कोभिड–१९ को असर र लकडाउनका कारण शून्यजस्तै भएको पर्यटन क्षेत्रलाई पुनः पुरानै लयमा फर्काउनका लागि सरकार र निजी क्षेत्रले योजना बनाउन थालेका छन् ।
सरकारले पदयात्रा र पर्वतारोहणका लागि कात्तिक १ गतेबाट विदेशी पर्यटकहरूलाई नेपाल आउन खुला गरेको छ । कोभिडका कारण थला परेको नेपालको पर्यटन उकास्न निजी क्षेत्र र सरकारी स्तरबाट थालिएको प्रयास, पर्यटन क्षेत्रमा सरकारको राहत र आगामी बाटोका विषयमा सांग्रिला होटलका प्रबन्ध निर्देशक एवम् स्कल नेपालका अध्यक्ष प्रवीणबहादुर पाण्डेसँग क्यापिटलका सुवास योञ्जनले गरेको कुराकानी :
कोभिड–१९ को असर र लामो समयको लकडाउनपछि कात्तिक १ गतेदेखि सरकारले अन्तर्राष्ट्रिय पर्यटनका लागि नेपाल आउन खुला गरेको छ । होटलहरूको बुकिङको अवस्था कस्तो छ ?
यसमा दुई पाटोबाट कुरा गर्नुपर्ने हुन्छ । सर्भाइभल र रिभाइभल । अहिले पर्यटन क्षेत्रको लिडिङ अर्गनाइजेसन पाटा र स्कल नेपालको सहकार्यमा सरकारसँग मिलेर काम गर्न एउटै समिति नै बनेको छ । हामी निरन्तर त्यसमा काम गरिरहेका छौं ।
मैले पाएको जानकारीअनुसार विश्वका धेरै मानिसहरू २०२० भरी कहीँ कतै घुम्न चाहँदैनन् । हामीले २०२० लाई शून्य वर्षको रुपमा लिएका छौं ।
अर्कोतर्फ नेपालमा विशेष गरी काठमाडौंमा कोरोना भाइरस नियन्त्रणमा आउन सकेकै छैन । जबसम्म भाइरस नियन्त्रणमा आउँदैन तबसम्म मान्छेले ट्राभल गर्न डराइरहेका हुन्छन् । आन्तरिकतर्फ पनि त्यही किसिमको समस्या छ । ग्रुपमा घुमघामका लागि जाँदा त्यही संक्रमण बढ्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
अहिले मान्छेहरूले नर्मलको रुपमा लिइरहेका छन् । सचेत कोही देखिएको छैन । त्यही भएर कडाइका साथ स्वास्थ्य प्रोटोकलहरू अपनाउन आवश्यक छ । सबै ठाउँमा स्यानिटाइज गरेर यहाँ भएका जीवाणुहरू मार्न आवश्यक छ । अहिलेकै अवस्था तत्कालै विदेशीहरू नेपालमा आउन सक्ने अवस्था देखिँदैन । विदेशबाट सोधपुछ भने भएको छ तर बुकिङ भएको छैन ।
केही पर्यटन व्यवसायीहरूले त नेपालमा आउन विदेशीहरू इच्छुक छन्, त्यसका लागि वातावरण सहज गरिदिनु प¥यो पनि भनिरहेका छन् नि ? के यो गलत हो ?
होइन, केही विदेशीहरू नेपाल घुम्न आउन आतुर देखिन्छन् । अहिले नेपाल घुम्न आउन चाहनेहरूमा (डीएमसी) भन्नाले डेस्टिनेसन म्यानेजमेन्ट कम्पनीका मान्छेहरू, जो टुर अपरेटरहरू, नेपाललाई धेरै माया गर्नेहरू आउन खोजिरहेका हुन् ।
उनीहरूले नेपालमा आएर यहाँको गन्तव्यहरू सुरक्षित छन् भनेर सन्देश दिने उद्देश्यले आउन लागेका हुन् । उनीहरूलाई नेपालकै ट्राभल एण्ड टे«कका साथीहरूले बोलाउन लागेका हुन् । त्यसैले यसमा सरकारले राम्रो साथ दिन आवश्यक देखिएको छ । अहिले सरकारले तत्कालै निर्णय नगर्दा उनीहरू पनि अन्यौलमा छन् ।
न्यू नर्मललाई ह्याभिच्युल बनाएर लैजान पर्यटनमा कतिको सम्भव छ । अहिलेकै अवस्थामा पर्यटकहरू आएर खुसी मनाउन सक्ने अवस्थाको कतिको सम्भावना देख्नुहुन्छ ?
यो भाइरस नेपालमा मात्र नभएर संसारभरि फैलिएको हो । पर्यटन क्षेत्रले नेपालमा कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा १५ प्रतिशतभन्दा बढी योगदान पुर्याएको हाम्रो दाबी छ । पर्यटनले धेरै क्षेत्रमा सहयोग पुगेको छ । तराईदेखि हिमालसम्म सञ्जाल विस्तार गरेको छ ।
अहिलेको अवस्थामा विकसित मुलुकले पर्यटनका लागि के गरिरहेको छ र छिमेकी मुलुकहरूले पनि कस्तो गरिरहेको छ भनेर हेर्न आवश्यक छ । विकसित मुलुकहरूमा व्यवस्थित क्वारेन्टाइन छ । त्यहाँ होटलहरूलाई नै क्वारेन्टाइनको रुपमा लिइएको छ । अहिले विस्तारै नेपालमा पनि सुरुवात भएको छ । घरमा सुरक्षित महसुस नहुनेहरूले होटल प्रयोग गरिरहेका छन् ।
अहिले चीनले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सबैलाई आफ्नै देशमा केन्द्रित गरेको छ । यो समयमा चीनमा लामो समय बिदा हुने भएकाले सबैलाई आन्तरिक गन्तव्यमा घुमघामका लागि छोडिएको छ ।
सिंगापुर सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि त्यहाँका घर–घरमा होटलहरूको प्याकेजका बारेमा जानकारी पत्र पठाइरहेको छ । पर्यटन प्रवद्र्धनका लागि चीन र सिंगापुरमा सरकारले सहयोग गरिरहेको छ । त्यो किसिमको सहयोग नेपालले पनि गर्न आवश्यक छ । न्यू नर्मललाई केही हदसम्म आत्मसाथ गरेर अगाडि त बढ्नुपर्छ ।
चीन, सिंगापुर, दुबई लगायतका मुलुकले पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गरिसके । उनीहरूले ४८ देखि ७२ घन्टाको पीसीआर रिपोर्टको आधारमा पर्यटकलाई भित्राउन थालेका छन् तर यहाँ सरकारले ७ दिनको क्वारेन्टाइनको कुरा गरेको छ । यो विषयमा हेर्दा नेपाल त्यसका लागि पछाडि परेको देखिन्छ । यसमा तपाइंहरूकै चासो कम भएको हो कि ?
हो । अहिले दुबईमा सबैभन्दा बढी पर्यटकहरू जान थालेका छन् । भारतीयदेखि नेपालीहरूसमेत त्यहाँ गएका छन् । अहिले आईपीएल चलिरहेको छ । ७२ घण्टाको पीसीआर रिपोर्टको आधारमा पर्यटकहरूले निर्धक्क रुपमा त्यहाँ घुम्न पाइने व्यवस्थाले धेरैलाई आकर्षित गरेको देखिन्छ ।
अहिले स्कल नेपाल सहितका पर्यटन क्षेत्रका संघ–संस्थाहरूले सरकारलाई विश्वका जुनसुकै मुलुुकका व्यक्तिहरू नेपाल आउन चाहेमा ७२ घण्टाको पीसीआर रिपोर्ट ल्याएर आउन पाउने व्यवस्था गर्न सुझाव दिएका छौं ।
त्यसमा पनि सरकारले चाहेमा विमानस्थलमै पुनः कोरोना टेस्ट गराउने र तत्कालै रिपोर्ट दिने व्यवस्था गर्न सकेमा पर्यटन क्षेत्रका लागि धेरै राम्रो हुने देखिन्छ । सरकारले पनि यो विषयमा अध्ययन गरिरहेको छ भन्ने बुझिएको छ ।
कोभिडपछिको पर्यटन पुनर्उत्थानका लागि सरकारको तयारी बलियो नदेखिएकै हो ?
