काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को कारण दैनिक गुजारानै सञ्चालन गर्न समस्या भइरहेको बेला वातावरण संरक्षण सिविर(एक्का)नेपालले चितवनमा रहेको चेपाङ बस्तिमा खाद्य तथा सरसफाईका सामाग्रीहरु वितरण गरेको छ ।
कोभिडका कारण ज्याला मजदुुरी समेत गर्ने वाटो बन्द भएपछि समस्यामा परेका चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर १३ का सबै परिवारलाई सामाग्रीहरु वितरण गरिएको हो ।
प्रभावहरुको न्यूनिकरणका लागि एक्काले वडा नम्बर १३ मा रहेको सम्पूर्ण ६४७ घरधुरीहरुलाई खाद्य सामग्री र हातधुने सुबिधा तथा शौचालयका लागि सरसफई सामग्रीहरू वितरण गरेको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले जानकारी दिए ।
एक्काले दिएको खाद्य सामग्रीहरुमा २५ केजीको १ बोरा सोना मन्सुली चामल, १केजी नुन, १केजी गेडागुडी, १केजी दाल, १ धार्नी आलु र १ लिटर तेल तथा सरसफाइको सामाग्रीहरुमा १५ लिटरको १ वटा बाल्टिन, १ वटा सानो जग, १ वटा रुमाल, १ वटा शौचालय सफा गर्ने ब्रस ६ वटा माक्स र ६ वटा डिटोल साबुन प्रत्येक घरधुरीलाई बितरण गरेको जानकारी गुण्डी परिवर्तनशील महिला समूहका सचिव रिना चेपाङको भनाई छ ।
यस्तै सार्वजनिक तथा धार्मिक स्थलहरु १७ स्थानमा हातधुने स्थानको वितरण तथा व्यवस्थापन पनि गरेको वडा अध्यक्ष सूर्यबहादुर चेपाङले जानकारी दिए । उनले एक्का नेपालका कार्यक्रमहरुबाट यस क्षेत्रमा पानी स्वास्थ्य सरसफाईको क्षेत्रमा भौतिक तथा व्यवहारिक रुपमा परिवर्तनहरु देखिँदै गएको बताए ।
कोरोनाको महामारीकै असरबाट बच्नका लागि महिला समुहहरुले लगातार विभिन्न समयमा आफ्नो समुदायहरुमा कार्यक्रम गरी घरधुरीहरुमा माक्स,सेनिटाइजर समेत वितरण गरेको जानकारी मिलीजुली महिला समूहको अध्यक्ष नैती माया प्रजाको भनाई छ ।
शैक्षिक सामाजिक आर्थिक पानी स्वास्थ्य सरसफाइ तथा भौतिक पुर्बधार क्षेत्र निकै नै पछाडि रहेको चेपाङ बस्तिमा विगत साढे दुई वर्षदेखि विद्यालय तथा समुदायको शैक्षिक सामाजिक आर्थिक पानी स्वास्थ्य तथा सरसफाई सुधारका निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संस्थाका कार्यक्रम अधिकृत विपिन कुमार श्रेष्ठले जानकारी दिए ।