काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताए ।
कृषि मन्त्रालयअन्तर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतबार संयुक्त रुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जीविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताए ।
‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवनधान्न सक्ने हुनुपर्छ,’ मन्त्री भुसालले भने, ‘कृषिले उसको जीवन धानेर भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ ।
यसले कृषि पेशा सुनिश्चित हुँदैन ।’ खाद्य दिवस मनाइरहँदा विश्वका अर्बो मानिसहरू किन खाद्य संकटको वरिपरि छन् भन्ने कुरा बिर्सन नहुने मन्त्री भुसालले बताए । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ ।
‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ,’ उनले भने । उनले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ बिगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपना नदेखिएको बताए ।
कृषिमा ३० वर्षसम्म विदेशीहरुको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागु भयो जो कहीँ राम्रो पनि गरेको छ कहीँ त्यति राम्रो गरेको छैन, उनले भने, ‘कृषिलाई आफ्नो इतिहास, परम्परा र संस्कृति अनुसार कृषिलाई दिगो बनाउनुपर्छ ।’
कृषकले बाटोमा दूध किन फ्याल्छन्, किन टमाटर फ्याल्छन् यो गहिरो अध्ययनको विषय रहेको बताउँदै उनले अंक वृद्धि तथा नाफा कमाउन सोचले मान्छेको अवमूल्यन हुन थालेको बताए । मान्छेले नाफा कमाउन मात्र सोच्छन्, वृद्धिका लागि मात्र सोच्छन् जसले गर्दा मान्छेको अवमूल्यन भएको उनले बताए ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माले कृषिलाई बचाई राख्न चुनौती रहेको बताए । आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सृर्जना गर्नुपर्ने बताउँदै उनले रैथाने बालीलाई प्रमोट गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजान पर्ने बताए ।
सप्ताहव्यापी रूपमा मनाइने ४० औं विश्व खाद्य दिवस कार्यक्रम आजबाट सुरू भएको छ । यस वर्षको नारा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ ।