखपुरमा समेत अवतरण(ल्यान्डी) गर्ने गरेका छन् । पोखरामा हाल ३ सय ३८ जना पाइलट भए पनि २ सय ५० जनाले टेण्डम फ्लाइट गर्ने गरेको अध्यक्ष भण्डारीले जनाए ।
असोज १ गतेदेखि हवाई उडान सञ्चालनको अनुमति दिएसँगै प्याराग्लाइडिङ खेलसमेत सञ्चालनमा आएको हो । पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनीहरू छन् । त्यसैगरी पोखरामा सोलो प्रशिक्षण गर्दै गरेका करिब ६० जना प्याराग्लाइडिङ पाइलट छन् ।