काठमाडौं । जयनगर–कुर्था खण्डमा रेल चलाउन आवश्यक कर्मचारी करारमा भर्ना गर्ने प्रक्रिया स्थगित भएको छ । यसअघि करारमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिए पनि लोकसेवा आयोगको हस्तक्षेपले करारमा कर्मचारी भर्ना लिने प्रक्रिया स्थगित भएको हो ।
आयोगले रेल चलाउने कर्मचारी स्थायी रूपमा नै नियुक्ति किन नगर्ने भन्दै चासो लिएपछि तत्कालका लागि करार नियुक्ति प्रक्रिया अन्योलमा परेको हो ।
आयोगले पनि ठूलो संख्यामा करारका कर्मचारी भर्ना गर्दा स्थायी रूपमा नै किन नियुक्ति नगर्ने भन्ने ? भनेर चासो राखेपछि कर्मचारीको स्थायी नियुक्तितर्फ नै छलफल अघि बढाइएको रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए ।
ठूलो संख्यामा करारमा कर्मचारी भर्ना लिँदा भोलि बिदा गर्नुपर्ने अवस्था आएमा विरोध हुन सक्ने र ती कर्मचारीले पनि स्वतः स्थायी नियुक्तिको माग गर्दा अप्ठ्यारो पर्ने भएर पनि आयोगले प्रश्न गरेकाले स्थायी रूपमा नै कर्मचारी भर्ना गर्न प्रक्रियामा अघि बढेको भट्टराईले बताए ।
‘लोकसेवाले विनियमावलीमा रहेर कर्मचारी भर्नाका लागि सहमति दियो । तर, किन स्थायी कर्मचारी नै किन नराख्ने भनेर लोकसेवाले चासो राख्यो’ उनले भने, ‘यति ठूलो संख्यामा पनि किन करारमा राख्ने । भोलि तिनीहरूलाई बिदा गर्नुपर्यो भने विरोध हुनसक्छ । वा, उनीहरूले स्वतः स्थायी नियुक्ति गर्न दबाब दिने स्थिति आउन सक्छ । त्यो हुनभन्दा स्थायी नियुक्ति नै किन नगर्ने त भन्नेमा आयोगले चासो राखेको हो ।’
उनले तत्काल करारमा कर्मचार भर्ना स्थगित भएको बताए । तर, यसअघि करारका लागि प्राप्त आवेदनहरू ‘क्यान्सिल’ नगरकिन स्थायी नियुक्तिका लागि प्रक्रियामा लगिने महाप्रवन्धक भट्टराईले बताए ।
स्थायी कर्मचारी नियुक्तिका लागि पुनः विज्ञापन गरिने भट्टराईले बताए । ‘यसअघि करारका लागि जतिले आवेदन दिनुभयो ती आवेदनलाई ‘क्यान्सिल’ नगरिकन स्थायी प्रक्रियामा लैजाने हो । स्थायी रूपमा कर्मचारी नियुक्तिका यसअघि आवेदन दिएका बाहेक अरू कोही इच्छुक हुन सक्छन्, त्यसका लागि पुनःआवेदन दिन आग्रह गर्दै विज्ञापन गर्न सक्छौं ।’
यसअघि १२९ जना करार कर्मचारी नियुक्तिका लागि विज्ञापन गरिएकोमा ३२ हजार आवेदन परेका थिए ।
तत्काल निजामतीका कर्मचारी ‘काज’ मा ल्याइने
करारमा कर्मचारी भर्ना स्थगित हुँदा पुनः स्थायी कर्मचारी नियुक्ति गर्दा रेल सञ्चालन ढिला हुन्छ । नेपाल आएर थन्किइसकेको रेल तत्काल चलाउन स्थायी नियुक्ति नहुन्जेल निजामती कर्मचारीलाई काजमा ल्याएर व्यवस्थापन गर्ने रेल्वे कम्पनीको योजना छ । न्यूनतम कर्मचारी लिएर भए पनि रेल सञ्चालनमा ढिलाइ नगर्ने कम्पनीले जनाएको छ ।
‘शैक्षिक योग्यताका आधारमा लिखित परीक्षा लिएर कर्मचारी नियुक्ति नै गर्ने हो । नभए लोकसेवालाई नै जिम्मा दिने र, त्यताबाट पनि केही ढिला नै हुने रहेछ भने पनि तत्काल रेल चलाउनका लागि सरकारका निजामती कर्मचारी काजमा ल्याएर व्यवस्थापन गर्ने कि भन्ने सोचमा अघि बढेका छौं’ भट्टराईले भने ।
स्थायी रूपमा कर्मचारी पदपूर्ति नहुन्जेलसम्मका लागि निजामती सेवाबाट कर्मचारी काजमा खटाउन पत्राचार गरी कर्मचारी माग गरिसकेको उनी बताउँछन् ।
१ सय ७२ जना कर्मचारी तत्काल निजामती सेवाबाट काजमा उपलब्ध गराइदिन आग्रह गरेको भट्टराईले बताए । स्थायी रूपमै कर्मचारीको पदपूर्ति भएपछि निजामती कर्मचारीलाई फिर्ता पठाइनेछ ।
रेल चलाउ ‘कोर’ प्राविधिक बाहेक प्रशासनिकतर्फ काजमा खट्ने कर्मचारी रहनेछन् । तिनीहरूलाई दुई÷चार दिन आधारभूत तालिम दिइनेछ ।
भारतबाट ल्याइने कर्मचारी भर्ना अन्योलमा
स्थायी रूपमा कर्मचारी भर्ना गरिने भएपछि भारतबाट करारमा ल्याइने कर्मचारीमा भने अन्योलता देखिएको छ । रेल चलाउने ड्राइभर, पावर इन्जिनियर, म्यान्टिनेन्स म्यानेजर, स्टेशन मास्टर्स लगायतका कोर प्राविधिक कर्मचारी भारतबाट नै आउनुपर्छ ।
यसअघि सरकारले २६ जना कर्मचारी भारतबाट करारमा ‘हायर’ गर्न स्वीकृति समेत दिइसकेको छ । तर, भारतबाट ल्याइने कर्मचारीको स्थायी नियुक्ति गर्न मिल्दैन । करारमै ल्याउने कि के गर्ने भन्ने विषयमा अन्योल देखिएको छ ।
महाप्रवन्धक भट्टराईले भने भारतबाट ल्याइने कर्मचारीमा कुनै समस्या नहुने बताउँछन् । ‘भारतबाट आउने कर्मचारी त आइहाल्छन् । समस्या हुँदैन’ उनले भने, ‘नेपालमै नियुक्ति गर्ने कर्मचारीलाई स्थायी नै गरौं भन्ने हो ।’
यही असोज १ मा भारतको हाजिपुरबाट नेपालको आफ्नै स्वामित्वको पाँच डिब्बासहितको डेमो रेल नेपाल भित्रिएको थियो । आवश्यक तयारी र कर्मचारी भर्नामा ढिलाइले रेल सञ्चालन हुन सकेको छैन । रेल अहिले जयनगर स्टेसनमा थन्किएको छ ।
भारतको सरकारी रेल्वे कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल खरिद गरिएको हो । रेलले एकैपटमा १ हजार ३ सय जनाले मात्र यात्रा गर्न सक्ने क्षमता छ ।