काठमाडौं । सहर ढपक्कै विदेशी ब्रान्डहरूका कपडाले छोपेको छ । सडकलाई र्याम्प मान्नेहरू बिरालो चालमा हिडिरहँदा प्रख्यात विदेशी ब्रान्डहरूको आउटफिटमा सजिने गरेका छन् । तर, बग्रेल्ती विदेशी ब्रान्डको बीचमा स्वदेशी ब्रान्डहरूले पनि आफ्नो अस्तित्वलाई स्थापित गराइरहेका छन् । सहरका युवा पुस्तालाई लक्षित गरी नयाँ र पछिल्ला डिजाइन हुने क्रम बढ्दो छ ।
पेपरमा पेन्सिलको स्केचदेखि कपडामा कैचीको नाप काटेर डिजाइन गर्दै आफ्नै ब्रान्ड स्थापित गराउने क्रममा छन्, मनिष शाही । खासमा उनी फेसन डिजाइनर होइनन् । तर, अहिले उनी फेसन डिजाइन नगरी बस्नै सक्दैनन् । आफूले गरेको डिजाइन र बनाएको कपडाको ब्रान्डिङका लागि ‘र्याम्प ’ ब्रान्डलाई स्थापित गराउने क्रममा छन् ।
व्यवस्थापन पढेका शाहीको सौख फोटोग्राफी हो । यही सौखले उनी फेसन डिजाइन बन्न पुगे । र, आफ्नै कम्पनी ‘र्याम्प’ खोलेर ‘क्याजुअल’ डिजाइनमा रमाइरहेका छन् ।
२५ वर्षीय मनिष र्याम्प ब्रान्डमा कपडा डिजाइन र उत्पादन गरी पारखीहरूलाई घर घरमै आफ्नो उत्पादन पुर्याइरहेका छन् । शाही नेपाली कपडा बजारमा एकाधिकार जमाएका विदेशी लत्ताकपडाको ब्रान्डलाई प्रतिस्थापन गरी घरेलु ब्रान्डलाई स्थापित गराउन विगत तीन वर्षदेखि अघि बढेका छन् ।
मनिष बच्चादेखि नै फोटोग्राफी रुचाउँथे । सानैदेखि फोटोमा रुचिभएका उनी फोटो खिच्दै अघि बढे । सानो छँदा मोबाइलबाटै भए पनि राम्रा–राम्रा फोटो खिच्थे । पछि, साथीभाइको प्रस्तावमा फोटोसँगै उनी म्युजिक ब्यान्डतर्फ लागे । म्युजिकतिर केही समय काम गरे तर, सफल नभएपछि त्यसलाई छोडे । म्युजिक ब्यान्डमा ब्रेक लागेपछि नयाँ अवसर खोज्नतर्फ अग्रसर भएका पुनः फोटोग्राफी तिरै फर्किए ।
फोटोतिर नै पाइला अघि बढाएपछि मनिषले आफ्नो पहिलो क्यामेरा निकोन खरिद गरे । फोटोग्राफीमा लागेपछि नयाँ–नयाँ जागिरको अफर आउन थाल्यो । त्यसैबीचमा उनले लेडिज क्लोथिङ ब्रान्ड मेटाफोरमा क्यामेरा पर्सनको जागिरका लागि आवेदन दिए । जहाँ लेडिज कपडा डिजाइन र उत्पादनसँगै बिक्री हुन्थ्यो । आवेदन दिएको केही दिनमा मनिषलाई सो कम्पनीले नियुक्त गर्यो र उनले जागिर सुरु गरे ।
खासगरी लेडिजका लागि डिजाइन हुने कपडाको प्रमोसन गर्न प्रोडक्टहरूको फोटोे खिच्न पुगेका उनी फेसन डिजाइनमा आफ्नो रुचि बढाए ।
मनिषले सो कम्पनीमा दुई वर्ष काम गरे ।
त्यहाँ फोटा खिच्दै गर्दा लुगा डिजाइन, उत्पादन र बिक्रीको विषयमा केही नयाँ अनुभव बटुले र फेसन डिजाइनका बारेमा केही आइडियासमेत थाहा पाए । लेडिज ब्रान्ड मात्रै डिजाइन र उत्पादन हुने सो कम्पनीमा मनिषलाई केटाको पनि कपडा भइदियोस् भन्ने लाग्थ्यो ।
