बीबीसी । अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ। कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले अस्पतालमा भर्ना हुने सङ्ख्या बढिरहेको चेतावनी दिएका छन्। तर बिरामी ज्यान गएको दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ।
विशाल औषधि कम्पनीहरू एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनले नियामकहरूबाट खोप परीक्षण अनुमति पाएर पुनः परीक्षण गरिरहेका बेला पछिल्लो विवरण आएको छ।
विश्व स्वास्थ्य सङ्गठनले पनि उत्तरी गोलार्द्धका मुलुकहरू कठिन अवस्थामा रहेको चेतावनी दिएको छ। महानिर्देशक टेड्रोस एडहानमले सञ्चारकर्मीहरूलाई भने, आउँदा केही महिना असाध्यै कठिन छन् र केही मुलुकहरू खतरनाक बाटोमा छन्।
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्। शुक्रवारको सङ्ख्या यस अघिको सर्वाधिक सङ्ख्या जुलाई १७मा रहेको ७६ हजार ८ सय ४२ भन्दा ६ हजारले बढी छ।
गत एकहप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। जुन जुलाई यताको सबभन्दा धेरै साप्ताहिक सङ्ख्या हो। कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या पनि गत ६ दिनमा उल्लेख्य रूपमा बढेको छ। तर त्यो एप्रिलमा दैनिक २०००को मृत्यु भएको भन्दा कम छ।
अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दो छ। शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ मानिसहरूको अस्पतालमा उपचार भइरहेको छ।अमेरिकाको मध्यपश्चिम क्षेत्र सबभन्दा प्रभावित छ। नर्थ डेकोटा, मोन्ट्याना र विसकन्सिनमा सङ्ख्या अत्यधिक बढिरहेको छ।
आसन्न राष्ट्रपतिय चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने ओहायो राज्यमा अधिकारीहरूले तेस्रो दिनपनि अत्यधिक सङ्ख्यामा सङ्क्रमित फेला पारेको बताएका छन्।
इलिनोइ र इन्डियानामा पनि शुक्रवार अहिलेसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन्। त्यसैगरी दक्षिण पश्चिमी उटाहमा पनि अत्यधिक सङ्ख्यामा सङ्क्रमित पुष्टि गरिएको छ। उटाहका गभर्नर ग्यारी हर्बर्टले भाइरसले स्थानीय अस्पतालको क्षमतामा नराम्ररी प्रभाव पारेको बताएका छन्।
उनले भने यदि हामीले गम्भीर पाइला नचाल्ने हो र मास्क नलगाउने हो भने उपचार चाहिने सबैका लागि हामी सेवा उपलब्ध गराउन नसक्ने स्थितिमा पुग्न सक्छौँ।
नोभेम्बरको चुनावमा कोरोना भाइरस महामारी एक प्रमुख एजेन्डा बनेको छ। राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडनले बिहीवारको राष्ट्रपतिय बहसमा त्यसैबारे चर्काचर्की गरेका थिए।
दुवै उम्मेदवारले महामारी नियन्त्रणको भावी बाटोबारे फरक फरक धारणा प्रकट गरेका थिए। फ्लोरिडामा शुक्रवार आयोजित र्यालीमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई महामारी छिट्टै अन्त्य हुने बताएका थिए। ट्रम्पका मतदातालाई बाइडेनले भाइरसको डर देखाएर त्रस्त बनाउन खोजेको आरोप पनि ट्रम्पले लगाएका थिए।
बाइडनले डेलावेरमा आयोजित कार्यक्रममा महामारी नियन्त्रण गर्न नसकेको आरोप लगाएका थिए। आफूले जितेमा सबै राज्यमा मास्क अनिवार्य बनाउने राष्ट्रिय परीक्षण योजना कार्यान्वयन गर्ने र पीपीई यथेष्ट बनाउन लगाउने बताएका थिए।बाइडनले आफूले जितेमा खोप उपलब्ध भएपछि सबै अमेरिकीका लागि निःशुल्क बनाउने बताएका थिए।