काठमाडौं । असार सकिएर साउन पहिलो सातासम्म आइपुग्दा देशभर ६४ प्रतिशत मात्रै रोपाइँ भएको छ । १० दिन ढिला गरी सुरु भएको मनसुन पूर्ण रुपले शक्रिय हुन नसक्दा अपेक्षित रुपमा रोपाइँ हुन नसकेको देखिन्छ ।
हालसम्म (साउन ६) गतेसम्म मुलुकका सातओटै प्रदेशमा गरी ६४ मात्रै रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । केही दिनदेखि मनसुन सक्रिय हुन थालेपछि भने अहिले तराइ र मध्य पहाडका जिल्लामा रोपाइँ धमाधाम भइरहेको हो ।
गत वर्ष यसै समयमा ७७.७४ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षभन्दा १३.९५ प्रतिशत बिन्दुले कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी रोपाइँ कर्णाली प्रदेशमा करिब ९० प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा थोरै प्रदेश २ मा ५० प्रतिशत भएको छ ।
हालसम्म प्रदेश १ मा ५६.१३ प्रतिशत रोपाइँ भएको थियो । प्रदेश २ मा ५०.४८ प्रतिशत, प्रदेश ३ मा ६९.१८ प्रतिशत, गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत, प्रदेश ५ मा ६३.४८ प्रतिशत, कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८६.६२ प्रतिशत रोपाइ भएको मन्त्रालयले जनाएको छ ।
भौगोलिक अवस्थाअनुसार, उच्च पहाडमा ७५.०१ प्रतिशत, मध्यपहाडमा ७२.८७ र तराइक्षेत्रमा ६०.०२ प्रतिशत मात्रै रोपाइँ भएको छ । कुल १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुँदै आएको छ । त्यसमध्ये ८ लाख ७४ हजार ९४२ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले स्रोतको दाबी छ । गतवर्ष शतप्रतिशत रोपाइँ भएको थियो ।
ढिला रोपाइँ हुँदा धानको बीउ फस्टयाउन नसक्ने र राम्रोसँग बाली नलाग्ने समस्या हुने गर्छ । यसबाट उत्पादन कमी आउन सक्ने विज्ञहरुको भनाइ छ । गतवर्ष ५६ लाख २० हजार मेट्रिक टन धान उत्पादन भइ यसअघिको धान उत्पादनको रेकर्ड तोडिएको थियो ।
धान नेपालको प्रमुख बाली हो । यसले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा ७ प्रतिशत र कुल कृषिका क्षेत्रमा २० प्रतिशत योगदान दिँदै आएको छ । धान उत्पादन घटबढले अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरेको छ ।