मनिष आफू पनि सानैदेखि फेसन कन्सियस थिए । केटाहरूका लागि नेपाली ब्रान्डको कपडा बनाउने र डिजाइन गर्ने इच्छा उनमा जाग्यो । जन्मियो, र्याम्प ।
विदेशी ब्रान्डका सर्ट, टिसर्ट, ज्याकेट, भेष्ट, लगाएर युवायुवती हिँडिरहेको देखिन्छन् । मनिषलाई भने सानका साथ नेपालीले नेपाली ब्रान्ड लगाइदिओस् भन्ने चाहना राखे ।
विदेशी ब्रान्डलाई नेपालीले जति पनि पैसा खर्च गरिरहेका हुन्छन् । तर, प्रिमियम नेपाली ब्रान्ड किन छैन त्यसैले उनले कच्चा पदार्थका विषयमा बुझेर कपडा उत्पादन गर्ने, डिजाइन गर्ने र ड्रेसहरू बनाउन थाले । मनिष भन्छन्, ‘मेरो उद्देश्य विदेशी ब्रान्डहरू जस्तै नेपालीले पनि ¥याम्प लेखिएको कपडा लगाएर हिँडेको देख्न पाउँ भन्ने हो ।’
मनिष फोटोग्राफर भएको कारण पनि उनलाई नयाँ ब्रान्डको लुगा उत्पादन गर्न र डिजाइन गरी प्रमोसन गर्न सहज भयो । अहिले पनि नेपाली ब्रान्ड भनेर खुलेर बजारमा नयाँ–नयाँ सामान आइसकेको अवस्था भने छैन । लेडिजहरूको कपडा उत्पादन गर्ने ठाउँमा जागिर छोडेर उनले आफ्नै नयाँ ब्रान्ड खोल्ने र आफंै डिजाइन गरी नेपाल र नेपाल बाहिर यो र्याम्प ब्रान्डलाई चिनाउने प्रण गरेका छन् ।
उनको दिदी रेनी खड्गीको आर्थिक, प्राविधिक सहयोगमा २०१७ नोभेम्बर ८ देखि ५ लाख लगानी गरी कपडा कटिङ र डिजाइन गरी उत्पादनको काम सुरु गरेका मनिषले अहिले काठमाडौंसहित विभिन्न सहरमा आफ्नो उत्पादन पुर्याइसकेका छन् ।
‘सुरुवाती चरणमा मलाई कपडाको विषयमा कहाँबाट कसरी ल्याउने, के गर्ने भन्ने थाहा थिएन,’ मनिषले भने, ‘फोटोग्राफी गर्दा लेडिज कपडा डिजाइन कम्पनीमा दुई वर्ष काम गर्दा जे देखे सोहीअनुसार कटिङ र डिजाइनमा अघि बढें ।’ उनी भन्छन्, ‘मलाई कच्चा पदार्थ, कपडा कहाँ पाइन्छ, मेसिन कताबाट ल्याउने भन्ने विषयमा पनि थाहा थिएन ।
जसोतसो गरेर सानो फ्याक्ट्रीबाट कपडा डिजाइन सुरु भयो । स्वयम्भूमा फ्याट्री राखेपछि मनिषको दैनिकी नै परिवर्तन भयो । उनी बिहान उठ्थे कपडा मेसिन र आफ्नो व्यवसायमै केन्द्रित हुन्थे ।
मनिसको दिनचर्या कपडा ल्याउने, हेर्ने, रिसर्च गर्ने मै बित्थ्यो । पसल–पसलमा जाने, सोध्ने, मेसिनबारे अनुसन्धान गर्ने लगायतकै काममा मनिष लागिपरे ।
मनिषले सुरुवाती दिन सम्झिदै भने ‘रिसर्च गर्दा गर्दै काठमाडौं भ्यालीमा फ्याट्रीको सामान र कच्चापदार्थ कहाँ पाइन्छ भन्ने कण्ठै भयो र व्यापारीसँग सम्बन्ध पनि बन्यो ।
