काठमाडौं । खुल्ने वा नखुल्ने केही निधो नहुँदा बिहीबारसम्म केही टुंगो दिन सकिएको थिएन, शुक्रबारबाट हामी ढुक्क भएका छौं अब बन्द नहुने रहेछ, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)का महासचिव सरिता लामाको भनाइ हो ।
करिब ७ महिनापछि अर्थात अक्टोबर १७ बाट विदेशी पर्यटकहरूलाई नेपाल आउन खुला गर्ने यस अघिको सरकारको निर्णय कतिलाई पत्यार लागेको थिएन ।
पत्यार लागोस् पनि किन, दैनिक रुपमा कोरोना भाइरसको संक्रमितहरूको संख्या बढिरहेको र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पनि २५ हजार क्रियाशील संक्रमित पुगेपछि लकडाउन गर्न सरकारलाई सिफारिस गरेको विषय सार्वजनिक गरेपछि व्यवसायीहरू थप त्रासमा परेका थिए ।
सरिता मात्र हैन, धेरै व्यवसायीहरू पर्ख र हेरको अवस्थामा थिए । सरकारी निर्णयको भर नहुने भन्दै उनीहरू अन्तिम समयसम्म पनि विदेशीहरूलाई नेपालमा ल्याउने टुंगोमा पुगिसकेका थिएनन् । जब, बिहीबार पर्यटन विभागले पाँच टिमलाई नेपाल आउन भिसा सहजीकरणका लागि सिफारिस गरे तब, धेरै व्यवसायीहरू ढुक्क भए ।
व्यवसायीहरूका अनुसार आइतबारबाट विदेशीहरू नेपाल आउने छन् । सरकारले पहिलो चरणमा पदयात्रा र पर्वतारोहणका लागि खुला गरेको छ । ती ठाउँहरूमा मानिसको बाक्लो भीडभाड नहुने भएकाले जोखिम कम हुने देखिएकाले त्यस क्षेत्रलाई पहिलो चरणमा खुलाएको हुन सक्ने विभागका निर्देशक मीरा आचार्यको भनाइ छ ।
सुरुमा ७ दिनको क्वारेन्टाइनले व्यवसायीहरू केही हिचकिचाए पनि पछि पर्यटकहरूका लागि बुकिङ सुरु गरेको उनको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकहरूका लागि पछिल्लो ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा नेपाल प्रवेश गर्न दिने प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि कुनै निर्णय हुन सकेको छैन ।
अहिले विदेशीहरू नेपालमा आउन चाहे पनि क्वारेन्टाइनको अवधि लामो भएको प्रतिक्रिया दिइरहेको व्यवसायीहरूको भनाइ छ ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले युरोप र अमेरिकाबाट पर्यटकहरू नेपाल आउन थालेको बताए । सगरमाथा बेस क्याम र अन्नपूर्ण बेस क्याममा पदयात्राका लागि ती पर्यटकहरू आउन लागेको उनको भनाइ छ । उनीहरूको आगमनले थला परेको नेपालको पर्यटनमा नयाँ उत्साह र जोस थप्न सहयोग गर्छ, अध्यक्ष सुवेदीले भने ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले संकटकाबीच पर्यटन क्षेत्र खुला गरेर विश्वमा नयाँ सन्देश दिएको बताए ।
अब छिट्टै क्वारेन्टाइनको अवधि हटाएर सहज रुपमा विदेशीहरूलाई नेपाल आउने वातावरण बनाउन सके व्यवसायीहरूलाई केही मात्रामा राहत पुग्ने उनको विश्वास छ ।
५ हजार अमेरिकी डलरको बिमा अनिवार्य
नेपाल आउने विदेशी पर्यटकहरूले अनिवार्य रुपमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरको बिमा गर्नुपर्ने छ ।
सरकारले बनाएको स्वास्थ्य प्रोटोकलअनुसार ७ दिनको क्वारेन्टाइनसहित बिमाको व्यवस्था अनिवार्य गरेको हो । योसँगै पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ ।