काठमाडौं । अनलाइन कक्षा र नजिकिँदै गरेको महान पर्व दसैंले नेपालमा स्मार्टफोनको माग ह्वातै बढेकाे छ । काेरोना भाइरस संक्रमणका कारण विद्यार्थीहरु विद्यालय गएर पढ्ने अवस्था नभएपछि सरकारी र निजी विद्यालयहरुले अहिले अनलाइन कक्षालाई नै प्राथमिकता दिएपछि मोबाइल फोनका माग अत्याधिक हुन थालेको हो ।
यतिबेला नजिकिँदै गरेको दसैंले पनि मोबाइल बजारमा उत्साह थपेको छ । खासगरी मोबाइल, ल्यापटप, घडीलगायतका सामानहरु अघिपछि पनि सर्वाधिक बिक्री भइरहेका हुन्छन् । विद्यालयहरुले अनिवार्य अनलाइनमार्फत नै कक्षा लिन थालेपछि व्यवसायीको गोदाममा मोबाइल फोन मौज्दात नै रहन छोडेका छन् ।
नेपाल मोबाइल बितरक संघका अध्यक्ष जगत साउदकाअनुसार गत वर्षहरुमा दसैंमा १ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल बिक्री हुन्थ्यो । यो वर्ष मोबाइल व्यापार ३० प्रतिशतमा खुम्चिए पनि आयात भएका मोबाइल स्टकमा नरहेको उनको भना छ । नेपालमा सामसङ, एमआई, ओप्पो, रियलमीजस्ता मोबाइल बढी बिक्री हुने गरेका छन् ।
‘विद्यालयहरुमा अनलाइन कक्षाका कारण मोबाइलको माग अत्याधिक बढेको छ, बाहिरबाट प्रर्याप्त सामान आउन पाएन’ साउदले क्यापिटल नेपालसँग भने ‘नयाँ सामान नआउँदा मौज्दातमा सामान नरहेका कारण कुनै स्किमका कार्यक्रम आवश्यक देखिएको छैन ।’
व्यवसायीहरुले मौज्दात सकाउन विभिन्न स्किमहरु ल्याउने गर्छन् । विगत वर्षहरुमा मौज्दात रहँदा मूल्य घटाउन प्रतिस्पर्धा हुन्थ्यो भने डिलरले रिटेलरलाई पनि ‘टार्गेट’ दिने गर्थे । लामो समयका लकडाउन र निषेधाज्ञाका कारण मोबाइल, ल्यापटपजस्ता सामानको अभाव भएकाले आएको माग पनि पूरा गर्न नसकिएको साउदको भनाइ छ ।
भन्सार विभागका अनुसार भदौंमा मात्रै नेपालमा ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँ बराबरको ९ लाख ९५ हजार ५०० वटा मोबाइल आयात भएको छ । गत वर्ष भदौमा ५ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ११ लाख ४ हजार वटा मोबाइल आयात भएको थियो ।
मोबाइल आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले लकडाउन भरी पनि अनलाइन क्लासले मोबाइलको माग भने नघटेको बताउँछन् । ‘खासगरी सबै विद्यार्थी अनलाइन तिरै केन्द्रित भए भने लकडाउनका कारण घरमै भएका मानिसहरु पनि मोबाइललाई नै साथी बनाए जसका कारण मोबाइलको व्यापार अरु क्षेत्रको भन्दा बढी नै भयो’ अग्रवालले भने ।
अन्य क्षेत्रको व्यापारको तुलनामा मोबाइल/ल्यापटपको माग अधिक रहेको भन्दै अग्रवालले लकडाउनका कारण भारत लगायतका तेस्रो मुलुकबाट अवैध रुपमा आउने मोबाइल बन्द हुँदा माग बढेको बताए । लकडाउनका कारण ‘ग्रे मार्केट’बाट भित्रिने विभिन्न ब्रान्डका ४०–५० प्रतिशत अवैध मोबाइल आयात रोकिएर भन्सारको बाटो हुँदै आउनु पर्दा मोबाइलको माग ह्वात्तै बढेको उनको अनुभव छ ।
अहिले दसैंमा नयाँ मोबाइल किन्नेको ताम्राकार लगायतको न्युरोड क्षेत्रमा चहलपहल सुरु भएको छ । गत वर्षहरुमा स्टक रहेका मोबाइलफोन बिकाउन विभिन्न अफर सार्वजनिक गर्ने गरे पनि यसपाली स्कीम नल्याए पनि फोनको स्टक नरहेको व्यवसायीहरुको भनाइ छ ।