काठमाडौं । कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा गुल्मीका केही महिलाहरुले प्रमाणित गरेका छन् । उनीहरू सधैं रक्सी पार्ने र बेच्ने काम मात्र गथ्र्ये ।
तर, कुनै समय कोदोबाट बनाइएको रक्सी बेचेर साँझ बिहान छाक टार्दै आएका जिल्लाका सत्यवती गाउँपालिकाका–४ लिम्घाका मगर समुदायका महिला अहिले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।
गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्न कृषि अनुदानका कार्यक्रम पनि ल्याएको छ । रक्सी बनाएर बेचेपछि मात्र दैनिकी चल्ने सत्यवतीका महिला पशुपालनमा लागेर दूध उत्पादन गर्न थालेपछि गाउँपालिकाको योजनाले सार्थकता पाउनेमा शंका नभएको गाउँपालिकाले जनाएको छ ।
‘कृषकका लागि खोर सुधार गर्न १५ हजार, भकारो सुधार गर्न १० हजार साथै उन्नत जातका गाईभैंसी पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम गाउँपालिकाले अघि सारेको छ ।’
गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले भने । गाउँपालिकाले ल्याएको अनुदानका कार्यक्रम बेसहाराहरूका लागि सहारा बनेको अध्यक्ष ढकालको भनाइ छ ।
आजभोलि उनीहरू भैंसीको दूध बेच्ने गरेका छन् । ‘पहिले रक्सी पार्न जाँगर चल्थ्यो, अहिले पशुपालन र कृषिमा जाँगर चल्छ’ इन्द्रा रानाले भनिन्, ‘रक्सीको अवैद्य व्यापार र बजारीकरणको समस्याले भैंसी पालेँ अहिले दूध बेचेर राम्रो आम्दानी हुन्छ ।’ रानाले अहिले दूध बेचेर मासिक १० हजार रुपैयाँ बचत गर्छिन् ।
इन्द्रा जस्तै अहिले त्यस क्षेत्रका मगर समुदायका महिलाहरू रक्सी पार्न छाडेर भैंसीपालन गरी दूध बेच्न थालेका छन् । त्यस समुदायकी जयागाहा मगर पनि अहिले पशुपालनतर्फ लागेकी छिन् । ‘श्रीमान परदेशमा मजदुरी गर्नुहुन्छ, घर खर्च चलाउन मैले नै खर्च जुटाएकी छु’ जयागाहले भनिन्, ‘गाउँमा भैंसी पालेर कमाएको केही पैसा र श्रीमानले परदेशमा कमाएको पैसा बचत गर्न थालेकी छु ।’
उनीहरू जस्तै त्यस गाउँमा अधिकांश महिला अहिले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्दै गएका छन् । रक्सी पार्ने कामभन्दा निकै आनन्द र सुखको पेशा रहेको त्यहाँका महिलाहरूले अनुभव व्यक्त गरे ।
गाउँपालिकाको ६ नम्बर वडामा पनि श्रीमान् गुमाएकी एकल महिलाले दूध बेचेर नै ७ सन्तान हुकाउँदै छिन् । उनी पनि पछिल्लो समय पशुपालन र कृषितर्फ आकर्षित हुँदै गएको गाउँपालिकाले जनाएको छ ।
कृषि तथा पशुपालनमा अगाडि बढ्दै दूध बेचेर महिला आत्मनिर्भर त बनेकै छन् । साथमा गाउँपालिका दूधमा आत्मनिर्भर बन्नसमेत सफल हुन थालेको छ । ‘अहिले गाउँपालिकाबाट दैनिक २०० लिटर दूध बिक्रीवितरण हुने गरेको छ ।
पशुशाखा प्रमुख नारायण खनालले महिलाको यो कदमले घरेलु मदिरा नियन्त्रण हुनुका साथै गाउँपालिका दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको बताए । गाउँपालिकाले उत्पादनमा आधारित अनुदानसँगै कृषि उपजको बजारीकरणमा समस्या नहुने प्रतिबद्धता समेत जनाएको छ ।