काठमाडौं । दसैंको मुखमा पनि यात्रु नपाएर खाली भए पनि गाडी चलाउनुपर्ने बाध्यतामा रहेको यातायात व्यवसायीले दुइवटा सिटमा नै यात्रु राख्न पाउने भएको छन् ।
यसअघि लामो दूरीमा चल्ने केही यातायात सवारीले आधा दर्जनभन्दा कम यात्रु बोकेर गाडी सञ्चालन गर्न बाध्य भएपछि सरकारले सोमबार शतप्रतिशत नै यात्रु राख्न दिने निर्णय गरेको हो ।
दसैंअघि खुल्नुपर्ने अग्रिम टिकट बुकिङ नखुल्ने भएपछि सरकारले यस्तो निर्णय गरेको हो । दुवै सिटमा यात्रु राख्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूर्ण पालन गर्नुपर्ने छ ।
विगतका वर्षमा खचाखच यात्रु भरेर काठमाडौं बाहिरिने बसहरू यो पटक कोरोना भाइरसका कारण खाली गाडी गुडाउनुपर्दा व्यवसायी चिन्तित बनेका हुन् ।
अघिपछि यात्रुको चापका कारण गत वर्षहरूमा गाडी थप, टिकट लिनका लागि भीडभाड हुने गरे पनि यो वर्ष भने उत्साह छैन । कोरोना संक्रमणको त्रासले बसपार्क क्षेत्र सुनसान जस्तै छन् ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण दर बढेपछि सरकारले लकडाउन गर्ने पक्षमा उभिएको छ जसको कारण व्यवसायी पुनः त्रसित बनेका छन् ।
आइतबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च रहेको र सर्वसाधारणले सवधानी नअपनाए पुनः लकडाउन हुन सक्ने बताएका थिए ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यात्रु नपाएको समयमा सरकार लकडाउन गर्ने पक्षमा उभिएको कारण थप चिन्ता थपिएको बताए ।
‘अहिले एउटा गाडीले जम्मा ४ देखि ६ जानासम्म यात्रु पाउने गरेको छ’ उनले भने अब पनि लकडाउन भयो भने यातायात क्षेत्र उठ्नै नसक्ने गरी थलिन्छ ।’ अध्यक्ष कर्माचार्य भन्छन्, ‘अहिले सार्वजनिक यातायात घाटामा चलिरहेका छन् । इन्जिन बचाउनका लागि घाटामा चलिइरहेका छौं,’ उनले भने ।
खासगरी बिहान गाडी छुट्ने समयमा पनि सर्वसाधारणको चहलपहल भीडभाड कम नै छ ।
तर, लामोदूरीको यात्रा गर्दा हवाई र बस भाडा उति नै पर्न आउने भएपछि यात्रुहरू हवाई यात्रा गर्न केन्द्रित भएका छन् । जसको कारण लामोदूरीका बसले यात्रु नपाएको व्यवसायीको भनाइ छ ।
यातायात व्यवसायीले सरकारलाई शतप्रतिशत यात्रु राख्न पाउनुपर्ने माग राख्दै आएका थिए । यातायात व्यवसायी र यातायात व्यवस्था विभागले पनि शतप्रतिशत राख्ने व्यवस्था गर्न आग्रह गर्दै आएका थिए ।
भाडा भने पुरानै दरमा लिन व्यवसायीलाई सरकराले आग्रह गरेको छ ।,