काठमाडौं । बिस्कुट र ठूला होटल सञ्चालकप्रति ‘नेगेटिभ’ बनेका कृषिमन्त्री चक्रपाणि खनालले झोल दूधको आयात खुला गरिदिएका छन् । मन्त्री खनालले साउन १ गतेबाट झोल दूध (कच्चा) ल्याउन बाटो खोलिदिएका हुन् ।
तारे होटलका सञ्चालक, बिस्कुट तथा आइसक्रिम उद्योगीले कृषिमन्त्री खनाललाई पटक–पटक धूलो दूध आयात खुला गर्न गरेको आग्रहलाई बेवास्ता गर्दै आएका थिए ।
स्वदेशी डेरी उद्योगले गुणस्तरीय धूलो दूध बनाएर दिन नसकेपछि होटल सञ्चालकले तत्काल विदेशबाट आयात अनुमति दिन आग्रह गरेका थिए ।
अहिले केही डेरी उद्योगले भारतबाट झोल दूध आयात खुला गर्न भनेपछि मन्त्री खनालले ४५ दिनका लागि मात्रै खुला गरेको स्रोतले बताएको छ । धूलो दूध बनाउने कारखाना सुजलले ४० हजार लिटर झोल दूध ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
कृषिमन्त्री खनालको मौखिक निर्देशनमा झोल दूधको माग पूरा गर्न स्वदेशमै पाउडर उत्पादन गर्ने हेतुले क्षणिक समयका लागि कच्चा दूधको आयात खुलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।
स्किम्ड मिल्क पाउडर (एसएमपी)को आयात खुलाउँदा उद्योगीले आवश्यकभन्दा बढी स्टक ल्याउन सक्ने भएकाले अपुग धूलो दूध बनाउन ४५ दिनका लागि मात्रै आयात खोलिएको बताए ।
‘पाउडर खुला गर्दा सस्तो पर्ने गर्छ । त्यसमा पनि डेरी उद्योगले आवश्यकभन्दा बढी एसएमपी ल्याइदिने सम्भावना हुन सक्छ,’ उनले भने, ‘त्यसो हुँदा किसानको दूध बिक्री हुँदैन । हामीलाई धेरै अपुग छैन । कच्चा दूध नै आयात गरेर पाउडरमा कन्भर्सन गर्दा उपयुक्त देखेर केही समयलाई सहज गरिएको हो ।’
क्षणिक समयका लागि अपुग दूधको मागअनुसार नै कच्चा दूध खुलाउनु सकारात्मक रहेको दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले बताए ।
‘कुन कुन समयमा कति मात्रामा स्वदेशी दूधको अभाव हुन्छ, त्यही समय र परिमाणमा मात्रै कच्चा दूध आयात हुँदा कुनै असर पुग्दैन,’ उनले भने, ‘पाउडर दूध आयात गर्नुभन्दा कच्चा दूध ल्याएर यहाँका उद्योगले पाउडर उत्पादन गर्न सक्छन् ।’ उनले कच्चा दूध आयातमा कृषिमन्त्रीको निर्देशन स्वागतयोग्य रहेको बताए ।