काठमाडौं । रोजगारीका लागि आकर्षक गन्तव्य कोरियामा जान सबै प्रक्रिया पूरा गरिसकेका ९ हजार नेपाली युवाहरु अहिले अलपत्र परेका छन् ।
सुरुमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण बढीरहेको कारण जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले रोजगारीका लागि विदेशमा पठाउन नसकिएको जवाफ दिँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अहिले भने बिमाको विषयमा अलमलिएको छ ।
लकडाउनकै बीचमा कोरियाले नेपाली कामदारहरुलाई पठाउन अनुरोध गरेको थियो । त्यहीअनुसार तयार भएका कामदारहरुलाई अन्तिममा उडान अनुमति नदिएर रोकेपछि कोरिया नेपासँग बिच्कीएको छ ।
अहिले श्रम मन्त्रालयले कामदार त्यहाँ पठाउन ताकेता गरिरहेको छ । कोरियाले अहिले नयाँ प्रावधान ल्याएको छ, त्यो हो, कोरोना भाइरस संक्रमण बिमा । उसले १० लाख रुपैयाँको बिमा अनिवार्य गरेर आउनु पर्ने प्रावधान राखेको छ ।
श्रम मन्त्रालयका सचिव तोयम रायमाझीले कोरिया आउने कामदारहरुले कोरोना लागेमा आफैंले उपचार गर्न सकून भन्ने उद्देश्यले प्रतिव्यक्ति १० लाख रुपैयाँको बिमाको प्रस्ताव पठाएको बताए । नेपालमा कोरोना बिमा बढीमा १ लाख रुपैयाँसम्मको मात्र छ ।
कोरियाले पठाएको प्रस्तावमा बिमाको विषयमा स्पष्ट नभएको उनले बताए । ‘कोरियामा जाँदा मात्र वा त्यो बिमाले कामदार त्यहाँ रहँदासम्म कभर गर्ने हो भन्ने स्पष्ट हुन सकेको छैन, सचिव रायमाझीले क्यापिटल नेपालसंग भने, यो विषयमा हामी निरन्तर छलफलमा छौं, केही समयभित्रै निर्णय आउन सक्छ’ ।
१० लाख रुपैयाँको बिमाको प्रस्ताव आएपछि श्रम मन्त्रालयले पनि कोरियालाई नेपालले १५ दिन होटलमा राख्ने र पीसीआर परसीक्षण गराएर पठाउने मौखिक प्रस्ताव पठाएको छ । उसले यो विषयमा कुनै जवाफ नदिएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार दाहालले यदि कुनै कामदारले १० लाख रुपैयाँको बिमा गर्न सक्छन् भने तिनीहरुलाई रोजगारीका लागि पठाउन सकिने बताए ।
यदि कोरियाले १० लाखको बिमाको अडानलाई छोडेन भने नेपालका कम्पनीहरुले यो रकम बराबरको बिमा गर्ने व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । ‘यसका लागि बिमा समितिसँग पनि छलफल गर्न लागिएको छ,’महानिर्देशक दाहालले भने ।