काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम)ले आगामी चार महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने भएको छ ।
टेलिकमले विगत केही वर्षदेखि यो सेवा सुरु गर्ने बताए पनि विभिन्न समस्याका कारण काम अघि बढाउन सकेको थिएन् । तर, अब आगामी पुसभित्र नै मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्ने तयारी थालेको हो ।
नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई युटिलिटी पेमेन्ट सर्भिससहितको भुक्तानी सेवा (मोबाइल मनी) सञ्चालन गर्न साउन ४ गते आशयपत्र दिएको थियो ।
मोबाइल मनी सेवाका लागि राष्ट्रिय वाणिज्य बैंक र टेलिकमले संयुक्त रूपमा छुट्टै कम्पनी स्थापना गरिसकेको छ । टेलिकमले मोबाइल मनी सेवा अर्थात डिजिटल पेमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा गत साउन तेस्रो साता टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुक्त भइसकेका छन् ।
डिजिटल पेमेन्ट सेवाका लागि टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा अनुमति दिएको थियो । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आगामी तीन महिनाभित्रै डिजिटल पेमेन्ट सेवा सुरु हुने बताए ।
गत केही महिना अगाडि भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले टेलिकमलाई अनुमति दिइसकेको छ । प्रवक्ता जोशीका अनुसार राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।
हाल टेलिकमले मोबाइल मनी सेवाका लागि हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव खोलिसकेको छ । प्राविधिक मूल्यांकन सकिएपछि १० दिनभित्र ठेक्काको नतिजा सार्वजनिक गर्ने टेलिकमको तयारी छ । प्राविधिक मूल्यांकनपछि ठेक्का नतिजा आउँछ र सम्झौता भएको तीन महिनाभित्र काम गर्ने गरी सम्झौता गर्ने टेलिकमको भनाइ छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमकै नेतृत्वमा नै यो सेवा सञ्चालन गर्दा दूरदराजमा रहेका मानिसमा पनि डिजिटल कारोबारको पहुँच पुग्ने बताए । ‘बैंकिङ सेवा नपुगेको ठाउँमा पनि टेलिकमको सेवा पुगेको छ ।
धेरै मानिसले टेलिकमअन्तर्गतको नै मोबाइल नम्बर प्रयोग गर्छन्,’ उनले भने, ‘यस अवस्थामा उनीहरूलाई बैंकिङ सेवामा ल्याउन सहज हुने अपेक्षा पनि छ ।’ वित्तीय समावेशीकरण र डिजिटल कारोबारको पहुँच बढाउने उद्देश्यसहित मोबाइल मनी सेवा सञ्चालन गर्न लागेको उनको भनाइ छ ।
अहिले मोबाइल मनी सुरु गर्न आवश्यक सफ्टवेयर र हार्डवेयर खरिदका लागि टेलिकमले गरेको टेन्डरमा ६ वटा कम्पनी सहभागी भएका थिए । टेन्डरमा चिनियाँ कम्पनी सेन्जेन किङ्डम, भारतको सिक्सडी, कमभिभा, वाननाइन्टी सेभेन, अमेरिकी कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी सहभागी छन् ।
टेलिकमका अनुसार डिजिटल पेमेन्ट सेवामा मोबाइल ब्यालेन्सबाट डेटा प्याकेज खरिद गर्न मिल्छ भने पसलको समान, विद्युत महसुल, अहिले नेपालमा प्रभु पे, ई–सेवा, खल्ती, लगाएतका डिजिटल पेमेन्ट कम्पनीहरूले सेवा दिइरहेका छन् ।
टेलिकमका अनुसार हाल भइरहेका कम्पनीको सेवाभन्दा केही फरक हुनेछ । टेलिकमले सञ्चालन गर्न लागेको यो सेवाका लागि नेपाल राष्ट्र बैंक र दूरसञ्चार प्राधिकरणले नियामन गर्ने छन् ।