काठमाडौं । कोरोना भाइरस महामारीले ६ महिनादेखि थलिँदै आएका निर्माणाधीन जलविद्युत आयोजना बन्दाबन्दी र निषेधाज्ञा खुकुलो भएपछि पनि अघि बढ्न सकेका छैनन् । गत चैत ११ गतेपछिको जारी बन्दाबन्दीका कारण प्रभावित हुन पुगेका जलविद्युत् परियोजना अहिले पनि उस्तै अवस्थामा छन् ।
बन्दाबन्दी भएपछि संक्रमण फैलिने डरले परियोजनाको ‘साइट’ छाडेका स्वदेशी तथा विदेशी कामदार अहिलेसम्म नफर्किंदा आयोजनाले लय समात्न नसकेको हो । असोज १ पछि निषेधाज्ञा खुकुलो भई उद्योग, कलकारखाना, यातायात र बजारक्षेत्र खुले पनि जलविद्युत् आयोजनाको काम अझै ठप्प जस्तै बनेको जलविद्युत् प्रवद्र्धकहरूले बताएका छन् ।
निषेधाज्ञा खुले पनि स्वदेशी कामदारहरू अहिले पनि ‘साइट’ जान डराइरहेका छन् । कोभिडको सन्त्रासले निर्माणाधीन जलविद्युत आयोजनामा काम गर्ने जनशक्ति, निर्माण सामग्री आपूर्ति, ढुवानमा अझै सहज वातावरण बनिनसकेकोे प्रवद्र्धकहरू बताउँछन् ।
अहिले विद्युत् प्राधिकरणअन्तर्गतका कम्पनी र निजी क्षेत्रबाट गरी ३ हजार मेगावाट हाराहारीका जलविद्युत् आयोजना निर्माणाधीन छन् । त्यसमा पनि १५०० मेगावाटका आयोजना निर्माणको अन्तिम चरणमा छन् । केही आयोजना गत वर्ष नै सम्पन्न हुने अवधिका थिए । केही यो वर्ष सम्पन्न हुने चरणका छन् ।
चिनियाँ ठेकेदार कम्पनी, कामदार र निर्माण सामग्री आबद्ध हुने जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित बनेका छन् । अहिले दर्जनौं निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धकले काम अघि बढ्न नसकेको प्राधिकरण र इपानमा समेत जानकारी गराइसकेका छन् ।
खासगरी ८६ मेगावाटको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजना, २.४ मेगावाटको अपर साङ्गे, ३० मेगावाटको न्यादीखोला, ४ मेगावाटको खुदी जलविद्युत् आयोजनाको काम ठप्प छ ।
सोलुखोला (दूधकोसी) इन्जिनियरिङ खरिद र निर्माण (ईपीसी) मोडेलमा निर्माण गर्न चिनियाँ कम्पनीले ठेक्का पाएको आयोजना हो । चैत मसान्तसम्म काम सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको ३० मेगावाटको न्यादीखोला जलविद्युत् आयोजना कोभिडले थला परेको छ ।
चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माणको ठेक्का पाएको सो आयोजनाका प्राविधिक कर्मचारी र कामदार बिदा मनाउन चीन गएका थिए । तर, अहिलेसम्म फर्केका छैनन् । यो आयोजना चालू आवमै सकिने लक्ष्य थियो ।
त्यस्तै, ८२ मेगावाटको तल्लो सोलुखोला जलविद्युत् आयोजना पनि कोरोना भाइरसको कारण अघि बढ्न सकेको छैन । जसका कारण तोकिएको समयभन्दा ५ महिना ढिला हुने आयोजनाले जनाएको छ । १०.७० मेगावाट क्षमताको माथिल्लो सानीगढ जलविद्युत् आयोजनामा कार्यरत कामदार चीनबाट नफर्कदा बाँकी काम सुरु हुन सकेको छैन ।
यो आयोजना पनि तोकिएको अवधिभन्दा ६ महिना लम्बिने देखिएको छ । यता, ३८.४६ मेगावाटको माथिल्लो कालंगाढ जलविद्युत् आयोजनाको काम पनि अहिलेसम्म सुरु हुन सकेको छैन । चिनियाँ ठेकेदार कम्पनीले नै यो आयोजना निर्माण गरिरहेको छ ।
यता, २१.३ मेगावाटको ठूलो खोला र लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा पनि अवरोध कायमै छ । त्यस्तै, प्रारम्भिक विवरणअनुसार, दोर्दी करिडोमा ३ वटा, मोदीखोलामा २ वटा, हेवाखोलामा २ वटा, काबेली करिडोरमा २ वटा जलविद्युत् आयोजनामा पनि काम अघि बढ्न नसकेको इपानले बताएको छ ।
गत आर्थिक वर्ष २०७६/०७७ मा निर्माण सम्पन्न भई विद्युत् उत्पादन हुने लक्ष्य लिएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना पनि कोभिडले प्रभावित बनेको छ । आयोजनामा कार्यरत प्राविधिक तथा कामदार चीनबाट नफर्किएपछि आयोजनाको बाँकी मुख्य काम अघि बढेको छैन । यो आयोजना चिनियाँ ठेकेदारले निर्माण गरिरहेको छ ।
त्यस्तै, ईपीसी मोडेलमै चिनिँया ठेकेदार कम्पनीसँग सम्झौता भएको ४८.८ मेगावाट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजना कहिले सुरु हुने टुंगो छैन । त्यस्तै, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आउँदो मंसिरमा सम्पन्न हुने लक्ष्य लिइएको छ । तर, कोभिडका कारण आवश्यक मेसिन तथा उपकरण भारतबाट ल्याउन सकिएको छैन । केही सामान वीरगन्ज आए पनि ढुवानी समस्याले ल्याउन सकिएको छैन ।
यी बाहेक लगानी सम्झौता पूरा भएका जलविद्युत् आयोजना सुरु हुने अवस्था छैन । यता, सुरु हुनै लागेका आयोजनाहरू पनि अघि बढ्न सकेका छैनन् ।
केही आयोजनाका सामान टेस्ट मेसिन उपकरण पनि उद्योग बन्द हुँदा आउन सकेनका छैनन् । मेसिन, उपकरण तथा निर्माण सामग्री ल्याउन चीनसँग जोडिएका उत्तरी नाका बन्द छन् भने हवाई उडान बन्द छ । चीनमा पनि धेरै उद्योग तथा यातायात चल्न सकेको छैन ।
अहिले त त्यो मात्रै टेस्टिङ भइसकेको सामान पनि कारखाना तथा उद्योग बन्द हुँदा समस्या छ । त्यहाँबाट ‘डिसप्याच’ गरेर नेपाल पठाउन नसकिएको भन्दै समस्या पनि छ ।’
कोरोनाले सकिनै लागेको जलविद्युत् आयोजनालाई ६÷७ महिना ठप्प बनाउँदा दीर्घकालीन रूपमा ती आयोजनालाई दुई वर्ष पर धकेल्ने स्थिति आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् । निर्माणाधीन अन्तिम चरणका आयोजनाको समय र लागतसमेत बढाउँदा प्रवद्र्धकलाई अर्बौं रुपैयाँ घाटा भएको उनी बताउँछन् ।
‘काम सुरु भएका निर्माणाधीन जलविद्युत् परियोजनालाई कोरोनाले ६/७ महिना असर गर्याे भन्छौं । तर, त्यसको दीर्घकालीन असर सामान्यता २ वर्षका लागि परेको छ, उनले भने, ‘मानौं, कुनै एक आयोजनामा लगानी गर्न थाल्दा बैंकको ब्याज मात्रै हिसाब गर्ने हो भने पनि प्रवद्र्धकलाई ठूलो घाटा छ ।’
१० प्रतिशतका दरले बैंकको ब्याज मात्रै जोड्ने हो भने सम्पन्न हुने चरणका १५०० मेगावाटका आयोजनामा मासिक ३ अर्ब रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ ।
बैंकको ब्याजसहित कर्मचारीको तलब, व्यवस्थापकीय खर्च र अप्रत्यक्ष खर्च समेतलाई हेर्दा अझै लागत बढ्ने उनी बताउँछन् । काबु बाहिरको परिस्थितिका कारण काम अवरुद्ध भएको भन्दै धेरै जलविद्युत् प्रवद्र्धकहरूले प्राधिकरणमा विद्युत् उत्पादन समय (आरसीओडी) बढाउन निवेदन दिइसकेका छन् ।
अहिले कोरोना महामारीले अधिकांश निर्माणाधीन जलविद्युत् आयोजनाको काम अवरुद्ध हुन पुगेको प्राधिकरणका उपकार्यकारी निर्देशक तथा प्रवक्ता मदन तिम्सिना बताउँछन् ।
कोभिडले धेरै जलविद्युत् आयोजनाको समय र लागत बढाएको छ । निर्माणाधीन जलविद्युत् परियोजनालाई मात्र नभएर सुरु हुने चरणमा रहेको जलविद्युत् आयोजनालाई समेत कोभिडले प्रभाव पारेको ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानको भनाइ छ । कोभिड महामारीसँगै धेरै जलविद्युत् आयोजना लागत बढ्ने र परियोजना महँगो पर्ने उनको बुझाइ छ ।
यता, कोरोना महामारीले निर्माणधीन जलविद्युत् परियोजना प्रभावित हुँदा सरकारी लक्ष्यमा समेत धक्का पुग्ने देखिन्छ । सरकारले चालू आव २०७७÷०७८ मा १५०० मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी र केही परियोजना गरेर यो वर्ष ८०० मेगावाटभन्दा बढी बिजुली नथपिने प्रधान बताउँछन् । यस्तै १११ मेगावाटको रसुवागढी र ५७ मेगावाटको साञ्जेन आयोजना पनि यो वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।