काठमाडौं । अहिले धेरै नेपाली युवा स्वदेशमा काम नपाएर बिदेसिनुपर्ने बाध्यता छ । अरूले काम लगाइदिनुपर्ने वा स्वदेशमा केही पनि काम नपाएर भौंतारिने धेरै हुन्छन् ।
यता, कृषि प्रधान देशका नागरिक कृषि कर्म गर्न लजाउनुपर्ने बाध्यता छ । अनि त्यही काम विदेशमा गर्न कत्ति पनि लाज मान्नु पर्दैन । मरिमेटेर पसिनासँग श्रम साटिरहेको हुन्छन् ।
कृषिकै कुरा गर्ने हो भने पढे लेखेहरूमा कृषि पनि के गर्नु र ? भन्ने ठान्छन् उनीहरू । पढेर जागिरै खाने वा विदेशै गएर कमाउने भावना उनीहरूमा हुन्छ । तर, विदेशमा पनि कहाँ सजिलै पैसा टिप्न पाइन्छ र ?
स्वदेशमा अवसर नदेख्ने र बेरोजगार नेपाली युवालाई प्रतिनिधित्व गर्दै स्वदेशमै कृषि कर्म गर्दै स्वरोजगार बन्न उत्प्रेरणामा लागेकी छन्– नेकपा माओवादी पूर्वसांसद रेणुका चौलागाईं ।
उनको पृष्ठभूमि अलि भिन्न छ । जीवनको दुई दशक बढी समय उनले राजनीति गरेर बिताइन् । १० वर्षे सशस्त्र द्वन्द्व झेल्दै विभिन्न आरोह अवरोह गर्दै उनी अघि बढिन् । धेरैले उनलाई ‘पूर्व माननीय’ भनेरै चिन्लान । तर, अहिले धेरैले उनलाई अगुवा कृषकका रूपमा चिन्ने गरेका छन् ।
पूर्वसांसद बनिसकेकी उनलाई कृषिमार्फत केही न केही नयाँ गर्नुपर्छ भन्ने योजना पहिलेबाट नै थियो ।
कृषि प्रधान देश त्यसमाथि कृषिमै बढ्दो परनिर्भरता र बेरोजगारी देखेर उनले आफूले पनि कृषि कर्म गर्दै अरूलाई पनि गर्नुपर्छ भन्ने जगाउन गत २०७५ भदौदेखि व्यावसायिक बाख्रापालन फार्म खोलिन् ।
काभ्रेको चौंरीदेउराली गाउँपालिका ४ मा उनीसहित तीन जनाले सामूहिक रूपमा ‘पुमोरी कृषि फार्म’ खोले । चौलागाईंसहित लीलानाथ गौतम र शिव तिवारीको संयुक्त सहकार्य र लगानीमा बाख्रापालन फार्म खोलियो । बाख्रापालनतर्फ रेनु आफैं पनि गर्नुपर्छ भन्ने इच्छाशक्ति जागेर सुरु गरेको बताउँछिन् । उनको फार्ममा अहिले विभिन्न जातका ८० वटा बाख्रा र खसीबोका छन् ।
खासगरी बयर, लोकल खरी, साना र जामुन पारी जातका बाख्राहरू उनको फार्ममा छन् । तीमध्ये उत्पादन र पालनका हिसाबले सबैभन्दा राम्रो बयर जातको बाख्रा रहेको उनी बताउँछिन् ।
गाउँलेले पनि फार्म खोल्न थाले
उनले बाख्रापालन फार्म सुरु गरेपछि गाउँले तथा टोलका बासिन्दाले पनि फार्म खोल्न थालेको छन् । ‘मैले यहाँ आएर बाख्रापालन सुरु गरेपछि यही ठाउँमा १५/२० जनाले पनि बाख्राको फर्म बनाइ सक्नुभयो’ उनले थपिन्, ‘माननीय ज्यूले त गर्नुभयो भने हामी किन नगर्ने भनेर अरू धेरै जना लाग्नुभएको छ ।’ अहिले एउटा टोलमा कम्तीमा ४/५ वटा फार्म बन्न लागिसकेको उनी बताउँछिन् ।
गाउँका बासिन्दा पनि कृषि गर्नुपर्छ भनेर कृषि कार्यक्रम सहभागी र जागरुकता बढेको उनी सुनाउँछिन् । राजनीति भाषण सुन्नभन्दा कृषिका कार्यक्रम तथा तालिममा सहभागिता बढेको उनको तर्क छ ।
‘पोेहोर नै हामीले बाख्रापालनसम्बन्धी कार्यक्रम राखेका थियौं । त्यहाँ धेरैजना किसान दाजुभाइ आउनुभयो । झन्डै ५/७ सय किसान दाजुभाइ आउनुभएको थियो ।’ उनले भनिन्, ‘अहिले नेताले भाषण गर्ने कार्यक्रम होस् त कोही मान्छे आउनेवाला छैन ।’
‘युट्युब हेरेर बाख्रापालन गरौं भन्ने लाग्यो’
कुनै एउटा व्यवसाय गर्नुपर्छ, राजनीति पेसा होइन् भन्ने उनलाई पहिल्यैदेखि थियो । उनी भन्छिन्, ‘आफूले पनि काम गर्ने र अरूले पनि सिकून् भन्ने लाग्यो । के गर्ने भन्ने पनि भइरहेको थियो । मैले बाख्रापालनसम्बन्धी कुरा युट्युबतिर पनि हेर्ने गर्थे । त्यसपछि बाख्रापालन नै गरौं न त भन्ने मलाई लाग्यो । दुई/तीनवटा फार्म हेर्न गयौं ।’