सानो स्केलमा भए पनि आफ्नै डिजाइनमा फेन्सी कपडा उत्पादन भयो । जुन युवावर्ग लक्षित थियो । फोटोग्राफर आफैं भएका कारण सानेपाको सनराइज अपार्टमेन्टमा उत्पादन भएका कपडाको फोटोमार्फत उनले प्रमोसन सुरु गरे ।
सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि आफन्त तथा कपडा पारखीबाट रेस्पोन्स राम्रो आयो । पहिलो चरणमा फेसबुकको माध्यमबाट फोटो सार्वजनिक भएपछि नेपाली ब्रान्ड भनेर उनले जिज्ञासा राख्नेलाई बुझाउन थाले । सुरुवाती चरणमा उनका साथीहरूले पनि सहयोग गरेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘मनिषले लुगा बेच्न थाले छ भनेर प्रचार गरिदिए । लुगा उत्पादन सुरु भएपछि आफ्नै फ्याक्ट्रीमा जुन जस्तो डिजाइनमा पनि, भनेकै साइजमा कपडा पाइने भएपछि मानिसहरूले ध्यान दिन थाले । बजारमा आफूले भने जस्तो कम नै पाइने भएकाले चिनजानका साथीहरूले उनको फ्याक्ट्रीबाटै उत्पादन भएका कपडा लगाउन थाले ।
आकर्षक डिजाइनमा लुगा तयार पार्न होलसेलमा कपडा खरिद गर्न गए पनि भने जस्तो कच्चापदार्थ नपाएर उनी हैरानसमेत हुन्छन् । ‘त्यतिबेला जे पाउँछ मिलाएर कपडामा प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था पनि आउँछ,’ उनले भने । तर, अहिले विस्तारै क्वालिटीका सामान पाउन थालेपछि हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौं ।
मनिषले आफैं विदेशबाट कपडा र कच्चापदार्थ आयात गरेर डिजाइन र उत्पादन गर्ने योजना बनाएका छन् । उनको योजना लकडाउन नभएको भए अहिलेसम्म पूरा पनि हुन्थ्यो ।
‘म विदेशबाट कच्चापदार्थ ल्याउने योजनामा अघि बढेको थिए तर कोभिड र लकडाउनले अहिले स्थगित भएको छ,’ उनले भने ।
अहिले मनिषले र्याम्प नामक फेसबुक पेज मार्फत आफ्नो उत्पादनलाई बढी प्रबद्र्धन गरिरहेका छन् । मनिषका अनुसार दैनिक डिजाइन नभए पनि सातामा नयाँ–नयाँ कलेक्सन र उत्पादन भइरहेको छ ।
अब मनिष जाडो महिनाको कपडा डिजाइनमा व्यस्त भएका छन् । गर्मी सिजनका डिजाइन र उत्पादनलाई लकडाउनका कारण राम्रोसँग बजारमा पुर्याउन नपाएका मनिष जाडोयाममा आफ्नो डिजाइनलाई बजारमा पु¥याउन मिहिनेत गरिरहेका छन् । सुरुको वर्ष मानिसलाई नेपाली ब्रान्डबारे बुझाउन गाह्रो भए पनि अहिले र्याम्पका कपडाको डिमान्ड बढिरहेको छ ।
मनिष भन्छन्, ‘अबको योजना पूर्णरूपमा काठमाडौंमा मात्रै नभई नेपाली ब्रान्ड भनेर देशव्यापी रूपमा चिनाउने र गुणस्तरलाई नै बढी ध्यान दिने हो । उत्पादनलाई बढाएर नेपाली ब्रान्डका रूपमार्याम्पलाई स्थापित गर्ने एकमात्र उद्देश्यमा मनिष छन् ।