सरकारको आफ्नै समस्या छ । उसको धेरै पाटोहरू छन् । पहिलो भनेको नागरिकको स्वास्थ्य नै । त्यसैले यसतर्फ बढी ध्यान गएको देखिन्छ ।
पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि विभिन्न मापदण्डहरू बनाएको देखिए पनि त्यसलाई प्रभावकारी मात्र हुन नसकेको हो । त्यसमा निजी क्षेत्रले सुझाव दिइरहेको छ । त्यो सुझावलाई सरकारले आत्मसाथ गरेर नयाँ निर्णय लिनेमा हामी विश्वस्त छौं ।
सेफ्टी प्रोटोकलहरू प्रयोग गर्दा होटलको खर्च बढेको छ । त्यसमाथि कोभिडले होटल क्षेत्र थलिएको छ । लागत पनि बढेको छ । यसलाई कसरी समायोजन गर्नहुन्छ ? यस्तो बेला सरकारको राहत र साथलाई कसरी हेर्नुहुन्छ ?
समायोजन त हुँदैहुँदैन । ‘लस इज लस’ । घाटाको पूर्ति भनेको नाफा कमाएरै हो । संसारका विभिन्न मुलुकले यस्ता महामारी र विपतिमा भएका घाटाहरूलाई सरकारले राहत दिने गरेको हुन्छ ।
त्यहाँका सरकारहरूले बैंकहरूलाई व्यवसायीलाई पर्याप्त समय दिन सर्कुलर जारी गरेको हुन्छ । आर्थिक अवस्था बलियो भएको सरकारले निश्चित आर्थिक प्याकेजनै दिएको हुन्छ भने अरु देशले बैंकमार्फत व्यवसायीलाई सहुलियत दिएका हुन्छन् । थाइल्याण्ड, जर्मन लगायतका मुलुकमा व्यवसायीलाई क्यास नै सहयोग गरिरहेका छन् । जसको कारण आर्थिक चलायमान हुन्छ ।
नेपालको कुरा गर्दा यो हुँदैन भनेर हामीलाई पहिला नै थाहा भइसकेको छ । बजेटमा आएको पर्यटन पुनर्उत्थानका लागि ५० अर्बको कोषको लागि समेत पैसा छैन भन्ने सुनिएको छ ।
त्यो कोषबाट केही व्यवसायीले मात्र रकम लिएको सुनिए पनि धेरैले त्यसको सदुपयोग गर्न पाइरहेका छैनन् ।
त्यसो भने होटल क्षेत्रको पुनर्उत्थानका लागि सरकारको अहिलेको प्रयास पर्याप्त देखिएन ?
देखिएन । अहिले त होटलका लागि गर्नुपर्ने झिनामसिना कामहरूसमेत सरकारले गरेको देखिँदैन । होटल क्षेत्रको पुनर्उत्थान गर्नका लागि अवको दुई वर्षभित्रमा २० लाख होइन ३० लाख पर्यटक नेपालमा ल्याउन सक्नुपर्छ । जब, भाइरसको संक्रमण कम हुन्छ, त्यसको एक वर्षपछि त्रिभुवन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पूर्णरुपमा सञ्चालन गरी ३० देखि ४० लाख पर्यटक नेपालमा ल्याउन सकियो भने मात्र तत्कालै रिकभर हुनसक्छ । नभए होटल क्षेत्रमा प्रतिमहिना १ देखि २ अर्बसम्म घाटा भइरहेको हुन्छ ।
अहिले १० लाख र १३ लाख पर्यटक आउँदा खुसी हुन्छौं । तर, त्यसमा विदेशी नियोगका कर्मचारीदेखि एक दिन बोर्डर पार गरेर आएकाहरूको संख्यासमेत गणना भएको हुन्छ । त्यसैले बास्तविक पर्यटक अझै आउन र ल्याउन बाँकी छ । नम्बर हेर्दा धेरै छ तर, योगदानी कम छ । त्यसैले बास्तविक पर्यटक र कामका लागि आउने पर्यटकहरू छुट्याउन आवश्यक छ ।
निर्माणाधीन होटलहरू र सञ्चालनमा आएका होटलहरूको लगानी त जोखिममा देखिएको छ । सरकारले राम्रो खालको प्याकेज नल्याउँदा व्यवसायीहरूको मनोबल उठ्दैन होला नि ?