त्यसपछि उनी विभिन्न ठाउँमा बाख्रापालन कसरी भइरहेको छ भने फार्म हेर्न गइन् । उनी अन्य धेरै ठाउँमा पनि पुगेर बाख्रापालनबारे बुझिन् । नुवाकोट र मकवानपुरमा गएर फार्म हेरेपछि थप बाख्रापालन गर्ने नै प्रेरणा मिल्यो ।
२० लाख प्रदेश सरकारको अनुदान
बाख्रापालन त गर्ने न तालिम थियो न आवश्यक लगानी नै । उनी कृषिका केही कार्यक्रम आएका छन् कि भनेर बुझन् जिल्ला पशु सेवा कार्यालयमा गइन् । त्यहाँका हाकिमले पनि सहयोग गर्ने बताएको उनी सम्झन्छिन् ।
‘गर्न त गर्ने कसरी गर्ने भनेर म जिल्ला पशु सेवा कार्यालयमा गयौं, केही सहयोग हुनसक्छ कि भनेर हाकिम साबलाई भेट्यौं’ उनी भन्छिन्, ‘तपाईं जतिको ‘लेभल’को मान्छे कृषि पेसा गर्छु भनेर आउनुभयो, अरूको कोही आएका थिएनन् । तपाईंलाई सहयोग गर्छु भनेर आश्वस्त पार्नुभयो ।’
पछि, बागमती प्रदेश सरकारले कृषिमा केही अनुदानका कार्यक्रम ल्यायो । एक जिल्लामा दुईवटा कार्यक्रमअन्र्तगत काभ्रे पनि पर्यो । बाख्राको खोर र बाख्रापालन गर्न २० लाखको अनुदानको कार्यक्रममा उनीहरूले फर्म भरे ।
सो कार्यक्रममा अनुदान लिन किसान समूह वा सहकारी वा कम्पनी दर्ता भएको हुनुपथ्र्यो । रेणुकाले पहिल्यै फर्म दर्ता गरेकी थिइन् र तीनै जनाले बाख्रालन गर्न अनुदान रकम लिए ।
उनी आफैं धेरै समय तालिम लिन गइनन् । तीन/चार दिनको तालिम मात्रै लिइन् । शिव तिवारीले धेरै पटक तालिम लिएका र बढी खट्ने मध्येका थिए लीलानाथ गौतम । अहिले उनी तीनै जना पालैपालो फार्म रेखदेख र संरक्षणमा जुटेका छन् ।
भव्य संरचना, ४० लाख लगानी
उनीहरूले अहिले बाख्रापालका लागि ठूलै संरचना बनाएका छन् । फार्म बनाउन आवश्यक जग्गा १५ वर्षका लागि लिज लिएर भवन बनाइएको छ । तुलनात्मक रूपमा भवन संरचना अलि नै बढी नै रहेको रेणुका बताउँछिन् ।
हालसम्म फार्ममा भवन संरचनासहित ४० लाख रुपैयाँ अहिलेसम्म लगानी भइसकेको छ । फार्ममा २० लाख अनुदान रकम र बाँकी सामूहिक ऋण परेको छ ।
अरू बाख्रापालन गर्न चाहनेले यति ठूलो खर्च गर्नु नपर्ने रेणुकाको सुझाव छ । स्थायी रूपमा २०/२५ वर्षसम्मका लागि संरचना बनाइएको छ । फार्ममा बाख्राको हेरचाह र रेखदेख गर्न दुईजना कामदार छन् ।
बाख्रा थप्ने, कुखुरा फार्म खोल्ने ‘प्लान’
उनको फार्ममा बयर जातको बाख्रा हावापानी र उत्पादनका हिसावले राम्रो भइरहेको छ । त्यसअनुसार २० वटा बयर जातको माउ बाख्रा थप्ने योजना रहेको रेणुका बताउँछिन् । अर्को वर्षदेखि बाख्रापालनबाट पनि आम्दानी दिन सुरु हुने उनको भनाइ छ ।
बयर जातका खसीबोकालाई भुस्सा काटेर खुवाइन्छ । दानाभन्दा घाँस पुर्याउनुपर्छ । यसरी राम्रो घाँस तथा दाना पानी भयो भने बयर जातको खसीबोका चार महिनामा २५ केजीसम्म हुने गरेको रेणुका बताउँछिन् ।
त्यस्तै, बाख्रापालनसँगै कुखुराको फार्म पनि हाल्ने अर्को ‘प्लान’ छ उनीहरूको । त्यसका लागि कुखुराको फार्म बनाउन जुटेको उनी बताउँछिन् ।
सरकारका अनुदानका कार्यक्रम वास्तविक किसानको पहुँचमा पुग्न नसकेको रेणुका स्वीकार्छिन् ‘सरकारका अनुदानका कार्यक्रम आएका छन्, कागजमा सीमित छन् र, जो पहुँचमा छन् तिनीहरूले खाइदिन्छन्’ उनी थप्छिन्, ‘माटोसँग रम्ने ग्रामीण किसानको अनुदानमा पहुँच नै छैन । यसमा सरकारले पनि ध्यान पुर्याउनुपर्छ ।’
द्वन्द्व र जेल जीवनको त्यो क्षण....
रेणुका चौलागाईंको अमूल्य समय देशको परिवर्तन, आन्दोलन र राजनीतिमै बित्यो । वि.सं. २०५२ सालदेखि युवा अवस्थामा राजनीतिमा होमिएकी उनी जनयुद्धमा भूमिगत जीवन बिताइन् । चर्किंदो जनआन्दोलनमा सशक्त रूपमा होमिइन् । उनी दुई वर्ष जेल जीवनसमेत बिताइन् ।
उनका श्रीमान् नवीन गौतमलाई २०५६ सालमा जेठ ७ गते राज्य पक्षबाट अपहरण गरी बेपत्ता बनाइयो । अहिले पनि बेपत्ता नै छन् । उनका ४÷५ जना परिवार सदस्य नै बेपत्ता पारिए, कोही मारिए ।
उनले १० कक्षा पढ्दा नपढ्दै देशमा जनआन्दोलन चर्किंदै थियो । एसएलसी दिएर उनी पनि द्वन्द्व र आन्दोलनमा लागिन् । राजनीति र पार्टीको कार्यकता बनेर हिँड्नुपर्दा चाहेजति पढ्न नपाएको उनी सुनाउँछिन् ।
अहिले त्यतिबेलाको कुरा सपना जस्तै लाग्छ उनलाई । ‘म १५ वर्षदेखि नै आन्दोलनमा हिँडे । एसएलसी दिएपछि द्वन्द्वमा हिँडियो । पढ्न सकिएन् । हिजो परिवर्तन गर्नुपर्छ भनेर आन्दोलन गर्न हिँडियो, परिवर्तन पनि भयो । व्यवस्था बदलियो । संविधान पनि बनाइयो ।’ उनी सम्झन्छिन्, ‘त्यतिबेलाको कुरा सम्झिँदा अहिले सपना जस्तो लाग्छ ।’
२०६२/०६३ को आन्दोलनले लोकतन्त्रलाई स्थापना गर्यो । २०६२/०६३ को आन्दोलन पछि २०६४ को निर्वाचनमा उनी नेकपा माओवादीबाट सांसद भइन् । हिजोको राजनीति परिवेश र अहिलेको परिवेश धेरै फरक रहेको उनको बुझाइ छ । ‘हिजो आन्दोलनमा मरिन्छ कि मारिन्छ कि भन्ने टुंगो थिएन् । परिवर्तन गर्नुपर्छ भनेर मात्रै लागियो’ उनी भन्छिन्, ‘आज आएर त्यो परिवेश छैन ।’
कृषि गर्न कुनै गाह्राे नभएको र ठूलो कुरा जहाँ रमाउन सकिन्छ त्यहाँ खुसी हुनुपर्ने उनी बताउँछिन । ‘हिजो म बन्दुक बोकेर आन्दोलनमा हिँड्दा रमाएकी थिए । त्यतिबेला मलाई कुनै अप्ठ्यारो थिएन्, सहजता थियो’ उनी भन्छिन्, ‘कृषि गर्नलाई पनि गाह्राे छैन । यो पेसाबाट पनि आत्मनिर्भर हुन सकिन्छ ।
दृढ संकल्प र इच्छाशक्ति बनाएर मैले जे पनि गर्न सक्छु भन्ने भयो भने ४०/५० हजार कमाउन विदेश जानु नपर्ने उनको सुझाव छ ।