‘मेरो मुख्य योजना भनेको मानिसले विदेशी ब्रान्डको सट्टा त्यसको ठाउँमा नेपाली ब्रान्ड र्याम्प लगाएर हिँडुन भन्ने हो,’ उनले भने ।
र्याम्पले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइट पनि लञ्च गर्ने योजना बनाइरहेको मनिष बताउँछन् । ‘नेपालमा अझै वेबसाइटभित्र छिरेर हेर्ने र सामान अर्डर गर्ने ट्रेन्ड पूर्णरूपमा बसिसकेको छैन,’ उनले भने ।
र्याम्प खासगरी मनिषका दाइ डिडिस खड्गीले जुराएको नाम हो । नामाकरणका लागि लामो समय अड्किएको थिए । तर, दाइको दिमागमा र्याम्प आएपछि सोही नाम राखिएको मनिषले बताए ।
मनिष भन्छन्,र्याम्प ब्रान्ड लगाएर जसले पनि आफूलाई मोडल फिल गरोस्, त्यही भएर यसमा ग्ल्याम मिसाइएको हो ।’ र्याम्प ब्रान्डको कपडामा नायिका सुपुष्पाले पहिलोपटक लगाएर र्याम्पको स्टेजमा क्याटवाक गरेकी थिइन् । त्यसपछि धेरै सेलीब्रेटीले र्याम्प ब्रान्ड रोजिसकेका छन् ।
अहिले र्याम्पले बच्चाको लुगा, युवा समूहको लागि लेडिज र जेन्स आइटमका कपडा तयार गरिरहेको छ । मानिसलाई अवश्यक कुन–कुन कपडा हुन् पहिचान गरी सोहीअनुसार उत्पादन गर्ने योजना रहेको मनिष बताउँछन् । अहिले र्याम्पले स–साना बच्चाका लागि पनि तयार गर्न थालेको छ ।
र्याम्पको अहिले ललितपुरमा मात्रै एउटा सोरुम छ । तत्काल काठमाडौं उपत्यकामा नयाँ सोरुमा खोल्ने मोडमा भने मनिष छैनन् ।
‘नयाँ सोरुममा फोकस हुने बित्तिकै सामानको क्वालिटी घट्छ,’ उनले भने, ‘एउटा मात्रै सोरुमलाई फोकस गर्यो भने ब्रान्ड भ्याल्यु हुन्छ ।’
राम्रोसँग स्थापित भएर मात्र जनशक्ति बढाएर र्याम्पको काठमाडौंसहित पोखरा, धरान, नेपालगन्ज, बुटवल, नारायणघाट लगायतका सहरमा खोल्ने योजना रहेको मनिष बताउँछन् ।
अहिले र्याम्पले उत्पादन गरेका प्रोडक्टहरू अघिकतम मागहरू काठमाडौं बाहिरबाट नै आउने गरेको छ । धरान, झापा, बिर्तामोड, विराटनगर, चितवन, पोखरा लगायतका ठाउँबाट अर्डर आइरहेको मनिषले बताए ।
लुगा कटिङ गरी, नयाँ–नयाँ डिजाइन भर्नका लागि अहिले र्याम्पले ५ जना कर्मचारी राखेको छ । मनिषले कर्मचारी थप गरेर आक्रामक बजार विस्तार गर्ने योजनासमेत बनाएका छन् ।
आउटसोर्सिङबाट कर्मचारीहरू राख्दा डिजाइन, फिनिसिङ नमिलाउने समस्या आएको उनको भनाइ छ । ‘चिनियाँ ब्रान्डहरू सस्तो हुने भएकाले सुरु सुरुमा र्याम्पको मूल्य बढी भएको भन्ने गुनासो आउने गथ्र्यो अहिले ग्राहकले गुणस्तर बुझ्न थालेपछि त्यस्तो गुनासो नभएको उनी बताउँछन् । हाल र्याम्पमा डिजाइन भई तयार भएका कपडा ८५० देखि १० हजार मूल्यसम्मका छन् ।
तस्बीरः नाजिया श्रेष्ठ