मनोबल उठ्ने त कुरै भएन । हाम्रै साथीहरूसँग कुरा गर्दा अहिले नै २ देखि ३ सय होटल बन्द गरेर अरु नै व्यवसायमा लगाउने कि भन्ने सोचमा पुगिसक्नु भएको छ ।अहिलेको अवस्थामा त्यसलाई बचाउने कुनै उपाय नै देखिँदैन । होटल भनेको यस्तो उद्योग हो, एक पटक बन्द गरेपछि सञ्चालनका लागि धेरै खर्च लाग्छ ।
सरकारले तपाईंहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार वा पर्यटन विभागले बनाएको कार्यविधिअनुसार सञ्चालन गर्न हानलाई सर्कुलर गरेको छ भन्ने सुनिन्छ । महामारीले किस्ता तिर्नै मुस्किल भइरहेको बेला मापदण्ड पूरा गर्न बाध्यता छ, यसमा कस्तो समस्या छ ?
कार्यविधि ल्याउने बित्तिकै सञ्चालनमा लगिहाल्नुपर्छ भन्ने छैन । तर, धेरै साथीहरूले यो विषयमा बुझिसक्नु भएको छ । मापदण्डलाई सबैलाई फलो गरिरहनु भएको छ । होटलहरू रेस्टुराँ त होइन नि । तर, होटलहरूले पनि रेस्टुराँको व्यापार गरिरहेको छ, होटलको मुख्य व्यापार त कोठा र ब्याङ्केट हो नि ।
कोभिडको कारणले सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि धेरै भीडभाड गर्न मिल्दैन । त्यसैले कार्यविधिले होटलको रेभिन्यूलाई कुनै असर गर्दैन् । रेस्टुराँको गतिविधि गर्ने होटलहरूले आफ्नो आम्दानीको १० प्रतिशतभन्दा बढी रेभिन्यू गर्न सकिरहेको छैन ।
असोज मसान्तबाट बैंकहरूले फेरि दबाब सुरु गर्छन् । कतिले चैतदेखिकै किस्ता तिरेका छैनन् भने कतिले असारदेखि तिरेका छैनन् । उनीहरूलाई बैंकले च्याप्ने वातावरण नबनाउन हानले राष्ट्र बैंकसँग कस्तो लबिङ गरेको पाउनुभएको छ ?
अहिले नेपाल राष्ट्र बैंकसँग यो विषयमा निरन्तर छलफल गरिरहेका छौं । कुनै उद्योगले तिर्नै सक्दैन भने धेरै च्यापेर केही उपाय नै हुँदैन । आम्दानी नै नभएको क्षेत्रलाई धेरै दबाब दिँदा रोजगारीलाई समेत असर पर्न सक्छ । त्यसैले व्यवसायी, बैंक र कर्मचारी बच्ने गरी अगाडि बढ्न आवश्यक छ ।
सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि देशदर्शनको कार्यक्रम बजेटमा ल्याएको छ । महामारीको बीचमा व्यवसायीहरूलाई बचाउन कस्तो किसिमको प्याकेजहरू आवश्यक पर्छ ?
पाटा नेपाल र स्कलले देशदर्शनका लागि सरकारलाई सुझाव दिइरहेको छ । नयाँ लोगो केही समयअघि मात्र सार्वजनिक भएको छ । स्कल नेपालबाटै आन्तरिक पर्यटनलाई चहल पहल गर्न बढी फोकस काम भइरहेको छ । चितवन, पोखरा, लुम्बिनी, नगरकोट, धुलिखेललाई बढी फोकस गरिरहेका छौं । प्रदेश सरकारसँग समन्वय गरेर नेपाल पर्यटन बोर्डले काम गरिरहेको छ ।
पर्यटकको बसाइँ लम्बिन नसक्नुमा होटलको पनि हात छ भन्ने छ ? यसमा तपाईंको धारणा के छ ?
