काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित व्यवसायीलाई पोस्नका लागि ‘डियुटी पेड’ पसलका लागि टेन्डर आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्तया ‘डियुटी फ्रि’ पसल सञ्चालन हुने भए पनि सीमित व्यक्तिलाई नै टेन्डर पर्ने शर्तहरुसहित क्यानले डियुटी पेड पसलको लागि टेन्डर आह्वान गरेको हो ।
करयुक्त सामान बिक्रीका लागि क्यानले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तलाको २२१३९ वर्गमिटर क्षेत्रफल भाडामा लगाउन खोजेको हो । तर, त्यसमा मदिरा पसल मात्र रहने गरी टेन्डर आह्वान गरिएको छ ।
क्यानले असोज ६ गते टेन्डर आह्वान गर्दै मदिराका लागि भाडामा लिनेहरुले ५ वर्षदेखि निरन्तर व्यवसाय गरिरहेर अन्तःशुल्क तिरिरहेको हुनुपर्ने शर्त राखेको छ । यो शर्तले नयाँ व्यवसाय गर्न खोज्ने वा पाँच वर्षभन्दा पछि व्यवसाय गरेकालाई बन्देज गर्न खोजेको छ ।
तोकेरै एउटा व्यवसायीलाई दिनका लागि शर्तहरु राखिएको छ, एक व्यवसायीले क्यापिटल नेपाललाई बताए । ‘नत्र बढी भाडा दिन्छुभन्दा अर्काेले नपाउने पनि देखियो,’ उनले भने । क्यानलाई भाडासँग सम्बन्ध हो कसले कति वर्षदेखि अन्तःशुल्क तिरेको छ भनेर किन शर्त राख्नु उनले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डियुटी फ्रि पसल बाबुराम भट्टराई अर्थमन्त्री हुँदा हटाएका थिए । एयरपोर्टमा आएर विदेशी रक्सी किनेको र बाहिर बिक्री नभएको व्यवसायीहरुले गुनासो गरेपछि त्यसैको दबाबमा परेर भट्टराई एयरपोर्टमा डियुटी फ्रि पसल बन्द गराएका थिए ।
रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा एयरपोर्टलाई बुटिक बनाउने र डियुटी फ्रि पसल सञ्चालनमा ल्याउने योजना बनाएका थिए ।
हालका पर्यटनमन्त्री योगेश भट्टराईले पनि एक वर्षअगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डियुटी फ्रि पसल सञ्चालनका लागि विमानस्थल प्रशासनलाई तयारी गर्न निर्देशनसमेत दिएका थिए । उनले त्यो बेला डियुटी फ्रिका लागि सामानहरुको सूची बनाएर प्रस्ताव पेश गर्नसमेत निर्देशन दिएका थिए ।
तर डियुटी फ्रि पसलको तयारी नगरी क्यान र विमानस्थल प्रशासनले डिपार्चर क्षेत्रमा डियुटी पेडका लागि टेन्डर आह्वान गरेको हो ।
विमानस्थल प्रमुख देवेन्द्र केसीले अराइभल क्षेत्रका लागि मुद्दा परेको हुनाले अहिले डिपार्चर क्षेत्रमा रहेको खाली ठाउँका लागि टेन्डर आह्वान गरिएको बताए । ‘डियुटी फ्रि अराइभल क्षेत्रमा मात्र हुन्छ, डिपार्चरमा डियुटी पेड नै हो,’ उनले दाबी गरे ।
तर, १२ वर्षअगाडि अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल र डिर्पाचर दुवै क्षेत्रमा डियुटी फ्रि पसल सञ्चालनमा थिए ।
‘मन्त्री भट्टराईलाई समेत गलत सल्लाह दिएर अहिले विमानस्थलमा डियुटी पेड पसल सञ्चालनका लागि टेन्डर आह्वान गरिएको छ, यसले पछि पनि असर पार्छ,’ क्यानका एक अधिकृतले क्यापिटल नेपाललाई बताए ।