बीबीसी । नेपाल र भारतबीच सातामा केही दिन हवाई उडान सुरू गर्नेबारे प्रस्ताव अगाडि सारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पनि सकारात्मक देखिएको उक्त प्रस्तावबारे अब मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ।
गत चैत ११ गतेदेखि नेपालभरि लकडाउन गरिएसँगै बन्द गरिएका हवाई उडानमध्ये आन्तरिक र केही देशको हकमा अन्तर्राष्ट्रिय उडान पनि सुरू भइसकेका छन्। धेरै मानिसको ओहोरदोहोर हुने दक्षिणी छिमेकी देश भारतसँगको हवाई उडान भने हालसम्म पुनः सुरू हुन सकेको छैन।
तर हालका लागि सीमित सङ्ख्यामा उडान गर्न दिने पक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय देखिएको छ।
मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछानेले भने, विन्डोको हिसाबले हप्तामा तीन चारवटा उडान खोलौँ कि भन्ने हाम्रो इच्छा छ। जोखिमअनुसार जनस्वास्थ्यसम्बन्धी सावधानीमा कडिकडाउ त गर्नैपर्छ।
तर, उडान पनि अब खोल्दै जानुपर्छ भन्ने मन्त्रालयको धारणा हो। हामीले सीसीएमसीमा प्रस्ताव गरेका छौँ त्यहाँ पनि छलफलमा सकारात्मक कुरा आएको छ। अब मन्त्रिपरिषद्ले छिट्टै निर्णय गर्छ भन्ने हाम्रो अपेक्षा छ।
धेरै भीडभाड हुने समयमा नेपाल र भारतबीच दुईतर्फी गरेर दैनिक २० वटासम्म उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नेपाल र भारत दुवै देशमा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहँदा उडान शुरू गरिए सङ्क्रमण फैलने दृष्टिकोणले चुनौती थपिने हो कि भन्ने आशङ्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू व्यक्त गर्छन्।
दुई छिमेकी देशबीच हवाई उडान पुनः शुरू गर्नेबारे निर्णय गर्दा जनस्वास्थ्यसम्बन्धी मापदण्डमा कडिकडाउ गर्ने विषयमा पनि थप निर्णय गरिनुपर्नेमा उनीहरूको जोड छ।