काठमाडौं । मन्त्रिपरिषदले नै निर्णय गरी आन्तरिक एवं अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र विभिन्न प्रयोजनका लागि प्रयोग गरिएका कोठाहरूको भाडा ७५ प्रतिशत छुट दिने निर्णय अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
कोरोना भाइरस (कोभिड–१९) को कारण गरिएको लकडाउनका कारण व्यवसायनै बन्द भएको बेला विमानस्थल भित्र विमान कम्पनीले भाडामा लिएका कोठा, सञ्चालित फर्महरूलाई छुट दिने निर्णय असार २९ गतेको मन्त्रिपरिषदले निर्णय गरेको थियो ।
तर, विमानस्थलले भने अहिलेसम्म कुनै आधिकारिक पत्र नआएको भन्दै व्यवसायीहरूलाई पूरै भाडा मागिरहेको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता एवंम हेलि एभरेष्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) योगराज कँडेलले छुटपछि मिलाउला भन्दै पूरै भाडामा नयाँ सम्झौता गर्न विमानस्थलले दबाब दिइरहेको बताए ।
‘असारसम्मको भाडा अग्रिम बुझाइसकेकाले साउनदेखि नयाँ सम्झौता गर्दा पुरानो तिरेको घटाएर नयाँ मिलान गर्नुपर्ने हो, प्रवक्ता कँडेलले भने, विमानस्थलले माथिको आदेश नआएको भन्दै पूरै भाडामा सम्झौता गर्न भनिरहेको छ ।’
मन्त्रिपरिषदको निर्णयमा पसल/केवल, रेष्टुराँ/लाउन्ज, बैंक/मनिएक्सचेञ्ज सवारी पार्किङलगायत सेवा दिइरहेका फर्महरूलाई २०७६ चैत १ गतेदेखि लकडाउन खुलेको मितिपछि १ महिनासम्म कोठा/स्थानबहलमा ७५ प्रतिशतका दरले छुट दिने र सो अवधिसम्म त्यस्ता फर्महरूलाई जारी हुने बिलमा विलम्ब शुल्क उल्लेख छ ।
यति हुँदाहुँदै पनि विमानस्थलले भाडा छुट नदिएको व्यवसायीहरूको गुनासो छ । यो बेलामा कर्मचारीहरूलाई तलब खुवाउनै समस्या भइरहेको बेला राज्यले दिने भनेको छुटसमेत हामीले पाएका छैनौं, प्रवक्ता कँडेलले भने ।
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले चैत ११ देखि असोज ५ गतेसम्म छुट दिनुपर्ने बताए । बीच–बीचमा लकडाउन खोलिए पनि जहाज सञ्चालन असोज १ गतेदेखि मात्र भएकाले त्यो अवधिको भाडामा छुट दिनुपर्ने उनको भनाइ छ ।
यता विमानस्थलका महाप्रवन्धक देबेन्द्र केसीले कोठा भाडा छुट दिने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)बाट कुनै सर्कुलर जारी नभएकाले नियमअनुसार काम गरिरहेको बताए ।
अहिले व्यवसायीलाई नियमअनुसार भाडा तिर्न अनुरोध गर्दैै प्राधिकरणले सर्कुलर जारी गरेपछि भाडा फिर्ता दिने उनको भनाइ छ । यसैबीच विमानस्थलमा पार्किङ र ल्याण्डिङको भने छुट पाएका छन् ।