काठमाडौं । नेपाली बजारमा एसयूभी एमजी जेडएस गाडीको प्रि–बुकिङ खुल्ला भएको छ ।
नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रि–बुकिङ खुल्ला गरेको हो । नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको छ ।
प्रिमियम विशाल तथा आरामदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका छन् । यसमा ३ वटा ड्राइभिङ मोडहरु रहेका छन्, जसले गर्दा डाइभरहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् ।
विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ ।
एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।
नयाँ एसयूभी एमजी जेडएसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ । सो मूल्यमा ७ किलोवाट एसी चार्जरको मूल्य पनि समावेश गरिएको छ । ग्राहकहरुले १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् ।
सो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ ।
सरकारले विद्युतीय गाडी आयातमा लाग्दै आएको अन्तशुल्क ८० प्रतिशतसम्म घटाएपछि कम्पनीले यो गाडी भित्र्याउने भएको हो । गाडी भित्र्याउन कम्पनीले एलसीसमेत खोलिसकेको छ ।
नेपालमा हुन्डाई र कियाले इलेक्ट्रिक बिक्री गरिरहेका थिए । तर, सरकारले विद्युतीय गाडीमा सकारले कर बढाए पछि उनीहरु एमजीसँग प्रतिस्पर्धामै उत्रिन नसक्ने भएपछि गाडी नै मगाएका छैनन् ।