काठमाडौं । नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसनले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई दिने घोषणा गरेको छ । कम्पनीका अनुसार फेसबुकसँगको सहकार्यमा ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई दिने योजना अघि सारेको छ ।
फेसबुकले एक्स्प्रेस वाईफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ । फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
वल्र्डलिङ्कले बिहीबार भर्चुवल पत्रकार सम्मेलन आयोजना गर्दै फेसबुकसँग सहकार्य गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । अब तत्काल एसियाका दुई देश भारत र नेपालमा वाईफाई एक्सप्रेसमा यो सेवा उपलब्ध हुनेछ । वल्र्डलिङ्कका अनुसार यो सेवाको शुभारम्भपछि पब्लिक बाईफाई उच्च गतिको हुनेछ ।
हाल वल्र्डलिङ्कले देशभर १० हजार साइटमा पब्लिक वाईफाई उपलब्ध गराइसकेको छ । प्रयोगकर्ताले कम्पनीको पब्लिक वाईफाईअन्तर्गत देशका ३० हजार ठाउँमा फ्री वाईफाई विस्तार कम्पनीको योजना छ ।
वल्र्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले सुरुवाती समयदेखि नै नेपाली जनतामा कनेक्टिभिटी उपलब्ध गराउने सन्दर्भमा अग्रसरता देखाएको बताए । लामो समयदेखि सरकारले नेपालका इन्टरनेट सेवा प्रदायकलाई फ्रिक्वेन्सी नदिएको गुनासो समेत गरे ।
अग्रवालका अनुसार एफटीटीएच सेवा खरिद गर्न नसक्ने सर्वसाधारण तथा गरिब घरपरिवारलाई लक्षित गर्दै वाईफाई सेवा सुरु गरिएको हो ।
‘हामीसँग इन्टरनेट थियो तर आवश्यक राम्रो सफ्टवेयर सिस्टम थिएन, ‘उनले भने, ‘त्यसैका लागि फेसबुकसँग सहकार्य सुरु भएको हो’ ।
फ्री वाईफाई राखिएका स्थानहरुमा १५ मिनेटदेखि दुई घण्टाको सीमा हुनेछ । वल्र्डलिङ्कले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिने बताएको छ ।