अवश्य हो । यसका लागि नेपालका विभिन्न क्षेत्रमा सुविधासम्पन्न होटलहरू निर्माण हुन आवश्यक छ । जहाँ राम्रो होटल छ, पर्यटक त्यहाँ केही दिन बढी बसेकै हुन्छन् । काठमाडौंको धुलोधुवाँको कारण पनि पर्यटकहरू यहाँ आएर धेरै दिन बस्न रुचाउँदैनन् ।
पहिले–पहिले कल्चरल(साँस्कृतिक) टुर भनेर आउने गथ्र्ये । काठमाडौंका मठमन्दिरहरू घुम्ने, त्यसमा पनि भक्तपुर, काठमाडौं र कीर्तिपुरमा एक÷एक दिनमा हेर्ने गरी त्यहाँ कल्चरल(साँस्कृतिक) भिलेज हुनुप¥यो । कल्चर मात्र भएर भने कल्चरल प्याकेज पनि हुनुप¥यो ।
थाइल्याण्डको रोयल म्युजियममा जाँदा होस् या ग्राण्ड प्यालेसमा जाँदा त्यहाँका टुर अपरेटरले एक ठाउँमा मात्र लैजाँदैन । त्यहाँको विभिन्न ठाउँमा लगेर एक दिन लगाउँछन् ।
तर, काठमाडौंमा तीन÷चारवटा गन्तव्यमा एकैदिनमा घुमाएको देखिन्छ ।
यो किन भइरहेको छ भने हाम्रा नगरपालिकाहरूले पनि पर्यटकलाई स्वीकार गर्नुपर्छ । पर्यटकबाट शुल्क मात्र उठाउने होइन, त्यसका लागि आवश्यक पूर्वधारहरू पनि निर्माण गरिदिनुपर्छ ।
पर्यटकीय गन्तव्यहरूमा सुविधासम्पन्न होटल र रेस्टुराँहरू निर्माण गर्न दिनुपर्छ । मान्छेहरू घुम्न जाँदा लुकेर खान मान्दैनन्, उनीहरू खुला ठाउँमा बसेर मनोरम दृश्यहरू हेर्न रुचाँउछन् । त्यसका लागि स्थानीय सरकारले सहकार्य र समन्वय गरिदिन आवश्यक छ ।
होेटलहरू सार्वजनिक रुपमा सेयर निष्कासन गर्न चाहँदैनन् । पब्लिक कम्पनी भएपछि पारदर्शी हुनुपर्छ भन्ने डरले हो ?
हैन, यसमा कुनै पारदर्शीको कुरा छैन । पब्लिकमा गएपछि पब्लिकसँग जवाफदेही हुनुप¥यो । होटलमा बेला–बेलामा केही न केही बाधा अड्चन र समस्याहरू आइरहेको छ । भूकम्प होस् वा नाकाबन्दी र अहिले कोरोना भाइरसको कारण धेरै समस्याहरू आइरहेको छ । त्यसलै ठूला लगानी भएको ठाउँमा पब्लिकलाई साथमा लिएर जाँदा ठीक हुन्छ ।
किनभने सेयर जारी गरेपछि नाफा बाढ्नुपर्छ । त्यसका लागि आवश्यक लगानी बाहिरबाट आवश्यक नै पर्दैन बैंकले नै गरिरहेको छ भने सेयर जारी गर्न आवश्यक छैन ।
बैंकले लगानी गर्न सकेन वा लगानीकर्ताहरूले पब्लिकको साथ आवश्यक ठान्यो र ठूला प्रोजेक्टहरूमा भने सेयर जारी गर्न आवश्यक छ । यसरी हेर्दा नेपालका ठूला होटलहरू त पब्लिक पार्टनरसिपमै छन् नि ।
धितोपत्र बोर्डले प्रिमियममा सेयर जारी गर्ने बाटो पनि खुला गरेको छ । तर, होटलहरूले यसप्रति किन चासो देखाएको पाइँदैन ?
होइन, यसमा होटलले चासो देखाउने समय गलत भएर हो । किनभने जुन बेलामा सेयर जारी गर्ने बाटो खुल्यो त्यो बेलामा लगानी गर्ने र लगानी बढाउने वातावरण नभएरै हो ।
जुन बेलामा नेपालमा सबैभन्दा बढी पर्यटक १३ लाखको हाराहारीमा आयो भनियो, यो डाटा नै गलत छ । हुन् त, मैले गलत भनेर पुष्टि गर्न त्यस किसिमको तथ्यांक त छैन, तर जहाँसम्म हामीले गरेको अनुभवमा यो कहीँ पाएका छैनौं । विमानस्थलमा आएका खास पर्यटक १० लाख मात्र आउने हो भने पनि यहाँका होटलहरू भरिन्छन्, त्यो बेलाको संख्यामा हामीले कुनै अनुभव गर्न पाएनौं ।